कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मला प्रकरणमा संसदीय छानबिन माग

'अपराध संरक्षण र प्रमाण नष्ट गर्ने पनि अपराधी नै हुन । यस्तालाई कानुनी कठघरामा ल्याउनुपर्छ ।’

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । एक सातापछि बिहीबार बैठक सुरु भएलगत्तै कांग्रेस सांसदले विरोध जनाएका हुन् । 

निर्मला प्रकरणमा संसदीय छानबिन माग

सांसद दिलेन्द्रप्रसाद बडुले पन्तले राज्य संयन्त्रले घटना ढाकछोप गरेको आरोप लगाए । ‘यो घटना हरेक दिन नाटकीय रूपमा जटिल र रहस्यमय हुँदै गएको छ । अनुसन्धान टोली एकपछि अर्को गर्दै परिवर्तन भइरहेको छ । प्रहरी वास्तविक अपराधीसम्म पुग्न सकेको छैन,’ उनले भने, ‘दोषी पत्ता लगाउनेभन्दा पनि राज्य संयन्त्र नै ढाकछोप गर्न लागेको छ ।’


गृह मन्त्रालयले बनाएको छानबिन समिति सदस्य वीरेन्द्र केसीले अनुसन्धानको विश्वसनीयतामा प्रश्न उठाउँदै राजीनामा गरेपछि यो प्रकरण झन् शंकास्पद भएको उनले बताए । ‘केसीले सुरक्षाका लागि राष्ट्रसंघ गुहार्नुपर्ने अवस्था किन र कसरी आयो ? उनले भनेको शक्तिशाली व्यक्ति को हुन् ?’ वडुले भने, ‘राज्य संयन्त्र कसले चलाएको छ ?’


कांग्रेसले तरुण दलका कार्यकर्ता रोहित पुनको हत्यारा पक्राउ नगरिएको र ‘खोजतलास’ का प्रधान सम्पादक राजु बस्नेतलाई गिरफ्तार गरिएका विषयमा पनि विरोध जनाएको छ । बस्नेतको पक्राउ प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको कांग्रेसको ठहर छ । कांग्रेसले उठाएको विषयको जवाफ नदिएको भन्दै सांसदहरूले आफ्नै सिटमा उभिएर बैठक अवरुद्ध गरेका थिए ।


सभामुख कृष्णबहादुर महराले बारम्बार सांसदहरूलाई बस्न आग्रह गरेका थिए । ‘सरकारले उपयुक्त समयमा जवाफ दिनेछ । अहिलेको अहिले जवाफ खोज्नु उपयुक्त नहोला । माननीय सदस्यहरू बुझ्नुस् । सरकारको ध्यानाकर्षण गराएको छु,’ उनले भने । त्यसपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरे पनि आधा घण्टासम्मै बस्न सकेन । कानुनमन्त्री भानुभक्त ढकालले शुक्रबारको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने भनेपछि दोस्रो बैठक नियमित कार्यसूचीअनुसार अघि बढेको थियो । बिहीबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए ।


‘हत्यारा प्रहरीकै संरक्षणमा’

बैठकमा शून्य समयमा बोल्ने सत्तापक्ष र विपक्षी सांसदहरूले पनि हत्यामा संलग्नलाई प्रहरीले संरक्षण गरेको आरोप लगाएका छन् । कांग्रेस सांसद सीतादेवी यादवले भनिन्, ‘हत्यारा लुकाउने प्रहरी रक्षक हुन्छ ? घटनाको प्रमाण नष्ट गर्न लागिपरेको छ । अब यो देश कहाँ जान्छ ?’ सदनमा दुई महिनादेखि यस विषयमा कुरा उठिरहे पनि सरकारले अपराधी लुकाउने कोसिस गरेको यादवले आरोप लगाइन् । ‘जबसम्म महिलाको सुरक्षा हुँदैन, तबसम्म देशको सुरक्षा हुन सक्दैन,’ उनले भनिन् ।


अर्का सांसद सञ्जय गौतमले बलात्कार र हत्या घटना बढेकाले मुलुकमा सरकार भएको अनुभूति हुन नसकेको बताए । ‘सुशासनको अनुभूति हुन सकेन,’ उनले भने, ‘अपराध संरक्षण, प्रमाण नष्ट गर्ने पनि अपराधी नै हुन् । त्यसैले यस्तालाई पनि कानुनी कठघरामा ल्याउनुपर्छ ।’ सांसद हीरा गुरुङले पनि प्रहरीले दोषीलाई संरक्षण गरेको आरोप लगाइन् ।


नेकपाकी शान्ता चौधरीले अपराध गर्नेले छुट नपाउने सन्देश दिन पनि अपराधीलाई कठघरामा ल्याउनुपर्ने बताइन् । अपराधी पत्ता लगाउन छुट्टै दस्ता बनाउनुपर्ने उनको माग छ । सर्वत आरा खानमले बलात्कार घटना बढेको भन्दै विरोध जनाइन् । ‘दुधे बालकदेखि वृद्धा आमासम्म बलात्कार भइरहेका छन् । यस्तो घटना कहिलेसम्म हुन्छ ?,’ उनले भनिन् । सांसद सुजाता कोइरालाले एकपछि अर्को बलात्कार घटना हुँदा पनि सरकार मौन रहेको भन्दै विरोध जनाइन् । पन्त प्रकरणमा राज्यले हत्यारालाई संरक्षण गर्न खोजेको उनको आरोप छ ।


नेकपाकी विन्दा पाण्डेले घटना झन् रहस्यमय बन्दै गएको बताइन् । ‘अनुसन्धान टोली कहिले राजीनामा दिने र कहिले फिर्ता गर्ने समाचार आएको छ । रौतहटको घटनामा जनप्रतिनिधि नै मेलमिलाप गराउन लागिपरेका छन्,’ उनले भनिन् । पाण्डेले यस्ता घटना छानबिन गर्न संसदीय समिति गठनको माग गरिन् ।



प्रकाशित : भाद्र २८, २०७५ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?