कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

इन्धन ढुवानी अवरोध गरे सम्झौता रद्द गर्ने चेतावनी

उक्साहटको भरमा अवरोध गर्न पाइँदैन, तत्काल कारवाही गर्छौं : निगम
गलत हल्लाको पछि नलाग : यातायात स्वतन्त्र मजदुर संगठन
राजु चौधरी

काठमाडौँ — आयल निगमले इन्धन ढुवानी अवरोध गर्ने ट्याङकरको ढुवानी सम्झैता रद्द गरी खारेज गर्ने चेतावनी दिएको छ । ट्याङकर चालकले उठाएका मागहरु प्रति निगम सकरात्मक रही तलब भत्ता, संचय कोष, ट्रिप भत्ता पुरा गर्ने सहमत भइसकेकाले कसैको उक्साहटमा नलाग्न चेतावनी दिएको हो । 

इन्धन ढुवानी अवरोध गरे सम्झौता रद्द गर्ने चेतावनी

‘ट्याङकर चालकको माग प्रति निगम सकरात्मक छ । पेट्रोलियम पदार्थको नियमित आपूर्ति सहज गर्ने सहमति भएको थियो । हाल ट्याङकर चालकहरुबाट पुन: आपूर्ति असहज गर्ने प्रयास गर्नु निकै दु:खद पक्ष हो,’ निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘निगम सम्बद्ध ढुवानीकर्ता तथा चालकलाई आफ्नो ट्याङकर पूर्णरुपले सञ्चालन गरी आपूर्ति सरल र सहज बनाउन सूचना गरेका छौं । अन्यथा निगमको विनियमावली अनुसार दायित्व पुरा नगरेको मानी ढुवानी सम्झौता रद्द गरी खारेज गर्छौं ।’


निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईका अनुसार केही व्यवसायीले आफ्नो स्वार्थ पूर्ति गर्नका लागि ट्याङकर चालकलाई प्रयोग गरेका छन् । ती व्यवसायीहरुले आफ्नो माग पुरा गराउनकै लागि ट्याङकरमा ढुंगा हानेको उनले बताए ।


‘माग पूर्ति गर्नकै लागि अन्य चालकले सिमरामा ढुंगा हानेर ट्याङकरको सिसा फुटाएका छन् । मंगलबार धादिङमा पनि ढुंगा हानेको जानकारी पाएका छौ,’ भट्टराईले भने, ‘सुरक्षाको ग्यारेन्टी निगमले दिन्छ । तर, विभिन्न बहानामा अत्यावश्यक सेवा बन्द गर्न पाइँदैन ।’ केही संस्थाले ढुंगा हानेपनि चालकले भने निगमसँग सहकार्य नगरेको उनले गुनासो गरे ।

‘ढुवानीको क्रममा केही अवरोध पुर्‍याएको छ भने निगमलाई जानकारी गराउनु पर्छ । स्कर्टीङ गरेर ल्याउन तयार छौं,’ उनले भने, ‘तर, चालकले निगमसँग कुनै सहकार्य गरेनन् । त्यसैले कडाई गर्न खोजेका छौं ।’ उनका अनुसार इन्धनको आपूर्ति व्यवस्थामा प्रतिकुल प्रभाव पर्ने गरी प्रोडक्ट डेलिभर अडर(पिडिओ) नलिने, भारतिय आयन निगम (आइओसी)मा लोड लिन नजाने, डिपोमा लोड लिएर नआउने, बिक्री वितरणमा सहयोग नगर्ने कार्य गरे कडा कारबाही गरिने बताए ।


‘उक्साहटको भरमा बन्द गर्न पाइँदैन । सूचना जारी गरेका छांै,’ उनले भने, ‘कडा कारवाही हुन्छ ।’ आफ्नो स्वार्थ पूरा गर्नका लागि उनीहरुले नेपाल स्वतन्त्र सवारी चालक संर्घष समिति समेत गठन गरेका छन् । संघर्ष समितिले आफ्नो आन्दोलनमा साथ दिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघलाई समेत पत्रचार गरेका छन् ।


‘सवारी तथा यातायात व्यवस्था ऐन २०५९ को ससोधित ऐन २०५४ मा सरकारले गरेको व्यवस्थाबाट हामी सवारी चालकहरु सवारी चलाउन नसक्ने गरी त्रसित अवस्थामा पुगेका छौं । सवारी चालकलाई अन्य अपराधीजस्तै जन्मकैदको सजाय सम्मको व्यवस्था गरिएको छ, कानुन संशोधनसहितका विभिन्न १३ बुँदे माग गरेका छौं,’ संघर्ष समितिका संयोजक बसन्त शर्माले महासंघलाई पठाएको पत्रमा भनिएको छ, ‘जुन सवारी चालकलाई मात्रै नभई यातायात व्यवसायीलाई समेत आवश्यक छ । संघर्षका कार्यक्रम सफल बनाउन महासंघको साथ र सहयोग चाहिएकाले सवारी साधान बन्द गरी सहयोग पुर्‍याइदिनु हुन अनुरोध छ ।’


विरोधस्वरुप चालक कमिटी सिमराले पनि कानुन विपरित पर्चा बाँडेको छ । चालकहरुको संघर्षको कार्यक्रमको यातायात स्वतन्त्र मजदुर संगठनले भने संघर्ष समितिको विरोध गरेको छ । ‘केही दिनदेखि गलत हल्ला प्रति संगठनको ध्यानकर्षण भएको छ । मुलुकी अपराध संहिता र सवारी तथा यातायात व्यवस्था ऐनका विषयलाई लिएर ऐनमा हँुदै नभएका विषयहरु उल्लेख गरी मजदुरहरु जेल जाने भए भन्दै मजदुरलाई उत्तेजित आतंकित बनाउँदै यातायात बन्द गर्न उक्साएको प्रति सजग र बन्दको हल्लापछि नलाग्न आग्रह गर्छौं,’ मजदुर संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित : आश्विन ३, २०७५ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?