इराकमा बेचिएका नेपाली चेलीहरुको यसरी गरियो उद्धार

गाउँका चेलीहरुलाई दलालले गरिबी,अशिक्षाको फाइदा उठाएर भारतको बाटो हुँदै विदेशी भूमी पुर्‍याउँछन् । 
विद्या राई

काठमाडौँ — विदेशमा चरम यातना खेप्दै आएका तीनजना नेपाली चेलीहरुको सकुशल उद्धार भएको छ । पैसा कमाउन विदेशी भूमिमा पुगेका उनीहरुले नसोचेको यातना खेप्दै आएका थिए ।

सिन्धुपाल्चोक र सिन्धुलीका उनीहरुलाई वर्क फर नेपालको सक्रियतामा उद्धार गरिएको थियो। शुक्रबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको थियो। दलालले किर्गिस्तान र दुबई पठाउने भनी झुक्काएर उनीहरुलाई इराकको राजधानी बग्दाद पुर्‍याएका थिए।

Yamaha

कसरी पुर्‍याइयो इराक?
सिन्धुपाल्चोक, सताङ्की रञ्जना तामाङ (परिवर्तित नाम) को १७ वर्षको उमेरमा गाउँमा बिवाह भयो। छाेरी जन्मिइन्। उनका पति काठमाडौंमा सुरक्षा गार्डको काम गर्थे। उनीसँग हातमा सीप थिएन। पतिकै कमाइले घरव्यवहार धान्न कठिन भएपछि एकाएक विदेश जाने सपना बुनिन्। पतिसँग सल्लाह पनि भयो।

गाउँकै आफन्त पर्ने एकजना दलालसँग चिनजान पछि ती एजेण्टले किर्गिस्तान पठाइदिने, घरायसी सामान्य काम गरेबापत तलब, सेवासुविधा र हरेक साता आफन्तहरुसँग भेटघाट गर्न पाउने भन्दै ललाइफकाइ गऱ्यो।

तामाङ पतिपत्नी मक्ख भए। कति तलब पाउने, जाँदा के कति खर्च लाग्छ भन्ने कुरा उनलाई थाहा थिएन। त्यो कुरा दलालले पतिसँगमात्रै भनेका थिए। पतिकै सल्लाह पाएकाले त्यति चासो पनि लिइनन्।

सपना ठूलै थियो। काखकी छोरी र परिवारलाई खुसी राख्ने। डेढवर्षकी छोरीलाई पतिको जिम्मा लगाएर हिड्दाको पिडा घरको आर्थिक अवस्था भन्दा पनि गुणौ पिडादायी बनेको थियो त्यो क्षण।
उनी गाउँबाट काठमाडौं आइपुगिन्। जोरपाटीमा गाडी चढेपछि उनको विदेश यात्रा सुरु भयो। कलंकीमा पुगेपछि गाडी फेरियो। त्यसपछि भारतको बाटो हुँदै सात समुन्द्र पारी पुगिन्।

नेपालबाट जानेबेला किर्गिस्तान पुर्‍याउने सपना देखाइएको भएपनि उनी पुगिन् इराकको बक्दाद। त्यतिबेला मात्रै उनलाई थाहा भयो कि एजेण्टले आफ्नो कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको रहेछ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २० वर्षीय साइली तामाङ र सिन्धुलीकी २४ वर्षीय अर्चना थापामगरको पिडा पनि रञ्जनाको जस्तै छ। भुकम्पले गर्दा उठिबास भएपछि जागिर खोज्दै काठमाडौं आइपुगेकी उनलाई पनि छिमेकीले नै विदेश पुर्‍याउने सपना देखायो।

७० हजार खर्च लाग्ने भयो। काठमाडौं गलैँचा बुन्ने काम गर्दै बसेकी उनले सानीआमाको कानमा लगाएको सुन फुकालेर एजेण्ट नुर्बु तामाङलाई थमाइन्। नुर्बुले किर्गिस्तान पठाउने भनेका भएपनि भारत हुँदै इराकको बक्दाद पुगिन्।

घरको आर्थिक अवस्था नाजुक भएकै कारण सिन्धुलीकी २४ वर्षीया रचना पनि एसएलसी पास गरेर ज्यामी काम गर्न काठमाडौं आइपुगिन्। दलाल सुर्य लामाले विदेशको सपना देखाए। आफ्नी पत्नी दक्षिण अफ्रिकामा रहेको मासिक ४०/५० हजार कमाइ हुने लालच देखाए। उनी पनि फुरुक्क परिन्। ज्यामी गर्नुभन्दा विदेशै बेस लाग्यो। घरकी जेठो सन्तान भएकाले आफू र परिवारको भविश्य उज्यालो पार्ने सपना बोकेर विदेश जान तयार भइन्।

