कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कारबारे लामै सैद्धान्तिक व्याख्या गर्दै गृहमन्त्रीले भने- ‘बलात्कारको मुख्य कारण पुँजीवाद’

राज्य व्यवस्था समितिमा गृहमन्त्रीको जवाफ
दुर्गा खनाल

काठमाडौँ — निर्मला पन्तको बलात्कारपछिको हत्या र त्यसपछि भएका अन्य यस्तै प्रकृतिका घटनाबारे स्पष्ट पार्न बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उपस्थिति भएका थिए गृहमन्त्री रामबहादुर थापा ।

बलात्कारबारे लामै सैद्धान्तिक व्याख्या गर्दै गृहमन्त्रीले भने- ‘बलात्कारको मुख्य कारण पुँजीवाद’

झन्डै दुई महिनासम्म पनि दोषी पत्ता नलागेपछि समितिले मन्त्रीसहित सुरक्षा अधिकारीलाई बोलाएको थियो । तीन घण्टासम्म चलेको बैठकमा दोषी को हो भन्ने मन्त्रीले बताउन सकेनन् बरु उनले बलात्कारबारे लामै सैद्धान्तिक व्याख्या गरे ।


मुलुकमा बढेका हत्या र बलात्कारका घटनाबारे संसद्लाई जानकारी गराउन हाजिर भएका मन्त्री थापाको प्रस्तुति भने कम्युनिस्ट पार्टीको आन्तरिक प्रशिक्षणमा कार्यकर्तासामु गर्ने सिद्धान्तको व्याख्या जस्तै थियो । सुरुमै बोल्ने समय पाएका मन्त्री थापाले बलात्कारका घटना बढ्नुको
मुख्य कारण ‘पुँजीवाद’लाई औंल्याए । ‘अझै पनि समाजमा सामन्ती संस्कार बाँकी छ, पुँजीवाद हावी छ,’ उनले बलात्कारको कारण पेस गर्दै भने, ‘पँुजीवादले यस्ता हिंसा र बलात्कार जन्माउँछ ।’
पँुजीवादले महिलालाई कसरी हेर्छ त ? मन्त्री थापा बैठकमा यसको अतिरिक्त व्याख्या गर्दै अघि बढे । ‘पुँजीवादले महिलालाई नाफा कमाउने मालका रूपमा बिक्री गर्छ,’ उनले भने, ‘पँुजीवाद भएका ठाउँमा बलात्कारका घटना र वेश्यावृत्ति हुन्छ ।’ यसको पुष्टि गर्न उनले अमेरिका र भारतको सन्दर्भ जोडे । ‘अमेरिकामा पनि ‘रेप’ हुन्छ, हत्याकाण्ड हुन्छ, भारतमा पनि हुन्छ’ उदाहरण दिए ।


बलात्कारलगायत घटनाहरू यसअघि पनि हुने गरेको भन्दै उनले अहिलेको घटनामात्र नौलो नभएको भन्दै आफ्नो तर्कहरू पेस गर्दै गए । ‘यस्ता घटना नयाँ होइनन्, यो सरकार आएपछि मात्र भएका होइनन्,’ थापाले भने, ‘अहिलेचाहिँ मानिसहरूको चेतना बढेको छ, त्यसैले बाहिर धेरै आइरहेका छन् ।’ यस्ता घटनाको सामाजिक र वस्तुगत कारण खोजेर त्यसको निराकरण नगर्दासम्म यस्ता घटना निमिट्यान्न पार्न नसकिने तर्क मन्त्री थापाको भनाइ थियो । त्यसैले यस्ता घटना हुन नदिने मुलुक ‘समाजवाद’मा पुग्नुपर्ने भन्दै थापाले सिद्धान्त जोडे । ‘दलाल पँुजीवाद हावी छ, आत्मनिर्भर अर्थतन्त्र छैन, यसले गर्दा पनि बलात्कार निम्त्याएको छ,’ उनले भने, ‘अहिलेका समाजिक आर्थिक आधारहरू भत्काउनुपर्छ ।’ उनले अहिलेकै जस्तो समाजिक र आर्थिक अवस्थामा सरकार एक्लैले यस्ता घटना रोक्न नसक्ने मन्त्री थापाको भनाइ थियो । ‘सरकारले मात्रै रोक्न सक्दैन, जनताहरू आफैं पनि सजग हुनुपर्छ,’ उनले भने ।


पुँजीवादलाई बलात्कारको मुख्य कारणका रूपमा व्याख्या गरेपछि मन्त्री थापाले अरू तीनवटा उपकारणहरू पनि पेस गरे– प्रविधि, मदिरा र लागूऔषध । ‘प्रविधिको विकासले गर्दा साइबर क्राइम बढेको छ, अनियिन्त्रत मदिरा र लागूऔषधले पनि बढाएको छ,’ उनले भने, ‘पोर्न, लागूऔषध नियन्त्रण गर्नुपर्छ, यसमा युवाहरू अघि आउनुपर्छ । ठूल्ठूला घटनाहरू, भ्रष्टाचारका योजनाहरू जाँड खाएर नै बनाइन्छ ।’


