कृष्ण अधिकारी हत्या प्रकरणको फैसला- १३ प्रतिवादी मध्ये १२ लाई सफाई

फरार रहेका एकजनाको हकमा पछि निर्णय हुने
रमेशकुमार पौडेल

चितवन — माअाेवादी सशस्त्र संघर्षका बेलामा चितवन रत्ननगरमा भएकाे गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा आइतबार चितवन जिल्ला अदालतले फैसला सुनाएको छ । १३ प्रतिवादीमध्ये एकजना रूद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर्ने गरी अन्य १२ जनाले सफाइ पाएका छन् । 

२०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला हत्या भएको थियो। हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो। तर कृष्णका दाजु र बाबुले हत्याका बिरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी बिरुद्ध कुनै कारवाही भएको थिएन।

Yamaha

कृष्णका बाबुआमाले अनशन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो। प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने नचल्ने भन्ने विषयमा विवाद उठेको थियो। कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना बिरुद्ध मुद्दा दायर भएको थियो।

छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसादको अनशनका क्रममा निधन भएको छ। आमा गंगामायाले भने केही महिना अघि अनशन तोडेकी थिइन्। अनशनका क्रममा निधन भएका कृष्णका नन्दप्रसादको अझै दाहसंस्कार भएको छैन।

सशस्त्र संघर्षका बेलामा भएको घटनाका विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगले निर्णय गर्नुपर्नेमा अदालतमा मुद्दा लगेको भन्दै माओवादी पक्षले आपत्ति जनाउँदै आएको छ।

प्रकाशित : भाद्र २४, २०७५ १८:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चार अस्पताल चहार्दै बालककाे मृत्यु

रमेशकुमार पौडेल

चितवन — भरतपुर–१५, मंगलपुरका बलराम विक सर्पले डसेर बिरामी भएका तीन वर्षीय नाति सलिनको उपचारका लागि बुधबार राति भरतपुरका चारवटै ठूला अस्पताल पुगे ।

करिब एक घण्टा भौंतारिँदा पनि कुनैले उपचार गरिदिएनन् । अन्तिममा भरतपुर अस्पतालकै शरण परे तर नातिको ज्यान जोगिएन ।

अस्पतालै अस्पताल भएको भरतपुरदेखि पाँच किलोमिटर पर छ बलरामको घर । भरतपुर–१५, मंगलपुरको मनकामना टोलमा उनीहरूका दाजुभाइको घर लहरै छन् । दाइ कृष्णका तीन वर्षीय नाति राति जोडले रोएपछि बलराम ब्युँझिए । सलिनको औंला सुन्निएको थियो । ‘बिस्तारामै करेत सर्प देखेपछि हाम्रो होसहवास उड्यो । अर्को भाइलाई बोलाएर मोटरसाइकलमा अस्पताल हान्नियौं,’ बलरामले भने ।

सर्पदंशको उपचार सरकारी अस्पतालमा हुन्छ भन्ने उनीहरूलाई थाहा थियो । त्यसैले सुरुमै भरतपुर अस्पताल पुगे । त्यहाँ पुग्दा ३ बजेको थियो । ‘केही बेरपछि डाक्टर आएर हेरे र बच्चालाई आईसीयूमा राख्नुपर्ने बताए,’ बलरामले भने, ‘तर आईसीयू खाली नभएकाले अर्को अस्पताल लैजान भने ।’ उनीहरू पुरानो मेडिकल कलेज शिक्षण अस्पतालतर्फ दौडिए । त्यहाँ पुगेपछि के भएको भनेर सोधपुछ भयो ।

डाक्टरले सर्पले डसेको बिरामीको उपचार सरकारी अस्पतालमै हुने भन्दै फर्काए । ‘सरकारीमै उपचार हुने हो, उतै लैजाऊ भने,’ बलरामले सुनाए, ‘सरकारीले नै यता पठाएको भनेपछि त्यसो भए अरू नै अस्पताल लैजान सुझाए ।’ उनीहरू नारायणी सामुदायिक अस्पताल पुगे । त्यहाँ पनि मेडिकल कलेजमा जे भनिएको थियो, त्यही कुरा दोहोरियो । त्यहीं कसैले सुनायो, ‘निको’ बाल अस्पतालमा आईसीयू भेटिन सक्छ । बच्चालाई राख्ने छुट्टै आईसीयू हुन्छ ।

आईसीयू पाइने आशामा उनीहरू निकोतर्फ दौडिए । तर त्यहाँबाट पनि सरकारी अस्पतालमै लैजान भनियो । त्यसपछि उनीहरू नयाँ मेडिकल कलेज शिक्षण अस्पताल पुगे । ‘त्यहाँ जाँदा पनि उपचार भएन, बरु सरकारी अस्पतालमै लैजाऊ भन्दै फर्काए,’ बलरामले भने, ‘अन्तिममा हामी हार मानेर जे–जति हुन्छ भन्दै सरकारीमै फर्कियौं ।’ चार ठाउँ चहारेर भरतपुर अस्पताल फर्कंदा बिहानको ४ बजिसकेको थियो ।

घरबाट हिँड्दा बोल्न सक्ने नाति पूरै शिथिल भइसकेका थिए । ४ बजेर ४३ मिनेट जाँदा बच्चालाई अस्पतालले मृत घोषणा गर्‍यो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविन खड्काले आईसीयू बेड खाली नभएकाले उपचार गर्न नसकेको बताए ।

‘सर्पले डसेका बिरामीलाई आईसीयूमा राख्नुपर्ने हुन्छ । हामीले एउटा आईसीयू बेड सर्पदंशका बिरामीका लागि नै भनेर राखेका हुन्छौं,’ उनले भने, ‘बच्चा यहाँ आउँदा त्यो मात्रै हैन, यहाँका अरू सबै आईसीयू बेड प्याक रहेछन् । त्यसैले बाहिर खोज्न भन्यौं ।’ अरू अस्पतालमा आईसीयू बेड नपाएर फर्कंदा ढिलो भइसकेकाले बचाउन नसकिएको उनले दाबी गरे । अस्पतालले मृत घोषणा गरेको बच्चा बोकेर बलराम त्रिवेणीसमेत पुगे ।

त्रिवेणीमा सर्पदंश उपचार केन्द्र छ । ‘त्रिवेणीमा यस्तो बच्चालाई बचाउँछ भनेको सुनेपछि हामीले तुरुन्त त्यहाँ फोन गर्‍यौं, बच्चाको शरीर तातो छ भने ल्याउनु भनियो,’ बलरामले भने, ‘त्यो झारफुक गर्ने, विष तान्ने तान्त्रिक हो कि जस्तो लागेको थियो तर अस्पताल नै रहेछ । ज्यान गइसकेको बच्चालाई उसले कसरी ब्युँताओस् ?’

प्रकाशित : भाद्र २३, २०७५ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT