कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेताको रोजाइ धनवान् !

कुलचन्द्र न्यौपाने

काठमाडौँ — नेतृत्वलाई आर्थिक प्रभावमा पारेर राजनीतिमा माथि आउने व्यवसायी कांग्रेसभित्र दर्जनौं छन् । पहिले एमालेबाट सभासद बनेका उद्योगपति विनोद चौधरीदेखि राप्रपाबाट सांसद बनेका सूर्यबहादुर केसीसम्म अहिले कांग्रेसका सांसद छन् । नवप्रवेशी चौधरी र केसीले एकैचोटि सांसद बन्न पाउनुका पछि उनीहरूको आर्थिक ‘खुबी’ मुख्य कारण थियो ।

नेताको रोजाइ धनवान् !

पोखरा जाँदा अधिकांश कांग्रेस नेताले सम्झिने नाम हो, व्यवसायी एवं प्रदेश सांसद विन्दुकुमार थापा । सभापति शेरबहादुर देउवा मात्रै होइनन्, पोखरा पुग्दा उनको आतिथ्यता नमानी फर्कने नेता कमै छन् । ‘रियल स्टेट’ कारोबारबाट धनाढ्य बन्न पुगेका थापा आर्थिक प्रभावमा पारेरै नेताहरूसँग निकट हुन पुगेका हुन् । त्यही निकटताको फाइदा उठाउँदै प्रदेशसभाको टिकट पाए । कास्कीबाट चुनाव जित्ने कांग्रेसमा उनी एक्ला सांसद हुन् ।


नेताहरूलाई गतिला होटलमा राख्नेदेखि स्वादअनुसारको खानपान र गाडीको व्यवस्था गर्न उनी अघि सर्छन् । वडा सदस्यसम्म नभएका थापालाई नेताहरूले आर्थिक लेनदेनकै आधारमा उम्मेदवार बनाएको भन्दै कास्कीमा विद्रोहसमेत भएको थियो । विद्यार्थीकालदेखि नै कांग्रेसमा क्रियाशील युवा नरेश पालिखेले थापाविरुद्ध उम्मेदवारी नै दिए । ‘नेताहरूले पैसामा टिकट बेचेपछि स्वाभिमान, आस्था र निष्ठाको रक्षा गर्न मैले विद्रोह गरेको हुँ,’ पालिखेको भनाइ थियो, ‘विद्रोह नगर्ने हो भने नेताहरूले देशैभरि टिकट बेच्न सक्छन्, निष्ठा र आस्थाको राजनीति गर्नेहरू सधैं पाखा पर्न सक्छन् ।’


-चितवनका उमेश श्रेष्ठको कल्याणपुरमा भव्य गार्डेनसहितको गेस्ट हाउस छ । नेताहरूलाई नै लक्षित गरेर उनले सुविधासम्पन्न गेस्ट हाउस बनाएको कांग्रेस कार्यकर्ताबीच चर्चा हुने गरेको छ । चितवनमा नेता पुग्नासाथ उनी आतिथ्यताका लागि पुगिहाल्छन् । पार्टीभित्र श्रेष्ठलाई सभापति देउवाको आर्थिक सल्लाहकारकै रूपमा लिइन्छ । निर्वाचनका बेला अर्थ संकलन गर्नेदेखि देशभरका उम्मेदवारलाई पैसा बाँड्नेसम्मको जिम्मेवारी उनैले पाएका थिए । पार्टीको निर्वाचित कोषाध्यक्ष सीतादेवी यादव हुन् तर कोषको भूमिका र गतिविधिमा श्रेष्ठकै हालीमुहाली छ । देउवाकै जोडबलमा उनी यसपटक समानुपातिकमा दोहोरिए । २०७० को दोस्रो संविधानसभामा पनि उनलाई देउवाले नै समानुपातिकमा ल्याएका थिए ।


-विराटनगरका डा. सुनील शर्मा मेडिकल व्यवसायी हुन् । नोबल मेडिकल कलेजका सञ्चालक शर्मा पनि पोखराका थापा, चितवनका श्रेष्ठजस्तै विराटनगरमा अधिकांश नेतालाई ‘होस्ट’ गर्छन् । नेताहरूलाई प्रभावमा पारेरै उनले गत निर्वाचनमा मोरङ ३ बाट टिकट फुत्काए । तर, एमालेका भानुभक्त ढकालसँग पराजित भए ।


-नेपालगन्जमा छन्, डा. सुरेशकुमार कनौडिया । तत्कालीन सभापति सुशील कोइरालाको चुनावी खर्च उनैले धान्थे । नेपालगन्ज मेडिकल कलेजका प्रबन्धक कनौडियालाई कोइरालाले २०७० को चुनावमा समानुपातिक सूचीमा राखेका थिए । पछि उनको नाम काटियो । त्यसपछि केही समय कोइरालासँग असन्तुष्ट पनि बने । पछि कोइराला परिवारका सदस्यकै बलमा उनी नेपालगन्ज उपमहानगरमा मेयरको उम्मेदवार भए । तर, चुनाव जित्न सकेनन् । जिल्लामा पुग्ने कांग्रेस नेताहरूको खाने, बस्ने प्रबन्धदेखि नेताहरूको गाह्रो(साँघुरो फुकाउने दातासमेत हुन् उनी ।


