कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बग्दादको व्यथा

राम्रो काम पाइने भन्दै झुक्याएर बग्दाद पुर्‍याइएका महिला घरायसी काम गर्न बाध्य भए । रातदिन गरेर ६ वटा परिवारको काम गर्नुपथ्र्यो । कुटपिट र यातना त सामान्य भइसकेको थियो ।
विद्या राई

काठमाडौँ — इराकको राजधानी बग्दादमा चरम यातना खेप्दै आएका तीन नेपाली महिलाको सकुशल उद्धार भएको छ । सिन्धुपाल्चोक र सिन्धुलीका उनीहरूलाई दलालले किर्गिस्तान र दुबई पठाउने भनी झुक्याएर बग्दाद पुर्‍याएका थिए ।

बग्दादको व्यथा

यसरी पुगे इराक
सिन्धुपाल्चोक, सताङकी रञ्जना (परिवर्तित नाम) को १७ वर्षमा विवाह भयो । छोरी जन्मिइन् । पति काठमाडौंमा सुरक्षा गार्डको काम गर्थे । पतिको कमाइले घर–व्यवहार धान्न कठिन भएपछि हातमा कुनै सीप नभए पनि उनले विदेश जाने सपना बुनिन् ।

पतिसँग सल्लाहपछि गाउँकै चिनेजानेको व्यक्तिले किर्गिस्तान जाने भए आफूले सहयोग गर्ने बतायो । घरायसी सामान्य काम, राम्रो सेवा–सुविधा र हरेक साता आफन्तसँग भेटघाट गर्न पाउने लोभ देखाएपछि रञ्जना राजी भइन् । खर्च र कमाइको खास रकम भने दलाले पतिलाई मात्र भने । पतिकै सल्लाहमा जान लागेकाले रञ्जनाले अन्य कुरामा धेरै चासो पनि राखिनन् ।

डेढ वर्षकी छोरीलाई पतिको जिम्मा लगाएर उनी काठमाडौं आइपुगिन् । जोरपाटीबाट गाडी चढेपछि उनको विदेश यात्रा सुरु भयो । भारतको बाटो हुँदै सात समुद्रपारि पुगिन् । किर्गिस्तान जान हिँडेको मान्छे बग्दाद पुगेपछि बल्ल उनले आफ्नै गाउँको दलालले झुक्याएको थाहा पाइन् ।सिन्धुपाल्चोक बाह्रबिसेकी २० वर्षीया साइँली (नाम परिवर्तन) को पीडा पनि रञ्जनाको जस्तै छ । भूकम्पले उठिबास भएपछि काठमाडौं आएर गलैंचा बुन्ने काम गरिरहेकी उनलाई पनि छिमेकीले नै विदेश पुर्‍याउने सपना देखाए । ७० हजार खर्च लाग्ने भयो । उनले सानीआमाको कानमा लगाएको सुन फुकालेर दलाल नुर्बु तामाङलाई थमाइन् । नुर्बुले किर्गिस्तान पठाउने भने पनि भारत हुँदै बग्दाद नै पुर्‍यायो ।

सिन्धुलीकी २४ वर्षीया रचना एसएलसी पास गरेर ज्यामी काम गर्न काठमाडौं आइपुगेकी थिइन् । दलाल सूर्य लामाले आफ्नी पत्नी दक्षिण अफ्रिकामा रहेको र मासिक ४०/५० हजार कमाइ हुने भन्दै त्यहीं पठाइदिने बताए । उनलाई पनि ज्यामी कामभन्दा विदेशै बेस लाग्यो । २०७४ को फागुनमा दिल्ली पुगेर केही दिन बसेपछि उनलाई सबै कुरा ठीक भइरहेजस्तो लागेन । आफूहरू बेचिएको जस्तो लागेपछि उनले नेपाल फर्किने बताइन् । तर, दलालले आफ्नो ४–५ लाख खर्च भइसकेको भन्दै फर्किने भए त्यो पैसा तिर्न भन्यो । त्यत्रो रकम तिर्न सक्ने अवस्था थिएन । उनी विदेश जान बाध्य भइन् । दलालले दुबई लाने भन्यो तर पुर्‍यायो बग्दाद । यसरी रञ्जना, साइँली र रचनाको बग्दादमा भेट भयो ।

