कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारमा सरकारी संयन्त्रबाट कामदार आपूर्ति गर्न नेपालको प्रस्ताव  

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शून्य लागतमा कामदार पठाउनका लागि सरकारी संयन्त्र तयार गरी कामदारको छनौट र आपूर्तिको व्यवस्था गर्न कतारसमक्ष प्रस्ताव राखेको छ । 

कतारमा सरकारी संयन्त्रबाट कामदार आपूर्ति गर्न नेपालको प्रस्ताव  

वैदेशिक रोजगार व्यवसायीबाट कामदार ठगीमा परेको भन्दै शून्य लागतमा कामदार पठाउन दुई देशको संयन्त्र आवश्यक भएको श्रम मन्त्रालयको बुझाइ छ ।


‘दुवै सरकारको सरकारी संयन्त्र तयार गरी कामदारको छनौट र आपूर्तिको व्यवस्था गर्नुपर्छ,’ नेपालका लागि कतारका राजदूत युसुफ विन मोहमिद अल हैलीसँग मंगलबार भएको शिष्टाचार भेटमा मन्त्रीले भने, ‘छलफल गर्न प्राविधिक बैठकका लागि नेपालको तर्फबाट एउटा टोली कतार पठाउन तयार छौं ।’


नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता पुनरावलोकन भइरहेको छ । कतार पनि यथाशक्य छिटो श्रम सम्झौता गर्ने पक्षमा देखिन्छ । तर, कामदार आपूर्ति प्रक्रियामा कतारी निकाय संलग्न हुने/नहुने पक्षमा केही बोलेको छैन । कतारले काठमाडौंमा कामदारको स्वास्थ्य परीक्षण, फिंगरिङ, करारपत्र प्रमाणीकरण गर्नका लागि एउटा संयन्त्र बनाउने घोषणा गरिसकेको छ । जसका लागि कतारले शुल्क बुझाउनु नपर्ने कतार सरकारको दाबी छ ।


मन्त्री विष्टले नयाँ ढंगले श्रम सम्झौता गरी नेपाली श्रमिकको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कतार जाने नेपाली कामदारको न्यूनतम तलब नेपाल सरकारले १२ सय रियाल निर्धारण गरेको छ । तर कतार सरकारले तलब तोकेको छैन । कतारले ७ सय ५० रियाल भन्दा कमको करारपत्रमा प्रमाणीकरण गरेको छैन ।


मन्त्री विष्टले कामदारको सुरक्षाका लागि २४ घण्टाको बिमा सुविधा निकै आवश्यक रहेकोमा जोड दिए । ‘८ घण्टाको मात्रै बिमा सुविधा हुँदा नेपाली कामदार क्षतिपूर्ति लिनबाट वञ्चित भए,’ मन्त्रीले भने, ‘अबको श्रम सम्झौतामा २४ सै घण्टा बिमा सुविधा हुने व्यवस्था मिलाउन जरुरी छ ।’

कामदारको सामाजिक सुरक्षा, कामदारले पाउने सेवा, सुविधाको सुनिश्चितता, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयमा विष्टले चासो दिएका थिए ।


राजदुत हैलीले कामदारको शून्य लागतको विषयमा कतार सरकार सकारात्मक रहेको वताउँदै कामदारको सामाजिक सुरक्षाको विषय उपयुक्त रहेको बताए । ‘कतारमा घरेलु कामदारको अत्याधिक माग रहेकोले हाल रोक्का रहेको घरेलु कामदारको आपूर्तिलाई सहज गराउन आग्रह गर्दछु’, उनले मन्त्री समक्ष भने,‘कामदारको सुरक्षाको विषयमा कतार सरकारले जिम्मेवारीपूर्वक अघि बढाएको छ ।’


मन्त्री विष्टले कतारमा आवश्यक पर्ने जनशक्ति विकास गरी पठाउन नेपाल सरकार तयार रहेको बताए । कतारमा झन्डै चार लाख नेपाली कामदार कार्यरत छन् ।

प्रकाशित : आश्विन २, २०७५ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?