-इलामका निर्माण व्यवसायी डम्बर खडकाको प्रभाव पनि नेताहरूमा दह्रै छ । उनले पनि इलाम २ ‘ख’ मा ‘टिकट’ पाएका थिए । तर, जित्न सकेनन् ।


यी केही उदाहरण हुन् । नेताहरूलाई आर्थिक प्रभावमा पारेर राजनीतिमा माथि आउने व्यवसायी कांग्रेसभित्र दर्जनौं छन् । पहिले एमालेबाट सभासद् बनेका उद्योगपति विनोद चौधरीदेखि राप्रपाबाट सांसद बनेका सूर्यबहादुर केसीसम्म अहिले कांग्रेसको सांसद छन् । नवप्रवेशी चौधरी र केसीले एकैचोटि सांसद बन्न पाउनुका पछि उनीहरूको आर्थिक ‘खुबी’ मुख्य कारण थियो । चौधरी फोब्र्सको अर्बपतिमा सूचीकृत धनाढ्य हुन् भने केसी पश्चिमाञ्चल क्षेत्रकै धनाढ्यमा गनिन्छन् । केसी आमन्त्रित केन्द्रीय सदस्यसमेत छन् । केन्द्रीय समितिमा पुग्नका लागि न्यूनतम दस वर्ष लगातर क्रियाशील सदस्यता लिएको मापदण्ड पूरा गर्नुपर्छ । तर, चौधरी वा केसीजस्ता आर्थिक रूपमा सबल र नेताहरूलाई निरन्तर सहयोग पुर्‍याउनेका हकमा भने विधान र मापदण्ड लागू हुँदैन ।


पछिल्लो निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्दा पार्टीभित्र निरन्तर क्रियाशील सदस्यता कायम रहेको, पार्टी र आमजनतामा लोकप्रिय एवं स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भूमिका निर्वाह गरेका मध्येबाट सिफारिस गर्नुपर्ने मापदण्ड तय बनाएको थियो । तर, आर्थिक सहायता गर्नेहरूलाई यस्तो मापदण्डले छोएन ।


पछिल्लोपटक ‘रियल स्टेट’ र निर्माण व्यवसायबाट राजनीतिमा प्रवेश गर्ने क्रम बढदो छ । तीमध्ये नेताहरूलाई व्यक्तिगत सहयोग पुर्‍याइरहनेले बढी अवसर पाएका छन् । कांग्रेसमा अहिले झन्डै दर्जन हाराहारी यस्तै सांसद छन् ।


मोहन आचार्य, जीपछिरिङ लामा र बहादुरसिंह लामा देशभर सबैभन्दा बढी निर्माण ठेक्का पाउने व्यवसायी हुन् । जीपछिरिङको लामा कन्स्ट्रक्सन, बहादुरको हिमदुङ ठोकर निर्माण कन्स्ट्रक्सन र आचार्यको रसुवा कन्स्ट्रक्सनले बर्सेनि अरबौंको ठेक्का पाउँछन् । यी तीनैजना अहिले प्रतिनिधिसभा सांसद छन् । आचार्य रसुवाबाट निर्वाचित भएका हुन् भने लामाद्वय समानुपातिक । केन्द्रीय सदस्यसमेत रहेका बहादुर यसअघि नुवाकोटबाट निर्वाचित सांसद थिए । रामेछापका अर्का निर्माण व्यवसायी कान्छाराम तामाङ चुनाव हारे । उनको कान्छाराम निर्माण सेवा छ । कांग्रेसमा उनीहरू नवप्रवेशी भने होइनन् । यी व्यवसायीलाई नेताहरूले दोहोर्‍याई तेहर्‍याई अवसर दिने गरेका छन् ।


तत्कालीन नेकोन एयर (बन्द भइसकेको) का सञ्चालक दिव्यमणि राजभण्डारी पनि यसपटक सांसद बन्न सफल भए । पार्टीलाई प्रतिबन्धित अवस्थादेखि नै सहयोग पुर्‍याउँदै आएका उनलाई सांसद बनाउने आश्वासन नेताहरूले धेरैपटक दिएका थिए । नेताभन्दा पार्टीलाई सहयोग पुर्‍याएका कारण उनी प्राथमिकतामा पछि परे ।


‘नेताहरू अभिजात्य वर्गमा उक्लिए’
निर्वाचनमा हारको समीक्षा गर्न चैत मसान्ततिर बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले टिकट बिक्री गरेको भन्दै चर्को आलोचना भयो । समानुपातिक सिटमा पार्टीले बनाएको मापदण्ड लागू गरिएन । नेताहरूले आर्थिक लाभ, नातागोता र गुटलाई प्राथमिकतामा राखे । यसकै कारण संसद्मा कांग्रेसको प्रतिपक्षीय भूमिका फितलो बन्न पुगेको विषय केन्द्रीय सदस्यले उठाए ।


