कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१३ करोड खर्चेर सकियो मनकामना पुनर्निर्माण, दसैंमा भक्तजनका लागि खुल्ने

हरिराम उप्रेती

गोरखा — मनकामनाको मुल मन्दिरको पुनर्निर्माण सकिएको छ । २०७२ असारबाट जगैदेखी भत्काएर मन्दिरको पुनर्निर्माण शुरु भएको थियो । तीन वर्ष लगाएर मन्दिर पुरानै स्वरुपमा निर्माण गरिएको हो । 

१३ करोड खर्चेर सकियो मनकामना पुनर्निर्माण, दसैंमा भक्तजनका लागि खुल्ने

२०७२ वैशाख १२ को भूकम्प अगावै दक्षिण पश्चिम ६ इन्च ढल्किएको मन्दिर भूकम्पपछि थप जिर्ण बन्दै गएपछि पुनर्निर्माण थालिएको थियो । मन्दिरको छानामा सुनको जलप लगाउन मात्र १८ किलो सुन खर्च भएको जिर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । सुनको जलपले मन्दिरको आकर्षण बढेको छ ।

‘करिब नौ करोड रुपैयाँ सुन खरिद गर्न लाग्यो,’ श्रेष्ठले भने । पुरातत्व विभागसँग अनुमति लिएर राष्ट्र बैंकबाट सुन खरिद गर्ने प्रावधान अनुसार सुन खरिद गरिएको हो । छानामा तामाको पाता विछ्याएर सुनको जलप लगाइएको छ ।

मन्दिरको निर्माण सकिएसँगै ‘दशकर्म’पुजा गरेर मन्दिर उद्घाटन गर्ने तयारी गरिएको छ । पुनर्निर्माण सुरु गर्दा क्षमा पुजा गरेर मन्दिर भत्काउन थालिएको थियो । ‘भगवानलाई शुद्घ बनाउन दशकर्म पुजा गर्नुपर्ने परम्परा रहेछ,’ श्रेष्ठले भने, ‘अब मन्दिर उद्घाटनको तयारीमा लाग्छौँ, दसैंमा भक्तजनलाई मन्दिर भित्रै पुजा गर्ने व्यवस्था मिलाउने तयारीमा जुटेका छौँ ।’

मन्दिर पुनर्निर्माण सक्न करिब १३ करोड रुपैयाँ लागेको श्रेष्ठले बताए । ‘अब कति खर्च भयो अडिट गर्दैछौँ,’ उनले भने । मन्दिर पुनर्निर्माणका लागि चार करोड नेपाल सरकारले उपलब्ध गराए पनि अन्य रकम भक्तजनबाटै संकलन भएको हो । झण्डै १० करोड रुपैयाँ भक्तजनबाट संकलन भएको जिर्णोद्वार समितिले जनाएको छ । मन्दिरको अन्य संरचना निर्माण गर्न तीन–चार करोड रुपैयाँ अझै खर्च लाग्ने उनले बताए ।

‘हामीसँग अझै भक्तजनबाटै उठेको तीन करोड जति छ, केवलकारले पनि पैसा दिन्छु भनेको छ, स्थानीयहरुसँग पनि पैसा संकलन गर्दैछौँ,’ उनले भने । मन्दिरको अन्य काम गर्न पैसा अभाव नरहेको उनले बताए ।

मन्दिरको आँगनमा ढुङ्गा छाप्ने काम आइतबार सुरु हुने जिर्णोद्वार समितिले जनाएको छ । नुवाकोटबाट ढुङ्गा ल्याएर छाप्ने तयारी समितिले गरेको छ । आँगनमा ढुङ्गा छाप्न एक/डेड महिना लाग्ने अनुमान गरिएको छ ।

भजन मण्डली बनाउने, पश्चिम पट्टिको भिराला जमिनमा टेवा पर्खाल लगाएर आँगन बढाउने तयारी पनि गरिएको छ । ‘पश्चिमपट्टि पाँच–सात मिटर आँगन बढाउने भनेर छलफल चलेको छ,’ उनले भने । अन्य संरचना बनाउन डिपिआर तयार गर्ने क्रममा रहेको जिर्णोद्वार समितिले जनाएको छ । पैसा पुगे धर्मशाला लगायतका संरचना निर्माण गर्ने तयारी समितिले जनाएको छ ।


प्रकाशित : भाद्र २९, २०७५ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?