कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पश्चिम सेती जलविद्युत् आयोजना न बन्यो, न त सम्पत्ति जोगियो

मोहन शाही

लामीखाल डोटी — बर्सेनि पश्चिम सेती आयोजनाबारे चर्को छलफल हुने गरेका छन् । हरेक चुनावमा यो चुनावी मुद्दा बन्ने गरेको छ । तर, आयोजनाका कारण हजारौं परिवारले व्यहोर्दै आएको पीडा भने गुमनाम छ । त्यसबारे न सत्तामा बसेकालाई चासो छ, न त प्रतिपक्षीलाई यो विषय बिझाएको छ ।

पश्चिम सेती जलविद्युत् आयोजना न बन्यो, न त सम्पत्ति जोगियो

प्रभावित क्षेत्रका बासिन्दा भने पश्चिम सेतीले तीन पुस्ताको जीवन बर्बाद पारेको हिसाबकिताब गर्दै दैनिकी बिताइरहेका छन् । ७५० मेगावाटको जलाशययुक्त आयोजना बन्ने आशमा कष्टपूर्ण जीवन बिताउन बाध्य भएको बैतडी सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी दुखेसो गर्छन् । ‘अब बन्छ, अब बन्छ भन्ने आश देखाएर सरकारले हामीलाई भोकै/नांगै बसाएर एक रुपैयाँ पनि लगानी गरी दिएन,’ उनले भने, ‘हामीले आशा मारिसक्यौं तर पनि अझै प्रदेश र संघीय सरकारले बन्छ भन्दै हिँडेका छन् ।’


अध्यक्ष धामीकै कुरामा सहमति जनाउँदै स्थानीय लोकबहादुर चन्द गुमनाम बनेको आफ्नो विगतको पीडा कान्तिपुरलाई यसरी सुनाउँछन् । ०४० सम्म १ सय २२ रोपनी मलिलो खेतका धनी लोकबहादुर चन्दले अनेकौं उज्याला सपनाहरू देखे । त्यतिबेला ढुंगाड गाउँलाई डुबाएर पश्चिम सेती बन्ने हल्ला गाउँभरि फैलियो । फ्रान्सको ‘सोग्रेह’ नामक कम्पनीका गोरा मानिसहरू सेती नदीका किनारहरूमा देखापरेपछि ढुंगाडबासी बिजुली बल्ने सुनेर खुसी थिए ।


मुआब्जाबाट मनग्ये नगद र तराईमा सुविधा सम्पन्न घरजमिन पाउने आशा तत्कालीन सरकारमा रहेकाहरूले स्थानीयबासीलाई देखाए । त्यही आशामा जीवनशैली फेरिने सम्झेर लोकबहादुर दंग परे । ‘म मात्रै धनी भएर के गर्नु’ उनले विगतमा जागेको आशा सुनाउँदै भने, ‘आर्थिक रूपले कमजोर रहेका छोरी ज्वाइँ, इष्टमित्रहरू सम्झिएँ । उनीहरूको पनि भलो होस् भन्ने चाहेँ ।’ त्यसपछि उनले आफ्नो नाममा ढुंगाडमा रहेको जमिन विवाहित दुई छोरीका नाममा हाले । केही बहिनीहरूलाई बाँडे । आफ्ना पुरोहितलाई दान गरे । ‘म त करोडपति हुन्छु, तराईको जमिनदार हुन्छु सम्झिएँ,’ चन्दले भने, ‘किन छोरी बहिनी र पुरोहित पनि मुआब्जा लिएर लखपतिसम्म नबनाउने भनेर जमिन बाडीचुँडी गरिदिएँ ।’


तर अहिले चन्द लज्जित छन् । उनी वर्षभरि खेत जोतेर परिवारको पेट भर्न नसक्ने स्थितिमा छन् । गाउँमा रोजगारी छैन । छोराहरू भारतमा चौकीदारी गर्छन् । उमेरले डाँडा काटदै गर्दा औषधिमूलो गर्ने पैसासमेत उनको गोजीमा हुँदैन । ‘पश्चिम सेतीले त आशा देखाएर जीवनभरि बिचल्लीमा पार्‍यो,’ उनले पीडा पोख्दै भने, ‘बस्ती सर्छ भन्ने आशाले न गाउँको विकास गर्न जुटियो न व्यक्ति विकासमा लागियो ।’


