सत्तारुढ नेकपाका नेता नेपालले भने, 'सरकारका काम देखेर दिक्क लाग्न थाल्यो'

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता माधव नेपालले सरकारका काम देखेर दिक्क लाग्न थालेको बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै नेता नेपालले जता गयो त्यति आलोचना र खिसिट्यूरी हुने अवस्था आएको उल्लेख गरे । ‘छलफल गर्ने, सुन्ने बानी विकास गरेर राम्रो काम गर्दा साथ सहयोग प्राप्त हुन्छ, राम्रा गर्नु भएन भने सहयोग हुँदैन’ नेता नेपालले भने, ‘जता गयो त्यतै आलोचना खिसिट्यूरीबाहेक केही छैन ।’ उनले बजेट निर्माणदेखि अहिलेसम्मको कामको समीक्षा गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘अर्को अधिवेशनमा शिर ठाडो गरेर आउनुहोस्’ नेता नेपालले भने । निर्मला पन्तको बलात्कार पछिको हत्यालगायतका घटनाको समेत प्रसंग उक्काउँदै नेता नेपालले यसमा छिटो परिणाम दिन ध्यानाकर्षण गराए । ‘दोषी पत्ता लागेका छ कि छैनन्, गिरफ्तार भएका छन् कि छैनन् । मान्छे त्यो हेर्न चाहन्छन् परिणाम दिइसकेपछि बल्ल हाम्रो पनि शिर ठाडो हुने थियो’ नेता नेपालले भने,‘यो कानले सुन्नु पर्ने थिएन, जुन जोगी आए पनि कानै चिरेका ।’

उनले कमसेकम जनताले के भनिरहेका छन् त्यसलाई सुन्ने प्रयास गर्न सरकारलाई सुझाव दिए । ‘कमसेकम जनताले के भन्छन् भन्ने कुरा जवाफ दिनका लागि मात्र होइन महसुस गर्ने गर्नुहोस्, कहाँ छन् समस्या खोज्ने र समाधान गर्ने आट गर्नुहोस् ।’

प्रकाशित : आश्विन ११, २०७५ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्

संघीय संसद्को बजेट अधिवेशन सकियो, १ सय ३५ दिनमा के के भए ?

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्को बजेट अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको अन्तमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए । उक्त पत्रअनुसार संसद् अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य हुनेछ ।

त्यसअघि सभामुख महराले दोस्रो अधिवेशनमा भए/गरेका कामकारबाहीबारे संक्षिप्त जानकारी दिएका थिए। यो अधिवेशनको पहिलो बैठक गत वैशाख २१ गते प्रारम्भ भएको थियो।

प्रतिनिधिसभाको दोस्रो अधिवेशन बिहीबारसम्ममा १ सय ३५ दिन चलेको सभामुख महराले जानकारी गराए। उनका अनुसार जेठ ७ देखि असार ८ सम्म राष्ट्रियसभा र प्रतिनिधिसभाको चार पटक संयुक्त बैठक बसेको छ। यो अधिवेशनबाट संसद् नियमावली पारित, सरकारको नीति तथा कार्यक्रम छलफलपछि पारित, दुवै सदनका विषयगत समितिहरु गठन गरी सभापति चयन लगायतका महत्वपूर्ण कार्य गरेको सभामुख महराले जानकारी दिए।

अधिवेशन अवधिमा महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव पारित भएको, विकास निर्माण र चिकित्सा शिक्षामा बढ्दै गएको विसंगति नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल भएको उनले बताए।

सभामुख महराले संसद्काे विशेष र शून्य समयमा सांसदहरुदले उठाएका सडकको अवस्था सुधार, मूल्य नियन्त्रण, सुशासनलगायत विषयमा सरकारको पुन: ध्यानाकर्षण गर्ने बताए।

यी हुन् संसद्को दोस्रो अधिवेशनका कामहरु

प्रकाशित : आश्विन ११, २०७५ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्