कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकालीपारि फेरि डुबान

बढ्यो जोगबुडाको झोलुंगे पुल बगाउने खतरा
भवानी भट्ट

कञ्चनपुर — लगातारको वर्षाले कञ्चनपुरको माहाकाली नगरपालिका जोगबुडा नदी किनारका बस्ती डुबानमा परेका छन् । नगरपालिकाको वडा ८ को सुन्दरनगर र १० को कुतियाकभरको बस्ती डुबानमा परेको हो ।

महाकालीपारि फेरि डुबान

‘राति ४ बजेदेखि बस्तीमा बाढी पसेको छ,’ महाकाली नगरपालिका ८ का अध्यक्ष ओम प्रकाश ओझाले भने, ‘दिउँसोदेखि बिस्तारै कम हुँदै गएको छ ।’ उनका अनुसार जोगबुडाको बाढी बस्तीमा पसेपछि सुन्दरनगरस्थित धानखेत पूरै डुबाएको छ । करिब सय बिघाभन्दा बढीको धान कामै नलाग्ने भएको उनले बताए । उनका अनुसार पाक्न लागेको धान बाढीले पुरिएको छ ।


तीन दिनदेखि लगातार पानी पर्दा महाकालीसँगै जोगबुडामा बाढी आएको हो । महाकालीको बाढीले जोगबुडाको बहाव रोक्दा बस्तीमा पसेको इलाका प्रहरी दोधाराका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए । उनका अनुसार सुन्दरनगरमा नदी किनारका १० वटा पसल र ५ घर डुबेका छन् । ‘पसलभित्रको सामान सबै निकालेका कारण खासै नोक्सान भएको छैन,’ उनले जनाए ।


यसैगरी कुतियाकभरमा बस्तीमा बाढी पस्नुका साथै जोगबुडा नदीमा निर्माण गरिएको झोलुंगे पुलसमेत कटानमा पर्दा जोखिम भएको प्रहरी निरीक्षक चन्दले बताए । कटान नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीय जुटेको उनले जानकारी दिए । नदीमा पानी घटे पनि कटान बढ्दै गएको उनले जानकारी दिए ।


बाढी आउनुअघि समेत भारतीय पक्षले शारदा नहरको पानी जोगबुडामा छाड्दा कटान भइरहेको थियो । बाढीपछि कटान झन् तीव्र भएको वडा १० का अध्यक्ष नरबहादुर सुनारले बताए । ‘पुलको जग बगाउनै लाग्यो,’ उनले भने, ‘अब कुतियाकभरको बस्ती पनि जोखिममा छ ।’ उनका अनुसार पुल आसपास करिब सय मिटरजति लम्बाइमा नदीले तीव्र कटान गरिरहेको छ ।


भारतीय पक्षले शारदा नहरको पानी कालापुलबाट सीधै जोगबुडामा छाड्ने गरेको छ । यसले एक महिनादेखि सुन्दरनगर र कुतियाकभरमा कटान भइरहेको स्थानीय बताउँछन् । करिब १५ परिवारको खेतीयोग्य जमिन कटान गरेर नदीले बगाइसकेको वडाध्यक्ष सुनारले जनाए ।


यसअघि साउन अन्तिम साता आएको बाढीले जोगबुडा किनारका बस्तीहरू गिरिटोल, शान्ति टोल, सुन्दरनगर र कुतियाकभरलगायतमा डुबान भएको थियो । करिब ५० परिवार विस्थापित भएर नजिकैको विद्यालयमा आश्रय लिई बसेका थिए ।


यसैबीच भारतको धार्चुलामा रहेको धौलीगंगा जलविद्युत् परियोजना बाँध मंगलबार बिहान खोलिएपछि महाकालीको बहाव बढ्ने अनुमान गरिएको छ । महाकालीमा बहाव बढेसँगै फेरि नदी किनारका बस्ती डुबानमा पर्ने खतरा छ । वर्षा नरोकिए कुतियाकभर, सुन्दरनगरलगायत फेरि डुबानमा पर्ने खतरा रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : आश्विन १०, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?