कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राममनोहरको शव अस्पतालमै

नेपालगन्ज — प्रहरी हिरासतमा बिरामी भई उपचार क्रममा मृत्यु भएका भनिएका बाँके जानकी गाउँपालिका ६ कपासी गाउँका राममनोहर यादवको शव २४ दिनदेखि अस्पतालमा छ । परिवारले माग पूरा नभएको भन्दै शव बुझ्न मानेका छैनन् । उनीहरूले प्रहरी हिरासतमै यादवको मृत्यु भएको दाबी गरे ।

राममनोहरको शव अस्पतालमै

मृतक राममनोहरलाई सहिद घोषणा, घटनामा संलग्नमाथि कारबाही, उचित क्षतिपूर्ति र परिवारको पालनपोषण जिम्मा सरकारले लिनुपर्ने माग छ । ‘हाम्रो माग पूरा नभएसम्म शव बुझ्दैनौं । सरकारले शवलाई जे गरे पनि हुन्छ,’ मृतकका भाइ विष्णुले भने, ‘सरकारले घटनाको निष्पक्ष छानबिन गरी न्याय दिनुपर्छ ।’

हिरासतमा बिरामी परेका यादवलाई बर्दिया अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौं लगिएको थियो । उनको मृत्यु उपचारकै क्रममा अस्पतालमा भएको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टम गर्दा परिवारका सदस्यलाई उपस्थित नगराएको आरोप छ । ‘पोस्टमार्टम भएको खबरमात्र पायौँ । कसको रोहबरमा भयो थाहा छैन,’ विष्णुले भने, ‘सरकारले घटनाको सत्यता लुकाउन हामीबिना पोस्टमार्टम गर्‍यो ।’ उनले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

यादव गत भदौ ७ गते पार्टी बैठक छ भन्दै बर्दिया पुगेका थिए । त्यही साँझ प्रहरीले उनलाई पक्राउ गरेको थियो । राममनोहर पहिलेदेखि नै सीके राउत समूहमा आबद्ध रहेको परिवारले जनाएका छन् । यसअघि उनी बाँकेमा पनि पक्राउ परेका थिए । उच्च अदालतको आदेशमा उनी रिहा भएका थिए । भदौ ७ गते बर्दिया आएका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीविरुद्ध राजद्रोहको मुद्दा चलाइएको थियो । राममनोहरको मृत्युपछि परिवारमा आक्रोश छ । स्थानीयले जिल्ला प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । उनकी पत्नी सुनीताले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने बताइन् । उनी गाउँमा राम्रै अगुवाका रूपमा चिनिन्थे ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?