कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आन्तरिक किचलोले कांग्रेसको बैठक नै बसेन

अनुशासन, निर्वाचन र केन्द्रीय कार्यसम्पादन समिति बन्न सकेनन्  
कुलचन्द्र न्यौपाने

काठमाडौँ — अनुशासन समिति गठन नहुँदै किचलो भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बोलाईएको बैठक स्थगित भएको छ । अनुशासन, निर्वाचन र केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने एजेण्डा राखेर सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक विहान ११ बजेका लागि बोलाएका थिए ।

आन्तरिक किचलोले कांग्रेसको बैठक नै बसेन

अनुशासन समिति गठन गर्दा सबैलाई न्याय दिन सक्ने र विवेक पुर्‍याउन सक्ने सदस्यहरु राख्नु पर्ने भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा निर्णय गर्नुअघि सहमति जुटाउन दबाव दिए । तर, सभापति देउवाले ५ सदस्यीय समिति गठन गर्ने जानकारी गराउँदै २ जनाका नाम दिन पौडेलसँग आग्रह मात्रै गरे, समितिका संयोजक र आफ्नो पक्षका सदस्यहरुको नाम सुनाएनन ।


पौडेल पक्षले समितिमा रहने २ जनाको नाम दिए केन्द्रीय कार्यसमितिको बहुमतबाट निर्णय गराउने योजनामा सभापति देउवा थिए । तर, पौडेल पक्षले पूर्व सहमति नजुटाई नाम दिन मानेनन । यहि कारण सभापति देउवा र पौडेलबीच दिनभर गलफ्त्ती चल्यो ।


‘अनुशासन समिति र निर्वाचन समिति जस्तो गम्भिर समिति निश्चित मापदण्डका आधारमा समझदारीका साथ बनाउनु पर्छ भन्ने मेरो भनाई हो,’ पौडेलले कान्तिपुरसँग भने, ‘सबैलाई विश्वासमा लिएर विवेकपूर्ण समिति बनाउनु पर्छ भन्दा सभापतिले दुई जनाको नाम मात्रै माग्नु भयो ।’


पौडेलले अनुशासन, निर्वाचन, केन्द्रीय कार्यसम्पादन समिति र विभागहरु एकैसाथ प्याकेजमा सहमति जुटाएर निर्माण गर्न समेत प्रस्ताव गरेका थिए । देउवाको जोड भने अनुशासन समिति बनाउनेमै केन्द्रित थियो ।


निर्वाचनमा पार्टीकै उम्मेदवारलाई अन्र्तघात गर्नेहरुलाई कारवाही गर्न अनुशासन समिति गठन गर्न लागिएको हो । देउवाले अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य भिष्मराज आङदम्वे र सदस्यहरुमा देवेन्द्रराज कँडेल र किशोर राठौरलाई राख्ने तयारी गरेका थिए । पौडेल पक्षले अनौपचारिक माध्यमबाट देउवाको तयारीबारे जानकारी पाएपछि दुई नेताबीच लामो छलफल भएको थियो ।


समितिमा प्रस्ताव गर्न लागिएको नामबाटै पौडल पक्ष सशंकित भएको छ । आफ्नो विरोध गर्नेहरुलाई छानीछानी कारवाही गर्ने र समर्थकलाई जोगाउने रणनीतिबाट समिति गठन गर्न खोजिएको भन्दै पौडेल पक्षले समितिमा रहने संयोजक र सदस्यहरु सर्वस्वीकार्य हुनुपर्ने अडानमा दिनभर रह्यो । तर, देउवाले आफ्नो पक्षको सदस्यहरुको नाम खोलेनन ।


देउवा निकट एक सदस्यका अनुसार सभापति देउवालाई पत्नी आरजु राणालाई चुनाव हराउन लाग्ने र अन्तर्घात गर्नेहरुमाथि तत्काल कारवाही गर्नुपर्ने ठूलो दबाव छ । त्यस्तो दबाव बाहिरबाट नभएर परिवारबाटै छ । देउवा कैलालीको निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार थिइन् । ‘राणालाई हराउन पार्टीका केही बरिष्ठ नेताहरुनै लागेको भन्दै कारवाही गर्न दबाव बढेको छ’ देउवा निकट ती सदस्यले भने, ‘सभापतिले सार्वजनिक रुपमा पनि धेरैपटक चुनावमा अन्र्तघात गर्नेहरुलाई नछाड्ने बताउ‘दै आउनु भएको हो ।’


देउवाको यहिँ भित्री मनसाय बुझेर नै पौडेल पक्षले समिति गठन गर्दा सहमतिबाट मात्रै हुनुपर्ने अडान राखेको हो । पूर्व महामन्त्री सिटौला पक्षले भने यसअघिको अनुशासन समिति पार्टीबाट विघटन नभएको र राजीनामा पनि नदिएकाले त्यहि‘ समितिलाई सक्रिय बनाउन सुझाएका थिए । यसअघि रमेश रिजालको संयोजकोत्वमा सुरेन्द्र पाण्डे, हृदयराम थानी, कमल पन्त र उमाकान्त चौधरी रहेको समिति थियो । उक्त समितिलाई बिस्थापित गरेर अहिले नयॉ समिति बनाउन खोजिएको हो ।


अनुशासन समिति गठनमै कुरा नमिलेपछि निर्वाचन र केन्द्रीय कार्यसम्पादन समिति निर्माण गर्ने प्रकृया अघि बढ्नै सकेन । विहान ११ बजे बोलाएको बैठक सांझ ६ बजे अनिश्चतकालका लागि स्थगित गरिएको छ ।



प्रकाशित : भाद्र २८, २०७५ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?