सोही गाउँका वीरबहादुर महरालाई भत्किएको घरसमेत मर्मत गर्ने मन लागेन । जलविद्युत् आयोजना निर्माणका लागि काम गरिरहेको स्मेक कम्पनीले गाउँका युवाहरूलाई प्रभावित क्षेत्रका बासिन्दाहरूको लगत संकलन गर्ने, उनीहरूका माग र इच्छाबारे सूचना टिप्न दैनिक खटाउँदा महरालाई आफ्नो गाउँ कतिबेला छोड्ने हो भन्ने लाग्थ्यो । ‘छोड्नुपर्ने गाउँघरको के माया गर्नु भनेर चुहिएको छानोसमेत टाल्न सकिनँ,’ महराले भने, ‘त्यो बेला कल्पनै कल्पनामा दिनहरू बित्थे, काम गर्ने मुडै बनेन ।’ अहिले उनी सुकुम्बासी भएर कञ्चनपुर बसाइ सरेका छन् । सेती नदीको तटबन्ध नहुँदा ०५७ मा आएको बाढीले खेत बगर बनाएपछि उनी सुकुम्बासी भएर कञ्चनपुर सरेका हुन् ।


लोकबहादुर र वीरबहादुर जस्तै आशामा बाँचेकाहरू थुप्रै छन् । तर चार दशक कट्न लाग्दा पनि न पश्चिम सेती बन्यो न त स्थानीयबासीको जीवनस्तर नै उकासियो । बरु बेला पश्चिम सेती परियोजना बनाउने नाममा थुप्रै कम्पनीहरू गाउँ पसे । अनेकौं विश्वास लाग्दा सपना पनि बोकेर आए । तर, उनीहरूको अवस्था सुध्रिएन । प्रभावित क्षेत्रका बासिन्दा आर्थिक तथा सामाजिक रूपमा पछि परेको पीडा कसैले बुझ्न सकेन ।


बर्सेनि गाउँबाट सयौं युवाहरूको लस्कर रोजगारीका लागि भारततर्फ बाहिरिने क्रम बढदै गएको छ । प्रभावित क्षेत्रमा पर्ने डोटी, डडेलधुरा, बैतडी र बझाङका ३० हजार परिवार तीन दशकदेखि विभिन्न विकासका पूर्वाधारहरूबाट वञ्चित हुन पुगेका छन् ।


चिउरी वनस्पति र अमलाका लागि प्रदेश ७ मै ढुंगाड क्षेत्र प्रख्यात छ । त्यहाँ उखुको घरेलु विधिबाट प्रशोधन गरी गुँड बनाउने प्रचलन पुर्खौंदेखिको हो । सेती नदीको माछा र आँप त्यहाँको विशिष्ट परिकार हो । ‘यिनी स्रोत र सम्पदाको आधुनिकीकरण गरेर पनि सबै परिवारले जीवन धान्थ्यौं होला,’ स्थानीय तुलसी चन्दले भनिन्, ‘छोडेर जाने ठाउँ के गर्ने भनेर चार दशक गुजार्दा आशा नै मर्‍यो । धनी हुनुको साटो गरिब बनाउँदै सेती नदीले डुबायो ।


फ्रान्सको सोग्रेह कम्पनीपछि पश्चिम सेती बनाउन अस्ट्रेलियाको स्मेक कम्पनी सन् १९९४ मा आयो । ढुंगाडमै बसेर सम्पर्क कार्यालय पनि खुल्यो । केही समयका लागि स्थानीयले योग्यताअनुसारको रोजगारी पनि पाए । मर्न लागेको आशा फेरि जाग्यो स्थानीयमा । ‘अब पक्कै हुन्छ भन्ने आशा पलायो,’ स्थानीय हरिभान लुहारले भने, ‘अहिलेसम्म दु:ख झेलियो, अब त सुखका दिन आए सम्झियौं ।’ तर, स्मेकले २५ वर्षपछि काम गर्न नसकेपछि हात झिक्न बाध्य हुँदा स्थानीय निरास बने ।


