कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३० वर्ष बाटो नखन्ने सहमति

लेखनाथ — अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गमा आगामी ३० वर्ष मोटरबाटो नखन्ने सहमति भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) पोखरा च्याप्टर र स्थानीयबीच बुधबार यस्तो सहमति भएको हो ।

३० वर्ष बाटो नखन्ने सहमति

गत वर्ष अन्नपूर्ण गाउँपालिका–१० को छोम्रोङ पर्यटन व्यवसायी समिति र स्थानीयले पदयात्रा मार्गको झिनुडाँडामाथि मोटरबाटो नखन्ने सर्वसम्मत निर्णय गरेका थिए । बुधबारको सहमतिपछि उक्त निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ । हाल नयाँपुलबाट वीरेठाँटी हुँदै घान्द्रुक र सामरोङसम्म कच्ची मोटरबाटो पुगिसकेको छ । बाटो पुगेपछि १० दिनको पदयात्रा मार्ग ६ दिनमा घटेको छ ।

सामरोङमाथि झिनुडाँडा र छोम्रोङसम्म पर्यटकस्तरका होटल र स्थानीयको बसोबास छ । त्यसउता
सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटल छन् । ती ठाउँमा खाद्यान्नलगायत आवश्यकीय वस्तु ढुवानी गर्न खच्चड र भरियाको प्रयोग हुँदै आएको छ ।

गाउँपालिका अध्यक्ष युवराज कुँवर पदयात्रा मार्ग बचाउन स्थानीयको पहल स्वागतयोग्य भएको बताउँछन् । ‘आफूले दु:ख कस्ट खेपेर पनि पदयात्रा मार्ग बचाउने सर्वसम्मत निर्णय गर्नु सराहनीय काम हो,’ उनी भन्छन्, ‘यसले त्यस क्षेत्रको पर्यटनमा दीर्घकालीन फाइदा पुग्छ ।’ पदयात्रा बचाउन गाउँपालिकाले चालु वर्षमा बजेट विनियोजन गरेको उनले सुनाए । उनले मोटरबाटो पुगेका ठाउँमा वैकल्पिक पदयात्रा मार्ग निर्माण गर्ने, भएकाको स्तरोन्नति गर्ने काम भइरहेको उल्लेख गरे । उनले
भने, ‘नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी पदयात्रा मार्ग विकास गर्न हामी लागिपरेका छौं ।’

टान पोखरा अध्यक्ष हरि भुजेल उक्त निर्णयविपरीत काम भए संयुक्त रूपमा प्रतिकार गरी पदयात्रा मार्गलाई मोटर बाटोको अतिक्रमणबाट जोगाउने बताउँछन् । ‘अहिले जताततै बाटो खन्ने क्रम बढ्दा पदयात्रा मार्ग ध्वस्त छन्,’ उनी भन्छन्, ‘स्थानीयसँगको सहकार्यले पदयात्रा मार्ग जोगाउन सकिन्छ ।’ छोम्रोङवासीको निर्णयले पर्यटन व्यवसायी, आन्तरिक पर्यटक र अन्य सरोकारवालालाई खुसी दिलाएको उनले जनाए ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समिति संयोजक ललित गुरुङ स्थानीयलाई खाद्यान्न, सरसामान ढुवानी गर्न मोटर बाटोको अभाव खड्किए पनि पर्यटकीय क्षेत्रलाई जोगाउन एकमत भएको बताउँछन् । ‘मोटरबाटो आउँदा हामीलाई सजिलो हुन्थ्यो,’ उनी भन्छन्, ‘तर बाटो खनेपछि पर्यटक आएनन् भने मर्का पर्ने पनि हामीलाई नै हो ।’


गाउँपालिका र टानबीच बुधबार घान्द्रुकबाट तीन दिन पैदलयात्रा दूरीको पोडे ताल (हिडन लेक) को प्रवद्र्धन गर्ने सहमतिसमेत भएको छ । अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गमा रहेका १५ बाँसका फड्के विस्थापित गर्न वर्षमा दुई पक्की पुल गाउँपालिकाले बनाउने कार्यक्रम छ । मर्दी हिमाल ट्रेक र अन्नपूर्ण आधार शिविर पदयात्रा मार्ग जोड्ने फरेस्ट क्याम्पदेखि लान्दु्रकसम्मको पदयात्रा मार्ग मर्मत गर्न गाउँपालिकाले गत वर्ष तीन लाख रुपैयाँ खर्च गरेको थियो ।

यस वर्ष पनि ८ लाख रुपैयाँ विनियोजन भएको छ । हालैमात्र टाढापानी क्षेत्रमा मजदुरसँग खानाबापत रकम एकमुष्ठ कुपन प्रणालीबाट उठाइने कार्य स्थगित गर्नेसमेत गाउँपालिका, टान र स्थानीय व्यवसायीबीच सहमति भएको छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?