कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थारू संस्कृति जोगाउनै मुस्किल

पश्चिमी तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने आदिवासी थारू समुदायको आफ्नै मौलिक परम्परा छन् । पछिल्लो समय यो समुदायका ऐतिहासिक र पौराणिक परम्परा र संस्कृति लोप हुने अवस्थामा पुगेका छन् ।

बाँके, दाङ, बर्दिया — बाँकेको कोहलपुर नगरपालिका ६, रझेनामा यस वर्ष हरेरी पूजाका दिन बल्लतल्ल परम्परागत हुरडुंगा नाच भयो । हरेरीलाई दसैं आगमनको पहिलो दिन मानिएकाले पूजापछि नाच गर्नैपर्छ । भदौको दोस्रो सातातिर धान, मकैले खेत हरिया हुन्छन् । त्यही मौका छोपेर यो पूजा गरिन्छ ।

थारू संस्कृति जोगाउनै मुस्किल

गुरुवाले दिउँसो पूजा गरेपछि साँझ नाचगान गर्ने परम्परा छ । ‘५/६ वर्षअघिसम्म हरेरी पूजाको अवसरमा रातभरि नाच चल्थ्यो ।

पछिल्लो समय जुगाड गरेर परम्परा पूरा गरिन्छ,’ हुरडुंगा नाचको अगुवाइ गर्दै आएका रझेनाका रामसिंह चौधरीले भने, ‘यस वर्ष पाँच/सातजना मिलेर नाच्यौं । यही अवस्था रहने हो भने केही वर्षमा संस्कार हराएर जान्छ ।’

पश्चिम तराईका थारू गाउँमा पहिले एक महिनाअगावै दसैंको रौनक सुरु हुन्थ्यो । हरेक एक दिन बिराएर राति नाच हुन्थ्यो । यो क्रम दीपावलीको अन्तिमसम्म रहन्थ्यो । पछिल्लो समय थारू संस्कृति बूढापाकाको जिम्मामा छ । युवामा आकर्षण नभएपछि संस्कृति धरापमा परेको छ । युवा पुस्ता आधुनिक गीतमा नाच्छन् । कतिपय गीत र नाच लोप भइसके ।

हरेक महिना, मौसम र सिजनअनुसार थारू समुदायमा गीत र नाच गरिन्छ । ‘थारू संस्कृति जोगाउनुपर्छ भन्छन् तर व्यवहारमा छैन । युवाहरू हिन्दी र नेपाली गीतमै नाच्छन्,’ रामसिंहले भने, ‘संस्कृति जोगाउनै धौ भइसक्यो ।’

समुदायमा प्रचलित झर्रा नाच इतिहासमा सीमित बनिसकेको छ । बिहेवारीमा गाइने माँगर, रोपाइँका बेला गाइने गीत, चैत–वैशाखमा गाइने सजना, दसैंमा गाइने दिन नच्वा, बिहेग्रा, महिरावणलगायत सयौं गीत सुन्न छाडिएको छ । ‘पुराना पुस्ताले नयाँमा हस्तान्तरण गर्न सकेनन् । नयाँले लिन चाहेनन्,’ रझेनाकै सोहन चौधरीले भने, ‘समयमै थारू संस्कृतिको संरक्षण गर्न नसक्ने हो भने हराएर जानेछ ।’ उनका अनुसार पश्चिम तराई थारू संस्कृतिको खानी मानिन्छ । त्यसैले चाडपर्वका बेला भए पनि ती गाउँमा परम्परागत गीत गुन्जिन्छन् । चाडपर्व अगावै गाउँमा रौनक र खुसीको माहोल छाउनु उक्त समुदायको अर्को विशेषता हो ।

राजधानीमै चिन्ता
दाङको पश्चिम सुकौराकोटमा थारू राजा दंगीशरणले शासन गरेको इतिहास पाइन्छ । आफ्नै इतिहास र संस्कृति रहेको समुदायलाई यहाँ आदिवासी मानिन्छ ।

