कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवि दीक्षान्त शुल्क दोब्बर

स्नातकलाई न्यूनतम ३ हजार ७ सय, स्नातकोत्तरलाई ४ हजार २ सय र विद्यावारिधिलाई ४ हजार ७ सय शुल्क

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले दीक्षान्त शुल्क झन्डै दोब्बर बनाएको छ । दीक्षान्तमा सहभागी विद्यार्थीलाई अनलाइनबाट फाराम भर्न पहिलोपटक सुविधा दिएको त्रिविले शुल्क भने हवात्तै बढाएको हो । अनलाइनबाट फाराम भर्न पाउने भएपछि विद्यार्थीले राजधानीको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्ने र बुझाउनुपर्ने झन्झट हटेको छ ।

त्रिवि दीक्षान्त शुल्क दोब्बर

त्रिवि कार्यकारी परिषद् बैठकले शुल्क वृद्धिको निर्णय गरेको हो । प्रवीणता प्रमाणपत्र तह (नर्सिङ) का विद्यार्थीले दीक्षान्त शुल्क एक हजार रुपैयाँ तिर्नुपर्नेछ । यसअघि ८ सय रुपैयाँमात्र लाग्थ्यो । यसअघि १ हजार ७ सय रुपैयाँ मात्र तिरे पुग्ने स्नातक तह उत्तीर्णलाई २ हजार रुपैयाँ शुल्क तोकिएको छ । स्नातकोत्तर तह उत्तीर्णले २ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ । यसअघि १८ सय रुपैयाँमात्र थियो । विद्यावारिधि उपाधि हासिल गरेकाले ३ हजार रुपैयाँ तिर्नुपर्ने छ । यसअघि २ हजार रुपैयाँमात्र थियो ।


दीक्षान्त समारोहको आकर्षण भनेको विद्यार्थीले लगाउने गाउन हो । उक्त गाउन निश्चित समयका निम्ति लगाएर त्रिविलाई फिर्ता गर्नुपर्छ । गाउन लगाउन विद्यार्थीले अग्रिम धरौटी रकम बुझाउनुपर्छ । गाउनको धरौटी रकम पाँच सय रुपैयाँ बढाएर एक हजार पाँच सय कायम गरिएको छ । अनलाइन फाराम शुल्क २ सय रुपैयाँ लाग्ने छ ।


यसरी स्नातक तहका एक विद्यार्थीले दीक्षान्त समारोह सहभागी हुन न्यूनतम ३ हजार ७ सय र अभिभावकसमेत गरी थप ६ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । यसैगरी स्नातकोत्तरको उपाधि लिनेले ४ हजार २ सय र विद्यावारिधि उपाधि लिनेले ४ हजार ७ सय बुझाउनुपर्नेछ ।


विद्यार्थीले दीक्षान्त समारोहपश्चात गाउन त्रिविमा बुझाएपछि १ हजार ५ सय धरौटी फिर्ता पाउने छन् । अनलाइन फाराम भर्ने म्याद आगामी कात्तिक ७ गतेसम्म छ ।


दीक्षान्त समारोहमा विद्यार्थीले बढीमा दुई अभिभावक सहभागी गराउन सक्छन् । त्यसनिम्ति अभिभावक प्रवेश कार्ड आवश्यक पर्छ । कार्डबापत अग्रिम शुल्क बुझाउनुपर्छ । त्यसका लागि यसअघि २ सय रुपैयाँ तिर्नुपथ्यो भने अब ३ सय रुपैयाँ तिर्नुपर्नेछ ।


त्रिवि सभाले गत शैक्षिक सत्रमा उत्तीर्ण ७३ हजार ९ सय १ जना विद्यार्थी दीक्षित हुन सक्ने ५६ औं ग्रेस लिस्ट पास गरेको छ । त्यसमा सबभन्दा बढी स्नातक उत्तीर्ण ५४ हजार ७ सय ९४ छन् भने स्नातकोत्तर १८ हजार ८ सय ७९, एमफिल १ सय ५६ र पीएचडी ७२ छन् । आगामी पुसमा दीक्षान्त समारोहमा हुँदैछ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले मूल प्रमाणपत्रलाई गुणस्तरीय बनाउन र कन्भोकेसन हयाटका निम्ति शुल्क बढाइएको बताए । ‘यसपटकबाट मूल प्रमाणपत्र झुन्डाउन मिल्नेगरी हाई फोल्डरको हुनेछ,’ उनले कान्तिपुरसित भने, ‘त्यसैगरी विद्यार्थीलाई कन्भोकेसन हयाट दिँदैछौं ।’


दुर्गममा रहेका दीक्षान्तयोग्य विद्यार्थी अनलाइनबाट फाराम भरेर काठमाडौंमा हुने दीक्षान्त समारोहमा सिधै भाग लिन सक्ने छन् । दीक्षान्तमा सहभागी हुन शुल्क तिरेका विद्यार्थीले भौगोलिक कठिनाइका कारण समारोहमा सहभागी हुन नसके पनि मूल प्रमाणपत्र पाउने त्रिविले जनाएको छ । ‘दीक्षान्त समारोहपश्चात आउने विद्यार्थीले मूल प्रमाणपत्रका साथै उनीहरूले गाउनका लागि तिरेको धरौटी रकमसमेत कार्यालयमा रुजु गराई तत्कालै पाउने छन्,’ नियन्त्रक जोशीले भने ।


त्रिविले दीक्षान्त समारोह समापनपश्चात राष्ट्रपति निवासमा ‘दीक्षान्त भोज’को आयोजना गर्ने परम्परा थालनी गरेको छ । २०७२ सालअघि राजधानीको कुनै एक पाँच तारे होटलमा ‘दीक्षान्त डिनर’ आयोजना गरिन्थ्यो । भोजको खर्च राष्ट्रपति कार्यालयले नै व्यहोर्ने त्रिवि पदाधिकारीले जनाएका छन् ।

प्रकाशित : आश्विन ८, २०७५ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?