सामाजिक अपराधहरूलाई राजनीतीकरण गर्न नहुने भए पनि पुरातनवादी शक्तिहरू कसरी हिंसा फैलाउने भन्नेतर्फ लागिरहेको पनि उनले बताए ।


मन्त्री थापाले यति व्याख्या गरेपछि सांसदहरूको प्रश्न आएपछि जवाफ दिने भन्दै रोकिए । त्यसपछि समितिमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको घटनाको निष्कर्षमा पुग्नका लागि प्रमाणहरू जुटाउनै जटिल भएकाले समय लागिरहेको बताए । केही समय खनालले बोलेपछि समितिमा सांसदहरूले प्रश्न र सुझावहरू राखे । जसमा हत्या/बलात्कारका घटनामा दोषी किटान नभएकोदेखि सरकारले गरिरहेको लापरबाही मात्र होइन, गृहमन्त्रीले गरेको बलात्कारको सैद्धान्तिक व्याख्याको पक्ष र विपक्षमा समेत मत जाहेर भए ।
कांग्रेस सांसद अमरेशकुमार सिंहले गृहमन्त्री थापाले समान्ती समाज र पुँजीवादलाई दोष लगाएर मन्त्री उम्किन नपाउने तर्क गरे । ‘म भर्खरै दुबई गएर आएँ । त्यहाँको समाजकै कुरा गर्ने हो भने सामान्ती खालको छ तर त्यहाँ यस्तो गतिविधि हुँदैन,’ उनले भने । प्रहरीभित्र नै दुई गुट रहेको नेकपा पार्टीभित्रको गुटको प्रभावका कारण प्रहरीले कमान्ड गर्न नसकेको सिंहले आरोप लगाए ।


नेकपाका सांसदहरू रेखा शर्मा र यशोदा सुवेदीले समान्ती समाजका कारण यस्तो भएको भन्नेमा समर्थन जनाए । सांसद शर्माले मदिरा र महिलालाई भोग्य वस्तु बनाइएको प्रसंग जोडदै प्रहरी नै निर्मला बलात्कार र हत्याको प्रमाण नष्ट गर्ने लागेको भन्दै आपत्ति जनाइन् । नेकपाकै अर्का सांसद विजय सुब्बाले त पन्त घटनाको विषयमा एसपी डिल्लीराज विष्ट नै दोषी भएको किटानी गरे । अपराधको प्रमाण नै नष्ट गर्न प्रहरी लागेको भन्दै उनले विष्टलाई दोषी देखाए । गृहमन्त्री थापाले पेस गरेको बलात्कारको सैद्धान्तिक कारणलाई पुष्टि गर्ने गरी सांसद सुब्बाले सुन्दरी प्रतियोगितालगायत कार्यक्रम बन्द गर्नुपर्नेसमेत बताए ।


महिलालाई नै प्रयोग गरेर गर्ने बलात्कारका घटना पहिले पनि हुन्थे भन्ने गृहमन्त्रीको भनाइप्रति सांसद सुब्बाको केही आपत्ति थियो । ‘सरकारमा जाने साथीहरूको सोच नै भएन, बुर्जुवा संस्कृतिलाई बढावा दिन हुन्छ ? रोक्नुपर्दैन ?’ उनले प्रश्न गर्दै भने, ‘युटयुबमा म शरीर बेच्छु, रेट यति हो भन्दै राख्छन्, अनि त्यो हेर्नेले बलात्कार गर्दैन त ? यस्ता कुरा रोक्नुपर्छ ।’
सांसद प्रेम सुवालले अपराधलाई राजनीतीकरण गर्न खोजएको भन्दै मन्त्रीमाथि प्रश्न गरे । सांसद विन्दा पाण्डेले प्रहरी संगठनभित्र अनुसन्धानको उच्च तहमा महिला नभएको कुरा राखिन् भने दिलेन्द्र बडु, मीना पाण्डे, रामसहायप्रसाद यादवले दोषी पत्ता लगाई छिटो पक्राउ गर्न आग्रह गरे ।


सांसद छक्कबहादुर लामाले भने लोकतन्त्रको नाममा प्रहरीलाई कमजोर पार्दाको परिणाम कञ्चनपुरको घटना भएको निष्कर्ष सुनाए । उनले यत्रो घटना हँ‘दा पनि त्यहाँका राजनीतिक दल, सांसदहरूले दोषीबारे मुख खोल्न नसकेकोमा आश्चर्य पनि प्रकट गरे । ‘मेरो हुम्लामा यस्तो घटना भएको थियो भने त म दोषी को हो भनिदिइसक्थे,’ लामाले भने ।


नेकपाकी सांसद सुजिता शाक्यले भने कञ्चनपुरको घटनालगायत मुलुकभर भइरहेका बलात्कारलगायत घटना सरकारलाई असफल पार्नेतर्फ लक्षित रहेको समेत भन्न भ्याइन् । ‘संगठित खालको अपराध भइरहेको छ, सरकारलाई असफल बनाउन खोजिएको छ । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान तुहाउन पनि प्रतिक्रियावादीहरू लागेका छन्,’ शाक्यले भनिन् । बलात्कारीलाई कडा सजायका रूपमा ‘नपुंसक’ बनाइदिने प्रावधान राखेर कानुन बनाउन सकिने सुझाव उनले दिइन् । गृहमन्त्री थापाले सांसद शाक्यको प्रश्नको जवाफ दिने क्रममा ‘क्रियटिभ सुझाव’ भन्दै हाँसे ।


