कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यवसायी दुहुना गाईजस्ता हुन् भन्ने गलत संस्कार बदल्नुपर्छ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पर्यटनलगायत व्यवसाय र रोजगारी सृष्टि गर्ने क्षेत्रलाई प्रोत्साहित गर्नु पर्ने बताएका छन् । 

व्यवसायी दुहुना गाईजस्ता हुन् भन्ने गलत संस्कार बदल्नुपर्छ : दाहाल

नेपाल पर्यटन यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारणसभालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै दाहालले देशमा साँच्चै आर्थिक विकास गर्ने हो भने व्यवसायमा लाग्ने, रोजगार सृष्टी गर्नेलाई राज्यले प्रोत्साहित गर्दै उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए । 'व्यवसायका लागि वातावरण बनाउनुपर्‍यो, सुरक्षा दिनुपर्‍यो, नाफा सुनिश्चितता दिनु पर्‍यो । यसका निम्ति अनुकूल ऐेन, कानुनहरु बनाउनुपर्‍यो', उनले भने, 'राम्रो काम गर्नेलाई पुरस्कार दिनुपर्‍यो अनिमात्रै उत्पादन र रोजगार सृष्टि गर्ने क्षेत्रले विकास गर्न सक्छ ।'


उनले देशभित्र व्यवसायीहरु उत्साहित भएर उत्पादन कार्यमा लगानी गर्ने, अगाडि बढ्ने वातावरण बनाउनु पर्ने बताए । 'जबसम्म आन्तरिक पर्यटकहरु ठूलो संख्यामा घुमफिरमा जान आवश्यक सुविधाको वातावरणा बनाइँदैन तबसम्म विदेशी पर्यटक ठूलो मात्रामा आउँछन् भन्ने सोच्नु ठूलो भ्रम हो' अध्यक्ष दाहालले भने, 'गोरो छाला भएकालाई मात्रै पर्यटक सोच्ने गलत संस्कार तोड्नुपर्छ ।'


अध्यक्ष दाहालले उद्योगी, व्यवसायी दुहुना गाईजस्ता हुन् भन्ने राज्यको गलत सोचाईका कारण पनि व्यवसाय फस्टाउन नसकेको धारणा राखे । 'उद्योग सञ्चालक, पर्यटन व्यवसायमा लागेका हुन् वा अन्य होटल व्यवसायमा लागेकोहरुलाई प्रोत्साहन, व्यवसायको सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा राज्यले यी भनेका दूध दिने गाईजस्ता हुन् जति सकिन्छ दुहुनु पर्छ भन्ने संस्कार छ' उनले भने, ' यी व्यवसायीलाई सकेजति निचोर्नुपर्छ भन्ने संस्कार बद्लिनुपर्छ ।'


कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको महत्वपूर्ण पाटोको रूपमा रहेको पर्यटक यातायात सेवालाई कानुनीरुपमा व्यवस्थित गरी सेवाको गुणस्तरमा विशेष ध्यान दिइने उल्लेख गरे ।


सरकारले घोषणा गरेको सन् २०२० लाई नेपाल भ्रमण वर्षको प्रारम्भको रुपमा लिई सन् २०३० सम्म भ्रमण वर्षकै रुपमा मनाई ५० लाख पर्यटक पुर्‍याउने योजनाअनुरुप पर्यटकीय पूर्वाधार विकासलाई तीव्रता दिएको उनको भनाइ थियो ।


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाललगायतले पर्यटक भित्र्याउने पहिलो अधार विमानस्थलपछि यातायात नै भएकाले पर्यटक यातायातलाई सुरक्षित र व्यवस्थित बनाइनुपर्नेमा जोड दिए ।


सङ्घका अध्यक्ष रामशरण कार्कीले पर्यटनमा होटलपछि धेरै लगानी भएको पर्यटक यातायात क्षेत्रलाई नीतिगतरूपमा व्यवस्थित ढङ्गले अघि बढाउन सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।

प्रकाशित : आश्विन १०, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?