उनी नेपालबाट २०७४ फागुनमा भारत हुँदै गएकी थिइन्। दलालले सुरुमा नै सिधै जान नपाउने हुँदा भारतको बाटो हुदै जानुपर्ने भनेका थिए। उनी लगायत थुप्रै चेलीहरु भारत पुगे। त्यहाँ बसेका नेपालीहरुले उनीहरुलाई बेचेको संकेत दिएपछि उनले फर्कन चाहिन्।

दलालले चार / पाँच लाख खर्च लागेको, फर्कने भए त्यो तिरेर मात्रै फर्कन पाउने भने। तिर्नसक्ने अवस्था थिएन। बाध्य भएरै जाने निधो गरिन्। यहाँबाट दुबई लैजाने भनिएको भएपनि इराक पुर्‍याइएको थियो।

यातनाको सिकार
साइली भारत पुगेपछि दलाल सम्पर्कविहीन भयो। इराक पुगेको एक महिनामा घरमा बुवा बिते। फर्कन चाहिन्। मालिकले दिएनन्। दलालले कार्यालयमा काम पाउने, मासिक तलब पाँच सय डलर हुने भनेका थिए।

उता पुगेपछि कथा बेग्लै भयो। ‘कमाउछु, परिवार पाल्छु भनेर विदेश गएको थिएँ तर बन्द कोठामा पुगेछु, न त भनेजस्तो तलब भयो, दु:ख र यातनाको कुरा त भनिसाध्य छैन।’ उनले भनिन्। अफिसको नभएर घरायसी काम गर्नुपर्ने भयो। सुरुका १५ दिनजति काम सहजै थियो। त्यसपछि परिस्थिती फेरिदै गयो। महिलाले निर्वाह गर्नुपर्ने सबै काम गर्नुपथ्र्यो। जुन उनका लागि असह्य भयो।

एक दिनमा दुई घरको काम गर्नुपथ्र्यो। तलब पाँच सय डलर भनिएपनि उनले तीन सय डलरको दरले मात्रै पाइन्। काम गरेको जस नपाएपछि नेपाली साथीहरुलाई आफ्नो दु:ख शेयर गरेकी थिइन्। यसबारे समाचारहरु आएपछि त्यो कुरा मालिकले थाहा पाएछन्। मोबाइल चलाउन नदिने, दिएपनि खोसिहाल्ने, पिट्ने, कुट्ने गर्थे।

रञ्जनाले मुस्लिम समुदायको एक घरमा काम पाइन्। घरकोठा पुछ्ने, भाडा माझ्ने देखि महिलाले निर्वाह गर्नुपर्ने सबै काम गर्नुपथ्र्यो। नेपालमा जसरी फकाइएको थियो उता काम गर्न सजिलो थिएन। मालिककी पत्नीले अनेक आरोप लगाएर कुटपिट गर्ने, यातना दिने गर्थिन्। जुन असह्य भयो। उता जाँदा दुईवर्षभित्रै फर्कने सहमति भएको थियो।

त्यतिन्जेल सहेर काम गर्ने र नेपाल फर्किहाल्ने निर्णय लिइन्। दुई वर्ष भएपछि फर्कन खोजिन्। मालिकले दिएनन्। तीन वर्षका लागि किनेर ल्याएको भन्दै थप तनाव दिए। र, त्यतिबेला मात्रै उनले आफू बेचिएको कुरा थाहा पाइन।

यता गाउँमा झैभगडाको क्रममा पतिले ज्यान गुमाए। त्यसबेला पनि आउन खोजेकी थिइन। मालिकले जान दिएनन्। नेपालबाट पठाउने एजेण्ट सम्पर्क विहीन थिए। मालिकले परिवारसँग सम्पर्क गर्न दिदैनथे।

दिनहरु यसरी नै बित्दै गए। तलब मासिक नेरु ३५ हजार पाउथिन्। तलब भन्दा धेरै उनले पीडा र यातना पाउथिन्। चार वर्ष पछि त्यहाँकै एजेन्टले उनलाई अर्को घरमा बेच्यो। त्यहाँ पनि यातना उत्तिकै थियो।

