कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किर्तेको कथा

काठमाडौँ — भारतीय नागरिक रामनिरञ्जन जटियाको काठमाडौंमा कम्पनी थियो, शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालि । धेरैजसो विदेशतिरै रहने जटियाको काठमाडौंको घरमा १८ वर्षदेखि सहयोगीको काम गर्थे, जितबहादुर मगर ।

किर्तेको कथा

पुरानो कामदार भएकैले जटियाले उनलाई कामदारहरूको सुपरभाइजर बनाएका थिए । कम्पनीको नाममा काठमाडौं महानगरपालिका ४ बालुवाटारमा ३ रोपनी जग्गासहित घर थियो भने सतुंगल वडा नम्बर ९ मा १५ रोपनी, म्याग्दी र नुवाकोटमा पनि कम्पनीकै नाममा जग्गा थियो ।

केही महिनाअघि जटियाको घरबाट चाँदीका भाँडा र हीराको रिङ हराएपछि जितबहादुर शंकाको घेरामा परेका थिए । त्यसलगत्तै जटियाले उनलाई कामबाट निकालिदिएका थिए । कामबाट निस्के पनि कम्पनीको सबै चलअचल सम्पत्तिबारे थाहा पाएका जितले एक दिन जटियाको चुनदेवीस्थित घरबाट कम्पनीसम्बन्धी कागजातहरू चोरी गरे ।

मगरले चन्द्रागिरि बस्ने आफ्ना चिनाजानीका साथी नीरजकुमार मानन्धरलाई आफ्नो योजना सुनाए । नीरजले उक्त योजना राजनप्रसाद लम्साललाई सुनाए । राजनले भने सम्पत्ति पासको प्रक्रिया अगाडि बढाउन पुण्यप्रसाद खरेललाई कागजी प्रक्रिया अगाडि बढाउन लगाए । त्यसलगत्तै कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी कम्पनीका सञ्चालक एवं अध्यक्ष जटियाको नाममा रहेका सम्पूर्ण सेयर खरिद गरेको किर्ते कागजात तयार भयो । किर्ते कागजातकै भरमा उनले कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर कम्पनी र कम्पनीका नाममा रहेको ७० करोड रुपैयाँ बराबरको जग्गा आफ्ना नाममा नामसारी गरे ।

जितबहादुरले विदेशमा रहेको कम्पनीका अध्यक्षलाई थाहै नदिई किर्ते बैठक राखे, किर्ते माइन्युट तयार पारे र त्यसैका आधारमा उनले कम्पनीको ७५ प्रतिशत अर्थात् १८ हजार ७ सय ५० थान सेयर बिक्री गरेको, साधारणसभाको बैठकबाट आफू अध्यक्ष भएको कागजात तयार पारे । गत असार २६ गते सञ्चालक समितिको किर्ते बैठक गरेको र कम्पनीको २५ प्रतिशत अर्थात् ६ हजार २ सय ५० थान सेयर रामबहादुर मगरले किनेको र जटिया कम्पनीबाट राजीनामा दिएको कागजात तयार पारे ।

किर्ते कागजातका आधारमा गत असार २९ र ३२ गते कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी जितबहादुर मगरको नाममा बनाइदियो ।आफ्नो नाममा कम्पनीको सबै स्वामित्व हात पारेपछि जितबहादुरले बालुवाटारको १४ आना १ पैसा ३ दाम जग्गा प्रतिआना २१ लाख २५ हजारको दरले राजभाइ श्रेष्ठलाई बेच्ने प्रक्रिया अगाडि बढाए र उनीबाट १ करोड बैना पनि लिए । त्यस्तै सतुंगलको १५ रोपनी जग्गा चितवन भरतपुर ४ का प्रेमसागर सापकोटालाई बेच्ने प्रक्रिया अगाडि बढाए र उनीबाट २ करोड बैना रकम बुझे ।

प्रकाशित : आश्विन ५, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?