कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार चुक्दा संघीयता अलोकप्रिय बन्न पुग्यो : कांग्रेस

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोग निर्माणमा संघीय सरकारले गरेको ढिलाईले संघीयता अलोकप्रिय बन्न पुगेको निष्कर्ष निकालेको छ ।

सरकार चुक्दा संघीयता अलोकप्रिय बन्न पुग्यो : कांग्रेस

संविधान दिवसका सन्दर्भमा बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले वित्त आयोग नबन्दा कर निर्धारणको स्वछन्दता बढेको र त्यसले संघीयतालाई अलोकप्रिय बनाएको बताए ।


संविधान जारी भएपछि तीनै तहको निर्वाचन सम्पन्न भई प्रदेश सरकार बनेको सात महिना बित्दासमेत दुईटा बाहेक अन्य प्रदेशको नामकरण हुन नसकेको, प्रदेश राजधानीको टुंगो नलागेको, संघीय सरकार र प्रदेश सरकारबीच द्वन्द्व बढेकोजस्ता क्रियाकलापले संघीयता प्रभावकारी रुपमा कार्यन्वयनमा आउन नसकेको उनको भनाई छ । मधेसी जनताको भावनाअनुसार संविधान संशोधनको प्रकृया अघि नबढाईएको र संविधान कार्यन्वयनमा सरकारको इमानदारिता नेखिएको उनको आरोप छ ।


‘संविधान दिवस मनाईरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने, कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कही नभएको विचत्रको चित्र प्रस्तुत भइरहेको छ,’ पत्रकार सम्मेलनमा बाँडिएको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थिती बन्न बर्तमान सरकारको नेतृत्वकै असफलता हो भन्ने हाम्रो ठहर छ ।’


प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार शान्ति सुरक्षा कायम गर्ने दिशामा असफल भएको प्रवक्ता शर्माको भनाई छ । ‘यो सरकार बनेपछि बितेका सात महिनामा शान्ति सुरक्षाको स्थिति अत्यन्तै बिग्रीएर गएको छ र सरकार सबैभन्दा बढी असफल यो प्रकरणमा भएको छ,’ निर्मला बलत्कार र हत्या प्रकरणतिर संकेत गर्दै शर्माले भने, ‘दोषीलाई जोगाउन र निर्दोषलाई दोषी करार गर्न खोज्ने, न्याय माग्दा गोली चलाउने र अर्को बालक मारिने अवस्था सृजना भएको छ ।’


प्रकाशित : आश्विन ३, २०७५ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?