सांसद झपट रावलले प्रहरीको चेन अफ कमान्ड राम्रो नभएको बताए भने नवराज सिलवालले प्रहरीलाई सरुवा बढुवालगायत सम्पूर्ण अधिकार दिनुपर्ने उल्लेख गरे । प्रहरी महानिरीक्षकलाई नै सबै अधिकार नहुँदा नै अहिलेको जस्तो समस्या देखिएको सिलवालको भनाइ थियो । सांसदहरूको प्रश्न र सुझावपछि गृहमन्त्री थापाले पुन: जवाफ दिने क्रममा पनि पुँजीवादी चेतनाकै कारण यस्ता घटना हुने गरेको पुस्ट्याइँ गर्न खोजे ।


मन्त्री थापाले जवाफ दिनुअघि प्रहरी महानिरीक्षक खनालले प्रहरीमा राजनीतीकरण भएको, राजनीतिक दबाबले काम गर्न नसकेको, चेन अफ कमान्ड बिग्रेको भन्ने सांसदहरूको भनाइको प्रतिवाद गरे । उनले चेन अफ कमान्ड सही रहेको आफूले यो लगायतका घटनामा गम्भीरतापूर्वक काम गरिरहेको भन्दै विश्वास गर्न आग्रह गरे । विगतमा आफूले गरेका कामहरूलाई पनि हेरिदिन खनालले आग्रह गरे । गृहसचिव प्रेमकुमार राईले पनि अनुसन्धान जारी रहेको बताए । बैठकमा सांसद लक्ष्मी चौधरीले निर्मला पन्त जस्तै अन्यत्र भएका घटनामा क्षतिपूर्ति दिने क्रममा विभेद भएको कुरा उठाएकी थिइन् । सचिव राईले क्षतिपूर्ति दिने क्रममा भइरहेको विभेदलाई हटाइने प्रतिबद्धता जनाए । त्यसपछि समिति सभापति शशी श्रेष्ठले कञ्चनपुर लगायतका मुलुकभर भइरहेको हत्या बलात्कार, एसिड आक्रमण लगायतका घटनाका दोषीलाई छिटो पत्ता लगाई कारबाही गर्न सरकारलाई समितिको तर्फबाट निर्देशन दिइन् ।


मुचुल्कामै पन्तका बाबुको नक्कली ‘औंठाछाप’
राज्य व्यवस्था समितिमा गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनाका विषयमा सरकार र प्रहरी प्रशासनको निष्ठामा प्रश्न नउठाउन आग्रह गर्दै केही तथ्यहरू पेस गरे । तर दोषी कहिले पत्ता लाग्छन् भन्न सकेनन् । ‘हाम्रो इमानदारीमा प्रश्न नउठाउनुहोस्, परिणाम नआएकाले क्षमतामा केही शंका गर्न चाहिँ सक्नुहुन्छ,’ मन्त्री थापाले भने, ‘घटनाका दोषी कहिले पत्ता लाग्छन्, गृहमन्त्रालय र प्रहरी ज्योतिष होइनन् कहिले कति गते परिणाम आउँला भन्न सकिँदैन, जतिसक्दो छिटो ल्याउन कोसिस गर्छौं ।’
उनले घटनाको सुरुमै प्रमाणहरू मेटिँदा समस्या भएको भन्दै नयाँ तथ्यसमेत खुलाए । पन्तको शव भेटिएपछि त्यसको मुचुल्का गर्ने बेला उनका बाबुको नक्कली ‘औंठाछाप’ प्रयोग गरिएको उनको दाबी थियो । ‘साउन ११ गते मुचुल्का गरियो ।


त्यसमा उनका बुवाको भन्दै औंठाछाप लगाइएको थियो तर उनका बाबु भारतबाट १२ गते मात्र आएको देखियो,’ थापाले भने, ‘निर्मलाका कपडाहरू जलाइएका छन्, जबकि अनुसन्धानको एबीसीडी मात्र जानेकाले पनि प्रमाण जोगाएर राख्छन् ।’


मुचुल्कामा बुवाको भन्दै गरिएको औंठाछाप नक्कली रहेको थाहा पाएको, एक अपरिचित व्यक्तिले धम्क्याएको र गृह मन्त्रालयसँग सम्पर्क नभएका कारण छानबिन समितिका उपसचिव जिम्मेवारीबाट अलग हुन खोजेको पनि थापाले बताए । ‘पछि सबै स्पष्ट भएपछि उनी काममा फर्के,’ थापाले समितिमा भने । त्यही गल्ती भएकाले थप छानबिन गरिरहेको भन्दै दोषीलाई कुनै हालतमा सजाय दिने प्रतिबद्धता मन्त्री थापाले गरे ।

प्रकाशित : आश्विन ११, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?