उनीहरूको वेशभूषा र गरगहनाले बेग्लै पहिचान दिन्छ । तर, अहिले संस्कृति हराउँदै छ । चाडपर्व, पूजापाठ र नाचगानको मौलिकता हराउन थालेको छ । माघीलाई नयाँ वर्षका रूपमा मनाइन्छ । माघीका बेला गाउँका अगुवा चुन्ने, नयाँ नीति नियम बनाउने र नाचगान गरिन्छ ।

माघीकै दिन नयाँ काम सुरु गर्ने चलन छ । तर, अहिले यस चलनले निरन्तरता पाएको छैन । अष्टिमकी, अटवारीलगायत अन्य पर्व पनि महत्त्वका साथ मनाइन्छ । दसैंतिहार यिनीहरूका लागि महत्त्वका पर्व होइनन् । अहिले अन्य समुदायको देखासिकी गर्दै टीका, माला लगाउने गरिन्छ ।

यो जातिले होलीलाई आगो फेर्ने चलनका रूपमा मनाउने गर्छ । होलिका दहन गर्ने र त्यही आगो घरमा लगेर बाल्ने चलन छ । वर्षभरि उक्त आगो निभाउन नहुने र अर्को वर्ष होलीका दिन नयाँ आगो फेर्ने समुदायको संस्कृति हो । अहिले यसरी मनाएको देखिँदैन । सीमित गाउँमा मात्रै संस्कृति बचाउन यसरी मनाएको देखिन्छ । अधिकांशले रंग खेलेर मनाइरहेका हुन्छन् ।

पोसाक र गहना लोप
थारू महिलाले लगाउने ढुंग्रीमाला, चुरिया, मुन्द्री, मंग्या, मालाजस्ता गहना अहिले भेट्टाउन मुस्किल छ । नयाँ पुस्तालाई त नामसमेत थाहा छैन । पुरुषले लगाउने भेग्वा, फेटा, काठका खराजस्ता कपडा र सामान पनि हराइसके । थारू जातिको पहिचान दिने पुराना कपडा, गहना, दैनिक उपभोग्य सामान र भाषा नयाँ पुस्ताका लागि आकर्षक बन्न नसकेको थारू कल्याणकारिणी सभाका सभापति भुवन चौधरीले बताए । ‘नयाँ पुस्ता अन्य समुदायसँग घुलमिल भएर संस्कार सिकिरहेको छ,’ उनले भने, ‘औपचारिक कार्यक्रम, मेलापर्व र महोत्सवमा भेषभूषा लगाउने चलन आयो ।’ यसले संस्कृति बचाउन कठिन भएको उनले बताए ।

पुराना गहना र कपडा गहु्रँगा भएकाले नयाँ पुस्ताले त्यसलाई छाडेको अगुवाको भनाइ छ । दैनिक जीवनमा प्रयोग नभएपछि अहिले संरक्षणका लागि संकलन गर्ने र मेला महोत्सवमा प्रदर्शन गर्ने अवस्था आएको थारू गीत र नाचका जानकार घोराही उपमहानगरपालिका १०, नारायणपुरका चन्द्रप्रकाश चौधरीले बताए ।

बडा नाच छैन
चन्द्रप्रकाशका अनुसार ‘बडा नाच’ थारू समुदायको सबैभन्दा महत्त्वपूर्ण नाच हो । देवीदेवताको पूजाआजा गरी नाचिने भएकाले यसलाई धार्मिक मान्यतासँग जोडेर हेरिन्छ । महाभारतको कथामा आधारित यो नाच नयाँ पुस्तालाई आत्मसात् गर्न कठिन भइरहेको उनले बताए । ‘बडा नाच सबैभन्दा ठूलो र कठिन नाच हो,’ उनले भने, ‘यो नाचले उब्जनी राम्रो हुने र बिमार सन्चो हुने विश्वास छ । देउताको पूजा गरेर नाचिने भएकाले युवापुस्ता नाच्नै डराउँछन् ।’ यसलाई बर्कीमार (महाभारत) गीतमा आधारित नाच भनिन्छ ।

बर्की भनेको ठूलो र मार भनेको लडाइँ हो । महाभारतलाई थारू अगुवाले आफ्नै भाषामा रूपान्तरण गरेर सुनाउँदै आएको गीति कथा नै बर्कीमार हो । विभिन्न अर्ति उपदेश र सन्देश भएको बर्कीमारलाई थारू जातिले दसैंको टीकाको दिन थारू गाउँको अगुवा अर्थात् महतवाबाट टीका थाप्दा र धान बाली भित्र्याउँदा लय हालेर गाउने चलन छ ।