रचनालाई दलालले वेटरको काम पाउने भनी फकाएको भएपनि घरायसी काम लगाइएको थियो। रातदिन गरेर छ वटा परिवारको काम गर्नुपथ्र्यो। कुटपिट र यातना त सामान्य भइसकेका थिए। विरामी हुँदा पनि आराम गर्न पाउनुको साटो तातो तेलले खन्याएर जिउमा डाम्नेसम्मको सजाय भोग्नुपथ्र्यो। दाग अझै पनि देखिन्छ।

मालिकले १० वर्षका लागि १३ लाख नेपाली रुपैयाँमा किनेर ल्याएको र त्यो तिरे मात्रै फर्कन दिने भनेर यातना दिने गरेको उनले सुनाइन्।

यसरी पाए नयाँ जिवन
रचनाले उपाय नलागेपछि आफूलाई माया मार्दै आएकी थिइन्। रञ्जनाको पनि पनि परिवारसँग सम्पर्क पातलिदै गएको थियो। परिवारले माया मारिसकेका थिए। चरम यातनाले गर्दा थंथिलो भएकी उनले बाँच्ने, नेपाल फर्किने र नयाँ जीवन पाउने आशा पनि मारिसकेकी थिइन्।

तीनैजनाले यसबारे नेपालीहरुसँग शेयर गर्थे। यसबारे मालिकले थाहा पाएपछि थप यातना दिन्थे। वर्क फर नेपालले लामो प्रयासपछि तीनैजनालाई छुट्टाछुट्टै समयमा उद्धार गर्न सफल भयो। रञ्जनाले मालिकको स–परिवार विवाह भोजमा बाहिर गएको मौका छोपेर उनी उम्कन सफल भएकी थिइन्।

‘मुस्लिम पोशाक लगाएर घरबाट बाहिर निस्केँ, इराकमा बस्ने नेपाली दाजुभाइले सहयोग गर्नुभयो।’ उनी त्यहाँबाट निस्केको एकहप्तामा नेपाल आइपुगिन्। लुकीछिपी इराकमा बस्ने नेपालीबाट पनि सहयोग पाइन्।

पाँचवर्षसम्म पीडा खपेर गएको असारमा स्वदेश फर्किन्। विमानस्थलमा भव्य स्वागत पनि भयो। तर जीवनसाथीले सधैका लागि छोडेर गइसकेका थिए।

सात वर्षकी छोरीसँग भक्तपुरमा बसेकी छन्। अस्ताउन लागेको घामजस्तै उमेरकी सासु सिन्धुपाल्चोक छिन्। विगतले उनलाई झस्काउन छाडेको छैन।

गत वर्षको फागुनमा गएकी साइलीले थुप्रै दु:ख र चोट सहेर केही महिनाअघि नेपाल फर्कन सफल भएकी थिइन्। भाईबहिनीलाई बौद्धमा राखेर गलैचा बुन्ने काममै फर्केकी छन्। उनी भन्छिन्, ‘छोरीचेलीले विदेश नजानु, आर्थिक अवस्था कमजोर भएर जान बाध्य भएपनि सबै प्रष्ट भएर जानू।’

रचना रित्तो हात भएपनि नेपाल फर्कन सफल भइन्। दलालविरुद्ध उजुरी गरिन्। दलाल २० वर्षको जेल सजाय तोकिएको छ। यातना र ऋणले थिचिएको मन केही हलुका भएपनि विगतले झस्काइरहन्छ।

वर्क फर नेपालको सम्पर्क र सहयोग नपाएको भए आफूहरुले नयाँ जीवन नपाउने बताउँछन्। सिन्धुपाल्चोक रहेर सामाजिक काम गर्दै आएको यस संस्थाले विदेशमा पुगेर दु:ख भोगेका, बेचिएका उनीहरुजस्ता थुप्रैलाई नेपालीहरुलाई उद्धार गर्दै आएको सह सचिव ईश्वर सुवालले बताए।

Esewa Pasal

प्रकाशित : भाद्र २५, २०७५ १६:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बानेश्वरमा छ टक्सार

समाज
विद्या राई

काठमाडौँ — भाँडाकुँडा बन्न छाडे पनि टक्सारको ब्रान्ड अहिले पनि बिकिरहेको छ । टक्सारमा बसेर भाँडाकुँडा बनाउँदै आएका बुद्धराज शाक्य भन्छन्, ‘हामीले टक्सारे भाँडाकुँडाको माग धान्न गाह्रो भइरहेको छ, दु:खको कुरा अरू ठाउँमा टक्सारे भन्दै नाम बिक्री भइरहेको छ ।’

