कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाभारतमा बढ्दै विनाश

डीआर पन्त

काठमाडौँ — महाभारतको सबैभन्दा उचाइको डोटी डडेलधुरा सिमानाको घण्टेश्वर लेकमा मोटर पुर्‍याउने सडकको मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरे । भीमदत्त राजमार्गको हगुल्टेबाट सुरु हुने यो सडकका लागि डडेलधुराको गन्यापधुरा र डोटीको जोरायल गाउँपालिकाले बजेट छुट्याएका छन् ।

महाभारतमा बढ्दै विनाश

मानव बस्ती नभएको यो क्षेत्रको संरक्षित वन विनाश हुने गरी हेभी इक्युपमेन्ट प्रयोग गरिएको छ । यस इलाकामा यस्ता दर्जनौं सडक निर्माणाधीन छन् । भागेश्वर गाउँपालिकाको जालीछिंडाबाट खन्न सुरु भएको अर्को सडकलाई गाउँपालिकाले यस वर्ष पनि २० लाखभन्दा बजेट बढी विनियोजन गरेको छ ।

डडेलधुरा, डोटी र बैतडीमा पर्ने महाभारत क्षेत्रका संरक्षित वन क्षेत्रमा अहिले बिनाअध्ययन सडक बनिरहेका छन् । ९५ हजार हेक्टर क्षेत्रफलमा फैलिएको महाभारत वन क्षेत्रको संरक्षणका लागि सरकारले १० वर्षे कार्ययोजना बनाएको ७ वर्ष बितेको छ । तर, संरक्षणमा संलग्नहरू महाभारत संरक्षित वन क्षेत्र अतिक्रमण र फडानीका कारण समाप्त हुने खतरा बढेको बताउँछन् । सडक निर्माण गर्ने निहुँमा दुर्लभ जडीबुटी, हिमपात हुने उच्च भूभागमा पाइने दुर्लभ लौठसल्ला र महाभारतको तल्लो भेगमा रहेका सल्लाका घना जंगल पँmडानी गर्ने उद्देश्यले वन क्षेत्र चलाउन थालिएको उनीहरूको भनाइ छ ।

‘राजनीतिक संरक्षण र वनकर्मीको समेत संलग्नतामा अधिकांश वन क्षेत्र अतिक्रमण भइसकेको छ,’ भागेश्वर २ का रामदत्त भट्टले भने, ‘कार्ययोजना बनेपछिका ७ वर्षमा जडीबुटी तस्करी, सल्लाका जंगल पँmडानी र अतिक्रमण व्यापक भएको छ ।’ चुरेमा वन पँmडानी कम भएपछि वनकर्मी र तस्करले महाभारत क्षेत्रलाई आफ्नो कमाइ गर्ने थलो बनाएको पनि उनले बताए । महाभारत संरक्षित वन क्षेत्रमा रहेका मानवबस्ती हटाउनुभन्दा राजनीतिक संरक्षणमा वनकर्मीको मिलेमतो भइरहेको उनको आरोप छ ।

डडेलधुरामा मात्रै जिल्ला वनको आदेशमा दुर्लभ एक दर्जनभन्दा बढी सल्लाका जंगल पँmडानी भइसकेका छन् । पश्चिममा महाकाली नदीदेखि सुरु हुने महाभारत संरक्षित वन क्षेत्रको अधिकांश भूभाग डडेलधुरामा पर्छ । भागेश्वर, आलिताल गाउँपालिका, अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिका क्षेत्रमा पर्ने महाभारतका सल्लाका घना जंगल पँmडानी भइसकेका छन् । वन कार्यालयको तथ्यांकअनुसार दुई वर्षमा महाभारत वन क्षेत्रका जंगलबाट डेढ लाख क्युबिक फिट सल्लाको काठ बिक्री गरिएको छ ।

गन्यापधुरा गाउँपालिकाले दुर्लभ वन्यजन्तु र लौठसल्ला भएको गन्यापधुरा महाभारतको उच्च भूभागमा धमाधम सडक निर्माण थालेको छ । गत आवको विकास बजेटको ठूलो हिस्सा गाउँपालिकाले महाभारत संरक्षित क्षेत्रमा सडक निर्माणका लागि छुट्याएको छ । स्थानीयको विरोध हुँदाहुँदै पनि गन्यापधुरा क्षेत्रमा जबर्जस्ती सडक बनाउनुका पछाडि लौठसल्ला पँmडानी गर्ने उद्देश्य रहेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । महाभारतको संरक्षित वन क्षेत्रमा सडक निर्माण नगर्न केन्द्रस्थित वन तथा भूसंरक्षण विभागले पत्राचार गरे पनि स्थानीय तहले ठाडै अस्वीकार गरे ।

खानेपानीको मुख्य स्रोत रहेको महाभारत क्षेत्रमा स्थानीय तहले जथाभावी सडक निर्माण र वन पँmडानीले पानीका मूल सुक्दै गएका छन् । यस क्षेत्रका पानीको स्रोत सुक्न थालेपछि स्थानीयले वन पँmडानीको विरोध गरे पनि सामुदायिक वन, आवादी र पछिल्लो समय कबुलियती वनका नाममा जंगल समाप्त हुन थालेको छ । आवादी र सामुदायिक वनका नाममा सल्लाका जंगल पँmडानी भइरहेका छन् भने कबुलियतीका नाममा दुर्लभ जडीबुटी तस्करी हुन्छ ।

बजेट दुरुपयोग
महाभारत वन संरक्षणका लागि हरेक वर्ष वन विभागले छुट्याउने गरेको करोडौं बजेट दुरुपयोग भइरहेको छ । महाभारत संरक्षणका लागि सरकारले कार्ययोजना बनाएपछि लगातार ७ वर्षदेखि खर्च भइरहेको करोडौं बजेटबारे जिल्ला वनसमेत अनभिज्ञ छ । ‘मलाई धेरै जानकारी छैन,’ डडेलधुराका डीएफओ इन्द्रमणि भण्डारीले भने, ‘महाभारत वन संरक्षणसम्बन्धी बनेको महाभारत संरक्षित वन परिषद्लाई जानकारी होला ।’ महाभारत संरक्षित वन परिषदका पदाधिकारीलाई समेत आफूले नचिनेको बताए तर महाभारत संरक्षणका लागि आउने बजेट जिल्ला वनमार्फत नै आउँछ ।

प्रकाशित : आश्विन ६, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?