कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिमेकी नै पापी भएपछि...

किशोरीमाथि एसिड आक्रमण
शिव पुरी

रौतहट — चन्द्रपुर–६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता बस्थे । पूर्वपट्टिको कोठामा दुवै दिदीबहिनी र पश्चिमपट्टि सानी आमा पर्मशिला सुत्थिन् । 

छिमेकी नै पापी भएपछि...

भदौ २६ गते राति । दास परिवारले गुरु जत्तिकै मान्ने छिमेकी ५० वर्षीय रामबाबु पासवानले क्रूरता देखाए । खाटमुनि लुकेका पासवानले राति दास दिदीबहिनीमाथि एसिड बर्साए । गम्भीर घाइते सम्झनाको आइतबार राति निधन भयो ।


‘असल छिमेकी भन्ने लागेको थियो,’ सम्झनाका बुवा जादोलालले भने, ‘घटना हेर्दा त उसले गरेको हर्कत कहिल्यै माफ गर्न सकिँदैन । छिमेकी पापी भएपछि कसको के लाग्छ र ?’ जादोलाल गरिब परिवारका हुन् । उनको एकधुर पनि जमिन छैन । २० वर्षअघि चन्द्रनिगाहपुर बजारस्थित सिनेमा हलमा काम गर्दा जादो र धनमाया मोक्तानबीच प्रेम बसेको थियो । त्यसपछि विवाह भयो । धनमायाबाट २ छोरी र एक छोराको जन्म भयो ।


तीन महिनाअघि जादोलाल र धनमायाबीच सम्बन्ध विच्छेद भयो । धनमाया रोजगारीका लागि साउदी अरब गइन् । सम्झना ७ कक्षा पढदै गर्दा बीचमै छाडिन् । सुस्मिता भने जनज्योति माविमा कक्षा ५ मा पढदै थिइन् । आमाले छाडे पनि उनीहरूलाई बुवाले सँगै राखेका थिए । लालनपालन जादोलालले नै गर्थे । धनमायासित सम्बन्ध विच्छेद पछि जादोलालले केही समयअघि महोत्तरीकी पर्मशिलासित मागी विवाह गरे ।


घटनाको दिन सानीआमा अर्को कोठामा सुतेकी थिइन् । उनले समेत घटनाबारे पत्तो पाइनन्् । जादोलालका छिमेकी विष्णु महतोले पासवानको एकोहोरो मन पराई नै सम्झनाको मृत्युको कारण बनेको बताए । ‘पासवान हेर्दा सोझो देखिन्थे,’ उनले भने, ‘भित्री मन र उनको व्यवहार अर्कै रहेछ ।’ सम्झनाको मृत्युले गाउँ शोकमग्न छ । घटनापछि उनको घर सुनसान थियो । घरमा जादोलालका बुवा सुकदेव दास एक्लै बस्थे । नातिनीको मृत्युले उनी समेत बोल्न सकेका छैनन् । ‘जीवनमा कहिले नभोगेको घटना भयो,’ उनले भने, ‘छिमेकी नै पापी भएर निस्कियो ।’


उनी घरमा एक्लै टोलाइरहेका थिए । छोराबुहारी घाइते नातिनीको हेरचाहका लागि कीर्तिपुर अस्पताल गएका थिए । घटनापछि दुवैको उपचारमा समस्या भएको थियो । आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई समस्या भएको हो । उपचारका लागि स्थानीयले चन्दा उठाए । स्थानीय प्रशासनले केही रकम सहयोग गरेको थयो । सम्झनाको शरीरका धेरै भाग र अनुहारमा बढी एसिड परेको थियो । उनको २ पटक शल्यक्रिया गरिएको थियो । शरीरको ३५ प्रतिशत भाग जलेको थियो । एसिडले उनको अनुहार, घाँटी, ढाड र छातीको भाग जलेको थियो । चिकित्सकले उनको शल्यक्रिया गरी जलेको भाग काटेर फालिए पनि बचाउन सकेनन् । सुस्मिताको भने अवस्था धेरै गम्भीर छैन । एसिडले उनले दाहिने हत्केलादेखि काखीसम्म पूरै जलेको छ । पाँच प्रतिशत मात्रै जलेकाले उनी खतरामुक्त रहेको चिकित्सक बताउँछन् । सुस्मिताको रेखदेख गर्न साउदीबाट आमा धनमाया आएकी छिन् ।


भद्र स्वभावकी सम्झना

जादोलालकी जेठी श्रीमती धनमायाकी जेठी छोरी हुन् सम्झना । उनी निकै भद्र थिइन् । अरूलाई हत्तपत्त केही नभन्ने दयालु स्वभावकी थिइन् । सुस्मिता र सम्झना पनि एकअर्काप्रति एकदमै मिल्ने थिए । दुवै साथी जस्तै व्यवहार गर्थे । कतै घुम्न जाँदा दिदीबहिनी सँगै जान्थे । आर्थिक अभावका कारण उनले बीचमै पढाइ छाडेकी थिइन् । उनको गाउँकै एक युवकसित प्रेम बसेको थियो । उनी अहिले विदेश छन् ।

त्यो कुरा सम्झनाले बुवा जादोलालसित खुलेरै भनिन् । बुवालाई मनाइन् । छोरीको प्रस्ताव उनले मन्जुर गरे । जे कुरा पनि मनमा नराखी भन्ने हुनाले जादोलालले दुवै छोरीलाई उत्तिकै माया गर्थे । भद्र भएकै कारण पासवानले उनी माथि आँखा लगाए । एकोहोरो प्रेम प्रस्ताव राखे । उमेर पनि मेल नखाने हुनाले सम्झनाले पासवानको प्रस्तावलाई ठाडै अस्वीकार गरेको बुवा जादोलाल बताउँछन् । बुवा सरहको मानिसको हर्कतबारे सम्झनाले उपचारकै क्रममा बुवालाई सबै भनेकी थिइन् ।


पासवानको उमेर ५० वर्ष पुगेको छ । यति हर्कत गर्दा पनि सम्झनाले पासवानलाई कहिल्यै नराम्रो व्यवहार गरेकी थिइनन् । ‘उनी सधैं ठूलो मान्छे भनेर उनको कदर गर्थिन्,’ सानी आमा पर्मशिला भन्छिन्, ‘सम्मान र कदर गर्दा यस्तो नियति भोग्नुपर्‍यो ।’ पासवानको एकोहोरो मायालाई सम्झनाले अस्वीकार गरेपछि एसिड हान्नेसम्म काम गरे र मृत्यु बरणमा पुर्‍याए ।

प्रकाशित : आश्विन ८, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?