राजनीतिक विश्लेषक नीलाम्बर आचार्य नेताहरूले समानुपातिक सिटको चरम दुरुपयोग गरेको बताउँछन् । ‘चुनाव लड्न पार्टीमा योगदान गरेको, जनतामा राम्रो प्रभाव भएको हुनुपर्ने, जातीय र क्षेत्रीय सन्तुलनसमेत मिलाएर ल्याउनुपर्ने थियो,’ आचार्य भन्छन्, ‘तर नेताहरूले पैसावाल र आसेपासेलाई मात्रै ल्याए ।’


राजनीतिक स्थिरता र प्रणाली बसिनसकेका कारण व्यवसायीले राजनीतिक कवचभित्रै सुरक्षा खोज्ने गरेका छन् । एकथरीलाई राजनीतिमा आएर सामाजिक प्रतिष्ठा कायम गर्ने लालच छ भने कतिलाई व्यावसायिक सुरक्षाका निम्ति राजनीतिमा हामफाल्नुपरेको छ । ‘यस्ता व्यवसायी जता पैसा दिएर अवसर पाउँछन्, त्यतै जान्छन्,’ कांग्रेसका एक शीर्ष नेता भन्छन्, ‘चुनाव लड्नै करोडौं रुपैयाँ लाग्ने भएपछि नेताले पैसावाला खोज्न थालेका हुन् ।’


नेताहरूको हाईफाई जीवनशैलीले राजनीतिलाई गलत मोड दिन थालेको आचार्यको भनाइ छ । ‘नेताहरू पैसावालको घेराबन्दीमा परेका छन् । राज्य शक्तिको दुरुपयोग गरी अगुवा(पछुवा राखेर हाईफाई देखाउने गरेका छन् । जिल्ला घुम्दासमेत सुविधाजनक होटल र घर चाहिने भएको छ,’ आचार्यले थपे, ‘जसले उनीहरूको सबै बन्दोबस्त गरिदिन्छ, राजनीतिमा त्यही अघि आउन थालेको देखिन्छ ।’


‘यो सबै दलमा झ्यांगिएको प्रवृत्ति हो । पहिला मिसन राजनीति हुन्थ्यो । भटमास, चना खाएर खट्ने नेताहरूको जनतासँग घुलमिल हुन्थ्यो, नेताहरू सामान्य कार्यकर्ताका घरमा बस्थे,’ आचार्य भन्छन्, ‘गान्धी सधैं धोतीमै बसे, जनतानिकट भइन्छ भनेर नै हो । अहिले नेताहरू अभिजात्य वर्गमा उक्लिएका छन्, उनीहरू त्यही वर्गको राजनीति गर्न थालेका छन् जुन राजनीतिले मुलुकलाई नै गलत दिशामा डोर्‍याउन खोज्दै छ ।’


कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे नेताहरूको गच्छेअनुसार सानाठूला क्लाइन्ट जिल्लाजिल्लामा रहेको स्विकार्छन् । पेसाविहीन व्यक्ति राजनीतिलाई पेसा ठानेर प्रवेश गर्दा यस्तो विकृति आउने उनको ठम्याइ छ । ‘जहाँ पैसा बोल्छ, त्यहाँ न्याय मर्छ भनेजस्तै भएको छ,’ उनले थपे, ‘नेताहरू क्लाइन्ट खोज्छन्, क्लाइन्टले सधैं पाल्छ । उनीहरूले पनि राजनीतिको स्वाद लिन पाउँछन् । अनि सांसद, केन्द्रीय सदस्य ताक्छन् ।’


केन्द्रीय कार्यसमिति बैठकमै यस्तो विकृति हटाउन घिमिरेले पेसासहितको राजनीति गर्नुपर्ने वकालत गरिरहेका छन् । ‘कांग्रेसमा मात्रै होइन, यस्तो विकृति सबै पार्टीमा देखिन्छ,’ उनी भन्छन्, ‘नेताहरूलाई जिल्ला जाँदा स्विट रुम चाहिन्छ, खाना र पेय पदार्थ त्यही स्तरको खोज्छन् । पेसाविहीन नेताले खर्च धान्न सक्ने कुरै भएन, अनि सुरु हुन्छ अपारदर्शी आर्थिक चलखेल र पैसावालाको राजनीतिमा प्रवेश ।’


कांग्रेसकै अर्का नेता रामहरि खतिवडा पछिल्लो समय नेताहरूलाई जनमुखीभन्दा धनमुखी प्यारो लाग्न थालेको अनुभव सुनाउँछन् । ‘धनमुखी खोज्दाखोज्दै पार्टी यति कमजोर बन्न पुगेको हो,’ उनले सुनाए, ‘पराक्रम गर्नेको यो पार्टीमा कुनै मूल्यांकन छैन, छ त पैसा र परिक्रमा गर्नेको ।’

प्रकाशित : भाद्र ३०, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?