७४ वर्षका काशीनाथ तमोटले बानेश्वरमा १२ आना जग्गा १० हजार रुपैयाँमा किनेका थिए, २०३१ सालतिर । उनले सुरुमा टहरो बनाए, बिस्तारै घर बनाए । अहिले सहरीया सुख उनका आँगनमा आएको छ । तमोटजस्तै भोजपुर, टक्सारबाट बसाइ सरेर बानेश्वर क्षेत्रमा आउने टक्सारिया नेवारहरूको घरधुरी ६५ भन्दा बढी भइसकेको छ ।


सुरुका दिनमा, तमोट त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन क्याम्पसमा नेपाल भाषाका प्राध्यापक थिए । सरकारी सेवाबाट अवकाश लिएको एक दशक भइसकेको छ । २०१९ सालमा भोजपुरबाट एसएलसी गरेपछि प्राविधिक विषय पढ्न काठमाडांै छिरेका तमोट जागिरका कारण त्यही बेलादेखि काठमाडौंवासी बने । यतिबेला भोजपुर, टक्सारको पुख्र्यौली तमोट घर भत्किसकेको छ । जग्गाजमिन बाँझै छ । बानेश्वरमा टक्सार–बस्ती बसाएर बसेका छन् तमोट र अरू नेवारहरू ।


टक्सार पुख्र्यौली घर भएका नरेश ताम्राकारले पनि बानेश्वरमै ०३६ सालमा ९ आना जमिन १ लाख रुपैयाँमा किनेका थिए । उनले त्यही जमिनमा एकतले घर बनाए । टक्सार बसेर भाँडाकुँडा व्यापार गर्ने नरेश एकाएक बानेश्वरवासी बने, आफ्नो थातथलो भुलेर । भोजपुर छँदै उनका दुई छोरी दुई पटक सिकिस्तै बिरामी बनेका थिए । उपचारका लागि विराटनगर हुँदै काठमाडौं आएका थिए । मेनिन्जाइटिसले थलिएकी छोरी कान्ति बाल अस्पताल ल्याएर धन्न बाँचिन् तर तिनै छोरीको शिक्षादीक्षाका लागि उनी पनि यतैका भए ।


०३५ सालमा टक्सार विमानस्थल बन्यो । अनि धेरै टक्सारेका लागि काठमाडौं पानीपँधेरो बन्यो । भाँडाकुँडा बनाउने कुरामा भोजपुरे खानीहरूमा कच्चापदार्थ रित्तिँदै गएपछि टक्सार नाम मात्रैको बन्दै गयो ।


ताम्राकार अहिले नेवा: देय् दवूको केन्द्रीय अध्यक्ष हुन् । उनका दुई छोरा इन्जिनियर छन् भने एक छोरा डाक्टर । बानेश्वरमा स्थायी बसोबास भए पनि ताम्राकारको टक्सारस्थित घर जग्गा छँदैछ । टक्सारबाट अन्यत्र बसाइ सर्ने नेवार समुदायमध्ये अधिकांशले घरजग्गा बेचेका छैनन्, न आफू गाउँ फर्केरै गएका छन् । कुनै बेला दिनरात घनको टङटङ आवाजले गुल्जार रहने टक्सार यतिखेर सुनसान छ, स्थानीय बुद्धिजीवी धीरेन्द्र श्रेष्ठका अनुसार अहिले टक्सारमा ४/५ घर मात्रै बसेका छन्— टक्सार व्यवसाय धानेर ।


टक्सारबाट बसाइ सरेका नेवार समुदाय अहिले पनि भाँडाकुँडा व्यवसायमैं छन् । सीमित जागिर वा अन्य व्यवसायमा छन् । धातुजन्य उत्पादनमा कोही लागेका छन् । जस्तो टक्सारका मोतीकृष्ण ताम्राकार वीरगनजमा आल्मुनियमको उद्योग चलाउँछन् । उत्तम ताम्राकारको धरानमा रोलिङ मिल सञ्चालनमा छ नारायण तुलाधारको बल्खुमा करुवा–कसौडी व्यापार गर्छन् । अर्जुन ताम्राकारको बालाजुमा रोलिङ मिल छ, राजेन्द्र शाक्य (इमाडोल) र सुनील उदासले विदेशमा पठाउने धातुका भाँडाकुँडाको उद्योग चलाउँछन् । टक्सारका ६३ वर्षीय विश्वराज तुलाधार बानेश्वरमै भाँडा पसल गर्छन् । उनी पनि व्यापार सिलसिलामा २०४२ सालमा बानेश्वर बसाइ सरेर आएका थिए ।

