कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्षर चिन्दै उपप्रमुख

नेपालगन्ज — टेबुलमा छरिएका अखबारका पानामा उनी घोत्लिएकी छन् । आलोपालो पत्रिकाका पाना पल्टाउँदै खबर बुझ्ने प्रयास गर्छिन् । अक्षर चिन्न हरेक बिहान पत्रपत्रिका पढ्नु उनको दैनिकी भइसक्यो ।

अक्षर चिन्दै उपप्रमुख

‘पहिले घरमै सीमित थिएँ । अक्षर नचिने पनि केही थिएन । चुनाव जितेपछि अक्षर नचिनी सुखै छैन,’ बाँके डुडवा गाउँपालिका उपप्रमुख सहिदा बानोले भनिन्, ‘अक्षर चिन्ने भइसकेकी छु । पत्रपत्रिका सरर पढ्न सक्छु ।’

उपप्रमुख विजयीपछि उनलाई पढाइ खड्कियो । पदमा पुगेको व्यक्तिले ल्याप्चे लगाउनुपर्दा उनी खिन्न थिइन् । उर्दूका केही अक्षर लेख्न जाने पनि त्यत्तिले काम चलेन । नेपाली अक्षर चिन्न उनले घरमै शिक्षिका राखिन् । ६ महिना उनलाई बाह्रखरी सिक्नै लाग्यो । ‘त्यसले धेरै ठूलो सहयोग मिल्यो,’ उनले भनिन्, ‘अहिले नाम लेख्न सक्छु ।’

गाउँपालिकाले दिने विभिन्न सिफारिसमा उनी अहिले हस्ताक्षर गर्न सक्ने भएकी छन् । अझै पनि कतिपय नेपाली शब्दको अर्थ बुझ्न उनलाई समस्या छ । ‘त्यस्तो बेला कर्मचारीले सहयोग गर्नुहुन्छ,’ उनले भनिन्, ‘उपाध्यक्ष भएपछि पढाइको महत्त्व बुझियो ।’ उपप्रमुखसँगै उनी न्यायिक समिति संयोजक पनि हुन् । पढ्न सक्ने भएपछि कानुन बुझ्न सजिलो भएको छ ।

फुर्सद पाउनासाथ उनी पत्रपत्रिका पढ्नमा जुट्छिन् । ‘सम्बन्धविच्छेदका मुद्दामा फैसला गर्ने अधिकार हामीलाई छैन तर मेलमिलापका लागि छलफल गर्ने अधिकार छ,’ न्यायिक समिति संयोजक बानोले भनिन्, ‘सहमति भएन भने अदालत पठाउँछौं ।’

प्रकाशित : भाद्र २५, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?