पहिले संयुक्त परिवार हुने भएकाले बर्कीमारका हरफ गाएर परिवारमा सौहार्दता कायम गर्ने गरेको उनको बुझाइ छ । ‘अहिले त संवेदना मरिरहेको छ, एकल परिवार हुन थाले । बूढापाकाबाट अर्ती, उपदेश र संस्कार सुन्ने, सिक्ने चलन हरायो,’ चौधरीले भने, ‘यसले हामीलाई निकै दु:खी बनाएको छ ।

थारू समुदायलाई नैतिकवान बनाउन पनि यो नाच र गीतको महत्त्व छ ।’ गीत गाउने थारू अगुवा, महतवा र गुरुवाहरू हुन्छन् । नाच नाच्ने बेला भूतप्रेतले आक्रमण गर्ने डरले एकजना गुरुवा नाचको वरिपरि झारफुक गर्दै हिँडिरहेका हुन्छन् । १२ अध्यायमा गाइने बर्कीमारमा कर्तव्यच्यूत भएर बाँच्न नहुने, चुनौती सामना गर्न सधैं तयार हुनुपर्ने, अन्याय सहेर बस्न नहुने, महिलाले अस्तित्व रक्षाका संघर्ष गर्नुपर्नेजस्ता विषय समेटिएको बर्कीमारका गायक घोराही ७, सिसहनियाका बेझलाल चौधरीले बताए ।

घट्दै सखिया
समुदायमा प्रचलित सखिया नाचको रौनक पनि घट्दै गएको छ । पहिले दसैं र तिहारमा जिल्लाभर यसको रौनक हुन्थ्यो । अहिले बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउ‘पालिकाका केही बस्तीमा सीमित भएको छ । परम्परादेखि चलिआएको नाच केही क्षेत्रमा सीमित भएकामा थारू बुद्धिजीवी चिन्तित छन् । कृष्ण जन्माष्टमीको दिनदेखि यो नाच सुरु हुन्थ्यो । बारबर्दिया ४ का फूलपाती थारूका अनुसार मुलुकमा द्वन्द्वकालअघि यसको रौनक धेरै भएकामा विस्तारै लोप हुन थालेको छ । ‘दंगाहा (दाङबाट आएका) थारूले बढी नाच्ने यसमा कृष्ण लीलाका गीत गाइन्छ,’ उनले भने, ‘जन्माष्टमीमा हरेरी पूजा गरेर सुरु हुने नाच लगातार दसंैको टीका वा पूर्णिमासम्म नाचिन्छ ।’

केटा–केटी मिलेर नाचिन्छ । यसमा दुष्टात्माबाट बचाउन एकजना गुरुवाको व्यवस्था गरिएको हुन्छ । गाउँका बडघरिया र भद्र भलादमी संरक्षक हुन्छन् । गीत सिकाउने एकजना मुख्य गुरु जसलाई थारू भाषामा मोहिन्याको व्यवस्था पनि गरिएको हुन्छ । नाच्ने सहभागीमध्ये केटीमा दुईजना पछगोहिया र अन्य सहयोगी संगीको व्यवस्था हुन्छ भने केटामा मादलेमध्ये एकजना अगुवा मदरिया र अर्को एकजना पछुवा मदरियाको व्यवस्था हुने थारू बुद्धिजीवी देवमान चौधरीले बताए ।

कानुन व्यवसायी रमेश चौधरी बदलिँदो परिस्थिति, सहरमुखी हुनु, विधिविधान नयाँ पुर्खालाई हस्तान्तरण नगर्दा यस नाचको महत्त्व घट्दै गएको बताउँछन् । यसको सुरुको दिन फर्सीको पात हातमा लिएर नाचिन्छ, दोस्रो दिनदेखि करिब १५ दिनसम्म सनपातको फुर्का बनाई हातमा लिएर र त्यसपछि साना खाले मजिरा बजाउँदै नाच्ने गरिन्छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?