काशीनाथ तमोट


शाहवंशाीय राजा गीवार्णयुद्धविक्रम शाहको पालामा भोजपुरको टक्सार अड्डा पूर्वी नेपालकै मुख्य व्यापारिक तथा औद्योगिक केन्द्र थियो । पछि विसं १८७२ मा स्थानीय भीमसेन परिसरमा खानी अड्डाको स्थापना भएको थियो । अड्डामा तामाको एक पैसे, दुई पैसे, पाँच पैसे डोली पैसा छापिने गथ्र्याे । तामाको टक (सिक्का) काटिने भएकैले यसलाई टक्सार नामकरण गरिएको इतिहास छ । भोजपुरकै दक्षिणी भेगमा पर्ने धोद्लेखानी, सिरिसेखानीबाट तामा निकालेर डोली पैसा बनाउने गरिन्थ्यो ।


यसरी टक्सार स्थापना भएको २०३ वर्ष हुँदै छ । २०० वर्ष पुगेको अवसरमा २०७२ सालमा द्विशतवार्षिकी मनाइएको थियो । व्यापारिक, औद्योगिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक हिसाबले पुरानो टक्सार अचेल भने सुनसान र उजाड छ ।


व्यापारिक गतिविधिमा सक्रिय मानिने नेवार समुदायको यो संख्या अहिले इतिहास भइसकेको छ । उनीहरूको मौलिक पहिचान, वेशभूषा र संस्कृति आधुनिकतासँगै लोप हुँदै गएको छ । मुख्य गरेर धातु उद्योगका लागि चाहिने आवश्यक कच्चापदार्थ कोइला र कालीगढको अभावले बसाइसराइ बढेपछि नेवार समुदाय घट्दै आए ।


भोजपुरबाट सुरुमा बसाइ सर्नेहरू बानेश्वरमा आएका थिए । त्यसपछि भक्तपुर, इमाडोल, कीर्तिपुर, हात्तीवन, न्युरोड, बूढानीलकण्ठ, त्रिपुरेश्रवरतिर सरेर आए । जहाँ बसाइ सरेर गए आफूलाई भोजपुरको टक्सारिया अझ खिकामाछाको टक्सारियाका रूपमा चिनाउँछन् ।


भाँडाकँुडा बन्न छाडे पनि टक्सारको ब्रान्ड अहिले पनि बिकिरहेको छ । टक्सारमा बसेर भाँडाकुँडा बनाउँदै आएका बुद्धराज शाक्य भन्छन्, ‘हामीले टक्सारे भाँडाकुँडाको माग धान्न गाह्रो भइरहेको छ, दु:खको कुरा अरू ठाउँमा टक्सारे भन्दै नाम बिक्री भइरहेको छ ।’


टक्सारमा नेवार समुदायको बाहुल्य हुँदा नेवारभित्रकै शाक्य, हलुवाई, ताम्राकार, श्रेष्ठ विभिन्न थर र गोत्रका थिए । उनीहरूबीचमा पनि सांस्कृतिक विविधता छ । घरैपिच्छे मठमन्दिर, देवीदेवताका थान, चैत्य छन् । भीमसेनथान, गणेश थान, रणेश्वर शिवालय, अजिमा देवीलगायत छन् जसलाई ‘सानो पाटन’ को उपनाम पनि दिइएको छ ।


थुपै्र ठाउँमा बसाइ गएका मध्ये बानेश्वरका टक्सारीया नेवारहरू लाखेजात्रा र बुद्धजयन्तीलाई धुमधामका साथ मनाउन थालेका छन् । बानेश्वरको पार्कदेखि भित्रपट्टि छक्कुबक्कु भगवती मन्दिर लाखेको केन्द्र मान्छन् । शान्तिनगर नजिकैको विश्व शान्ति विहारलाई टक्सारको शाक्यमुनि विहार मानेर बुद्धजयन्ती धुमधाम मनाउँछन् । यी दुई चाडमा उपत्यकामा छरिएका टक्सारीयाहरू एकजुट हुन्छन् । भोजपुर टक्सारका गतिविधिलाई जीवन्त राख्न उनीहरूले भएका मन्दिर र विहारलाई मानेको बताउँछन् । लाखेजात्रा टक्सार सेवासमाज र बुद्धजयन्ती शाक्य समाजको नेतृत्वमा हरेक वर्ष मनाइन्छन् । बानेश्वरका टक्सारीयाहरूमा यो चलन सुरु भएको एक दशक पुग्दै छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT