कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारिवारिक कलहले शिशुको मुखमा एसिड

अछाम — तुर्माखाद गाउँपालिका ४, चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छयापिएको घटना पारिवारिक कलहकै कारण भएको खुलेको छ । उनकी २१ वर्षीय काकी जानकी बयकले प्रहरीसमक्ष पारिवारिक कलहकै कारण आफैंले एसिड छयापेको स्विकारेकी छन् ।

पारिवारिक कलहले शिशुको मुखमा एसिड

मृतककी आमा र जानकी घरका जेठानी–देवरानी हुन् भने माइतीघरका सहोदर दिदीबहिनी पनि हुन् । मुस्कानका बुवा महावीरले दिदीबहिनीबीच बेलाबेला झगडा पर्ने गरेको बताए । ‘मेरो छोरा गर्भमा हुँदा जानकीले छोरा जन्मिए ज्युँदो नराख्ने धम्की दिएकी थिइन्,’ उनले भने, ‘मेरो श्रीमतीले उनलाई २ सय ५० रुपैयाँ तिर्नुपर्ने थियो ।

पैसा तिर्न अलि ढिलो भएपछि उनले भदौ २९ गते झगडा गरेकी थिइन् । त्यसै दिन अबको २ दिनपछि तलाईं देखाइदिन्छु भनेकी थिइन् । नभन्दै २ गते छोरामाथि यस्तो घटना भयो ।’ प्रहरीसँगको बयानमा जानकीले भनेकी छन्, ‘बच्चा रुन थालेपछि पानी हो भनेर २ थोपा खुवाएकी हुँ ।’

बयानका क्रममा दिदीबहिनीको झगडा भइराख्ने र २९ गते पनि लेनदेन विषयमा भनाभन भएको स्विकारेको प्रहरीले जनाएको छ । विवाह नहुँदा माइतीमा पनि अलग–अलग बसेका उनीहरू जेठानी–देउरानी हँुदासमेत बोलचाल भएन । महावीरका अनुसार जानकी र भाइको भागी बिहे भएको थियो ।

जानकी अहिले १ वर्षीय छोरासहित जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा छिन् । माइती पक्ष भने अहिलेसम्म कुनै पनि छोरीको पक्षमा नबोलेको महावीरले बताए ।

घरमा सुताइराखेको अवस्थामा मंगलबार बिहान ११ बजेतिर एसिड जस्तै ‘कोरोसिभ केमिकल’ शिशुको अनुहारमा फयाँकिएको थियो । अवस्था जटिल बनेपछि थप उपचारका लागि लैजाने क्रममा मंगलबार साँझ सुर्खेतमा मुस्कानको मृत्यु भएको थियो ।

प्रहरी टोलीले जानकीलाई बुधबार उनकै घरबाट पक्राउ गरेको थियो । ‘प्रारम्भिक अनुसन्धानबाट उनले एसिड प्रहार गरेको पाइयो,’ जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीले भने । घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत अछामले बिहीबार ७ दिनको म्याद थप गरेको छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?