स्मेकले हात झिकेपछि निरास बनेका स्थानीयबीच पुन: २०६८ सालमा चिनियाँ कम्पनी थ्री गर्जेज आयो । थ्री गर्जेजले डोटीको लामीखालमा कम्पनीका कर्मचारीहरू बस्ने घरसमेत बनाएर काम सुरु गर्‍यो । स्थानीयमा खुसीको सञ्चार भयो । अहिले आएर थ्री गर्जेजले पनि काम गर्न नसक्ने बताएपछि स्थानीय बासिन्दाहरू पश्चिम सेती कहिल्यै बन्न नसक्ने भन्दै निरास भएर बसेका छन् । झन्डै चार दशकसम्म प्रतीक्षामा रहेको आयोजनाका कारण आफूहरूले व्यहोरेको क्षतिको उनीहरू हिसाबकिताब खोजिरहेका छन् ।


यो अवधिमा प्रभावित क्षेत्रमा सडक, बिजुली, खानेपानी बनाउन सरकारले लगानी गरेको छैन । कुनैबेला बैतडीको ढुंगाड तथा डोटीको तलार अन्न भण्डार क्षेत्रका रूपमा जिल्लामा गणना हुन्थे । स्थानीयले दिपायल, चैनपुर, डडेल्धुरासम्म खाद्यान्न बेच्थे । यही कारण आफन्त इष्टमित्र र छिमेकीहरू सामु उनीहरूको रवाफ थियो । पश्चिम सेती परियोजना निर्माण हुने भनिएपछि नदीको तटबन्धतर्फ सरकारले पनि चासो राखेन । स्थानीयले पनि सेतीका किनारमा रहेका खेत, बस्ती जोगाउनतिर ध्यान दिन छोडे । बोटबिरुवा हुर्काउन, वृक्षारोपण गर्नेतर्फ चासो जान सकेन । तटबन्ध निर्माणतर्फ पनि पहलै भएन । वरपरका गाउँहरूमा गाडीहरू हुँइकिँदा ढुंगाडबासी खच्चरको सहाराले सदरमुकामबाट मालसामान ढुवानी गर्न बाध्य छन् । आफन्त, इष्टमित्र, छिमेकी क्षेत्रका बासिन्दा अघि आत्मग्लानि महसुस गर्दै दैनिकी काटिरहेका छन् । ढुंगाडबासी एकै स्वरमा दुखेसो गरिरहेका छन्, ‘पश्चिम सेतीले हामीलाई उकास्नुको साटो पछार्‍यो मात्रै ।’


ढुंगाडबासी उदाहरणका प्रतिनिधि मात्रै हुन् । डोटीको तलारा, डडेल्धुराको बेलादेवीपुर, बझाङको देउरालगायतका बासिन्दाको अवस्था पनि त्यस्तै छ । भविष्यको आशा गर्दै गाउँको सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीका समस्याहरू सबैले आँखा चिम्लेर सहे । चार दशकदेखि कहिल्यै उनीहरू विकास माग्न अन्यत्र गएनन् । अरूबाट पनि विकास निर्माणका लागि पहल भएन ।

०५७ मा सेतीमा आएको बाढी गाउँ पस्यो । घर, खेतबारी बगायो । बचेका खेतहरू बाढी पहिरोले बगाएको बालुवाले ढाक्यो । ‘हेर्दाहेर्दै त्यस्तो मलिलो जमिन बगर बन्यो,’ स्थानीय देवबहादुर लुहारले भने, ‘पेट भर्ने खेत बगर भएपछि परिवार भोकै पर्न थाले, ओत लाउने घर बगेपछि आकाश मुनि बास भयो ।’


अर्का स्थानीय खडक चन्दका अनुसार ०५७ को बाढीपछि सयौं युवा पेट पाल्न भारत छिरे । गाउँमा अनिकाल सुरु भयो । गोजीमा पैसा हुनेले किनेर पेट पाले, नहुनेले भारतमा नोकरी गरेर जीवन धाने । ‘त्यो त डुब्ने ठाउँ हो, किन लगानी गर्ने भनेर जिल्ला विकास समितिबाट एक रुपैयाँ पनि विनियोजन भएन,’ प्रधानाध्यापक टेकबहादुर सिंहले भने, ‘कर्मचारीहरू खटाउने, सरकारी गैरसरकारी कार्यालयले मुख नै नदेखाउँदा वरपरका गाउँठाउँमा विकासे लहर आउँदा हामी टुलुटुलु हेर्न बाध्य भयौं ।’

प्रकाशित : आश्विन ७, २०७५ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?