कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीलाई आफ्नै जिल्ला ‘प्यारो’

काठमाडौँ — प्रदेश २ को सरकारले जनकपुर चुरोट कारखानालाई ‘मिनी सिंहदरबार’ बनाएको छ । मन्त्रालय र मन्त्रीको निवास एउटै परिसरमा । कर्मचारीको कार्यालय र आवास एउटै थलोमा । प्रदेश प्रमुखको कार्यालय र निवास पनि त्यहीं भित्र छ ।

मन्त्रीलाई आफ्नै जिल्ला ‘प्यारो’

जचुकालिको आवासीय क्षेत्रलाई चरिच्याट बनाएर एउटै थलोबाट प्रदेश सरकार हाँकिएको छ ।

प्रदेश सरकारको मिनी सिंहदरबारमा सर्वसधारणको उतिबिघ्न चाप छैन । तर, कामविशेष वा भनसुनकै लागि त्यहाँ पुग्ने सर्वसाधारण भने निराश भएर फर्किन्छन् । किनभने, मन्त्रालयमा मन्त्री नै भेटिंदैनन् । मन्त्री बस्ने कार्यकक्ष प्राय: सुनसान हुन्छ ।

गृहजिल्ला दौडिहाल्ने मन्त्रीहरूको प्रवृत्तिले प्रदेश सरकार थप आर्थिक भारमा थिचिएको छ । अति आवश्यक काम नरहे आफ्नै जिल्लामा रमाउने मन्त्रीहरूका कारण दैनिक भ्रमण भत्ताको खर्च अकासिएको छ । ‘मन्त्रीहरूको गृहजिल्ला भ्रमण अलि बढी नै देखिन्छ,’ प्रदेश २ सरकारका एक सचिवले भने । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विजय यादवले मन्त्रालयमा काम हुँदा आफू प्राय: जनकपुर नै बस्ने गरेको दाबी गरे । तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्यांकले मुख्यमन्त्री तथा मन्त्रीहरूको जिल्ला भ्रमण बढेको देखाउँछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार फागुनदेखि असारसम्मको ५ महिनाको अवधिमा मुख्यमन्त्री तथा मन्त्रीहरूको जिल्ला भ्रमणमा १० लाख १४ हजार ९ सय रुपैयाँ खर्चिएको छ । जिल्ला भ्रमण सबभन्दा बढी खर्च मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले गरेका छन् । उनले ५ महिनाको अवधिमा जिल्ला भ्रमणबापत १ लाख ७४ हजार ५० रुपैयाँ बुझेका छन् । मुख्यमन्त्री राउतले सबभन्दा बढी आफ्नै गृहजिल्ला पर्साको भ्रमण गरेका छन् ।

असार १ गते बसेको प्रदेशसभाको बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवा–सुविधा विधयेक पारित गरेपछि मुख्यमन्त्री तथा मन्त्री जिल्ला भ्रमणमा निस्कँदा दैनिक भत्ता पाउँछन् । त्यसमा इन्धन जोडिएको हुँदैन । इन्धनका छुट्टै कुपन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाँड्छ । जिल्ला भ्रमणमा निस्कँदा मुख्यमन्त्रीले इन्धनबाहेक दैनिक ३ हजार र मन्त्री तथा राज्यमन्त्रीले इन्धनबाहेक दैनिक २ हजार ५ सय रुपैयाँ भत्ताबापत बुझ्छन् ।


जिल्ला भ्रमण दोस्रो बढी रकम खर्च गर्नेमा सामाजिक विकासमन्त्री नबलकिशोर साह छन् । सप्तरी निवासी मन्त्री साहले फागुनदेखि असारसम्ममा जिल्ला भ्रमणबापत १ लाख ४० हजार १ सय रुपैयाँ बुझेका छन् । मन्त्री साह औपचारिक कार्यक्रममा जनकपुरमा देखिए पनि प्राय: सप्तरी नै पुग्छन् । तेस्रो बढी जिल्ला भ्रमण गर्नेमा सप्तरी नै गृहजिल्ला रहेको भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह पर्छन् । मन्त्री साहले असारसम्म जिल्ला भ्रमण भत्ताबापत १ लाख १७ हजार
रुपैयाँ बुझेका छन् । मन्त्री साह पनि बढी सप्तरीमै भेटिन्छन् ।

सिरहा घर भएका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले ५ महिनामा जिल्ला भ्रमणबापत १ लाख १० हजार ५ सय रुपैयाँ खर्च गरेका छन् । बारा निवासी भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जिल्ला भ्रमणमा १ लाख ८ हजार १ सय रुपैयाँ खर्च गरेका छन् । जिल्ला भ्रमणमा सबभन्दा कम खर्च उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवले गरेका छन् । उनले ५ महिनाको अवधिमा जिल्ला भ्रमणमा ४६ हजार रुपैयाँ मात्र खर्च गरेका छन् ।

यस्तै, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले जिल्ला भ्रमणमा ८६ हजार, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंहले ६७ हजार र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जिल्ला भ्रमणमा ९० हजार १ सय ५० रुपैयाँ खर्च गरेका छन् । राज्यमन्त्रीमा जिल्ला भ्रमणमा धेरै रकम खर्चिनेमा योगेन्द्र पर्छन् ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?