यातनाको सिकार
भारत पुगेपछि नै साइँलीलाई लैजाने दलाल सम्पर्कविहीन भयो । इराक पुगेको एक महिनापछि बुबा बितेको खबर आयो तर मालिकले फर्किन दिएन । दलालले कार्यालयमा काम पाउने, मासिक तलब पाँच सय डलर हुने बताएको थियो । तर, उता पुगेपछि कथा बेग्लै भयो । ‘म त कोठामा बन्दजस्तै थिएँ । भनेजस्तो तलब दिएनन् । दु:ख र यातनाको कुरा त भनिसाध्य छैन,’ उनले भनिन् । उनलाई घरेलु काममा लगाइयो । एक दिनमा दुइटा घरको काम गर्नुपथ्र्यो । तलब पाँच सय डलर भनिए पनि उनले तीन सय डलर मात्र पाइन् । उनले आफ्नो दु:ख नेपाली साथीहरूलाई सुनाइन् । यसबारे थाहा पाएपछि मालिकले मोबाइल चलाउन बन्द गराए । कुटपिट पनि सुरु भयो ।

रञ्जनाले पनि घरकोठा पुछ्ने, भाडा माँझ्नेजस्ता काम गर्नुपर्ने भयो । मालिककी पत्नीले अनेक आरोप लगाएर कुटपिट गर्थिन् । यातना असह्य भए पनि दुई वर्षमा फर्किने सहमति भएकाले उनले सहिन् । तर, तीन वर्षका लागि किनेर ल्याएको भन्दै उनलाई फर्किन दिएनन् । त्यतिबेला मात्रै उनले आफू बेचिएको
थाहा पाइन् ।

यता गाउँमा भएको एउटा झगडामा पतिको मृत्यु भयो तर उनी फर्किन पाइनन् । नेपालबाट पठाउने दलाल सम्पर्कविहीन थिए । मालिकले परिवारसँग सम्पर्क गर्न दिँदैनथे । तलब मासिक ३५ हजार रुपैयाँ पाउँथिन् । तलबभन्दा धेरै पीडा र यातना पाउँथिन् । चार वर्षपछि त्यहाँकै दलालले उनलाई अर्को घरमा बेच्यो । त्यहाँ पनि यातना उत्तिकै थियो ।

उता वेटरको काम गर्ने भनेर लगिएकी रचनालाई पनि घरायसी काममै लगाइयो । रातदिन गरेर छवटा परिवारको काम गर्नुपथ्र्यो । कुटपिट र यातना त सामान्य भइसकेको थियो । बिरामी हुँदा पनि आराम गर्न पाउनुको साटो तातो तेल खन्याएर जिउमा डाम्नेसम्मको सजाय भोग्नुपर्‍यो । मालिकले १० वर्षका लागि १३ लाख नेपाली रुपैयाँमा किनेर ल्याएको भन्थे । फर्किने भए त्यो पैसा तिर्नुपर्ने सर्त थियो ।

यसरी भयो उद्धार
तीनैजनाले अन्य नेपालीसँग आफ्ना समस्याबारे कुराकानी गरिरहेका थिए । लामो प्रयासपछि सिन्धुपाल्चोकमा रहेर सामाजिक काम गरिरहेको ‘वर्क फर नेपाल’ को सक्रियतामा उनीहरूको छुट्टाछुट्टै उद्धार भयो । रञ्जना घरका सबैजना विवाह भोजमा गएका बेला भागेकी थिइन् । बुर्का लगाएर घरबाट निस्किएकी उनी अन्य नेपालीको शरणमा पुगिन् । त्यसको एक सातापछि गत असारमा नेपाल आइपुगिन् । विमानस्थलमा भव्य स्वागत पनि भयो तर जीवनसाथीले सधैंका लागि छोडेर गइसकेका थिए । उनी अहिले सात वर्षकी छोरीसँग भक्तपुरमा बस्छिन् । अस्ताउन लागेको घामजस्तै उमेरकी सासू सिन्धुपाल्चोकमा छिन् । विगतले उनलाई झस्काउन छाडेको छैन ।

केही महिनाअघि नेपाल फर्कन सफल भएकी साइँली अहिले बौद्धमा गलैंचा बुन्ने काममै फर्केकी छन् । उनी भन्छिन्, ‘छोरीचेलीले विदेश नजानु, जानैपर्ने भए सबै कुरा बुझेर मात्रै जानु ।’ रित्तो हात फर्किएकी रचनाले नेपाल फर्किर भने एउटा उपलब्धि पाइन् । दलालविरुद्ध उजुरी गरिन् । दलाललाई २० वर्षको जेल सजाय तोकिएको छ । यातना र ऋणले थिचिएको मन केही हलुका भए पनि विगतले झस्काइरहन्छ ।

प्रकाशित : आश्विन ६, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?