कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोराछोरीको हत्यापछि परिवारै विस्थापित

तीन बालबालिकाको शव भेटिएको १५ महिना बितिसक्दा पनि प्रहरीले सत्यतथ्य पत्ता नलगाउँदा अभिभावक निराश

हलगाडा, सुनसरी — अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान ।

छोराछोरीको हत्यापछि परिवारै विस्थापित

अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार हाँसीखुसी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्याएर गाउँकै प्याउली बजारमा पसल गर्थे । तयारी पोसाक, शृंगारका सामान बेच्थे । परिवार रामै्रसँग धानेका थिए ३८ वर्षीय चेतनाथ फुयाँलले । पत्नी ३६ वर्षीया निर्मलाको भरथेग छँदै थियो ।

तीन सन्तानको भविष्य चम्काउने ध्याउन्नमा उनीहरूले आफ्नो खुसीलाई कहिल्यै महत्त्व दिएनन् । एकाएक उनीहरूको हाँसीखुसी जीवनलाई अन्धकारले छोप्यो । असार १० गते शनिबार । बिहान सधैंजसो चेतनाथ पसल जान तयार भए । छोराछोरीलाई पढ्न र गृहकार्य गर्न अह्राउँदै उनी घरबाट निस्किए । साढे ९ बजेतिर १४ वर्षीया छोरी सुुष्मा खाना लिएर पुगिन् । खाना खाएपछि छोरीलाई सम्झाए, ‘आफू पनि नुहाउनू, भाइलाई पनि नुहाइदिनू अनि पढेर बस्नू ।’ छोरीले चटपटे खान मन लागेको बताएपछि उनले गल्लाबाट झिकेर २० रुपैयाँ दिए ।

साँझ घर फिर्ने बेला गाउँबाट ८ सय रुपैयाँमा कुखुराको भाले किने । ८ वर्षीय छोरा प्रदीपले बिहानै भाले ल्याउन भनेका थिए । उनी घर पुग्दा छोराछोरीले खसीबाख्रा खोरमा हुलिसकेका हुन्थे । आँगन बढारकुँढार गरेका हुन्थे । तर आज त्यस्तो थिएन । छोराछोरी पनि थिएनन् । उनले पत्नी निर्मलालाई सोधे । उनले ‘वल्लोपल्लो घरतिर गएका होलान्’ भनिन् । चेतनाथले भाले काट्न ठिक्क पारे । अरू बेला छोराले भालेको पछाडिको खुट्टा समात्न रहर गरेको सम्झेर काटिहालेनन् । बरु छोरालाई बोलाउन निस्किए । तल्लो घर, माथिल्लो घर सोधखोज गरे । पत्तो लागेन । साँझ ७ बजिसकेको थियो । गाउँका कसैले छोराछोरीबारे केही बताउन सकेनन् । अब उनीहरू आत्तिए । कुखुराको भाले आँगनमै डुलिरह्यो ।

झन्डै आधा रातसम्म खोज्दा पनि नभेटिएपछि चेतनाथ स्थानीय प्रहरी चौकी पुगे । इन्स्पेक्टर माधव केसीलाई सबै विवरण सुनाए । ‘गाडी छ ?’ इन्स्पेक्टरले सोधे । चेतनाथले छिमेकीको गाडी मगाए । त्यही गाडीमा आफन्त, केही गाउँले र प्रहरीसमेत बसेर छोराछोरी खोज्न निस्किए । धनकुटाको सीमामा पर्ने लेगुवासम्म पुगे । त्यसबीचका खोल्साखोल्सी, खाडल, जंगल सबैतिर खोजे तर पत्तो लागेन ।

त्यतातिर नगएको भन्ने प्रहरी टोलीको निष्कर्षपछि उनीहरू गाउँ फर्किए ।

फुयाँल परिवार र आफन्तको रात अनिदै बित्यो । भोलिपल्ट प्रहरीले अपहरणमा परेको हुन सक्ने शंका गर्‍यो । सजग पनि गरायो, फिरौती माग्दै फोन आउन सक्छ । चेतनाथ फिरौती तिरेरै भए पनि छोराछोरी फिर्ता ल्याउन तयार थिए । उनले एक जनाको २ लाखका दरले दिन्छौं भनी स्थानीय एफएम रेडियोमा सूचना प्रसारण गर्नेसम्मको सल्लाह पनि गरे । राति नै थाहा भयो, सुष्मा र प्रदीपसँगै छिमेकी रवीन्द्र सापकोटाका १५ वर्षीय छोरा रञ्जित पनि हराएका रहेछन् । उनको समेत गरी तीन जनाको ६ लाख रुपैयाँ दिने गरी चेतनाथ तयार भएर बसे । तर, घटनाले अर्कै मोड लियो ।
***

अभिभावकले स्थानीय पण्डितसँग पनि सल्लाह गरे । पण्डितले गाउँकै एक मन्दिरमा दूध चढाए पत्तो लाग्ने सल्लाह दिए । उनीहरू दूध चढाउन हिँडे । घरभन्दा करिब सय मिटर परको मन्दिर जाने बाटैमा एउटा पोखरी पथ्र्यो । त्यो पोखरी स्थानीय तोरणबहादुर कार्कीको घर परिसरमा थियो । बालबालिका खोज्ने क्रममा उनीहरूले पोखरीमै पसेर पनि हेरेका थिए । त्यति बेला केही नदेखिएको पोखरीमा मन्दिरबाट फर्केर आउँदा भने तीनै बालबालिकाको शव देखियो ।

स्थानीय तह निर्वाचनका बेला थियो । १३ गते मतदान हुँदै थियो । १२ गते उनीहरूले आफ्ना सन्तान पोखरी नजिक मृत अवस्थामा फेला पारे । प्रहरीले पोस्टमार्टम गर्न भनी हतारहतार गाडीमा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको चेतनाथले बताए । ‘घटनास्थल र त्यस आसपासको अवस्था अध्ययन गरिएन,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्टबारे हामीलाई अहिलेसम्म केही भनिएको छैन, घटनाको राम्ररी अध्ययन नै गरिएन ।’

१४ वर्षीया सुष्मा स्थानीय शारदा उमाविको कक्षा ९ मा पढथिन् । ८ वर्षीय प्रदीप प्याउली इङलिस बोर्डिङ स्कुलको कक्षा ४ का प्रथम विद्यार्थी थिए । ‘ठूलो भएर डाक्टर बन्छु भन्थ्यो,’ चेतनाथले भक्कानिँदै भने, ‘अचम्मलाग्दो कुरा गरिरहन्थ्यो, थोरै दिनको रहेछ ।’

स्थानीय प्रहरी, क्षेत्रीय प्रहरी, प्रहरीको केन्द्रीय कार्यालय र अपराध अनुसन्धान विभागबाट पटकपटक टोली पुगेर घटनाबारे अनुसन्धान गर्‍यो । तर, मृत्युको कारण वा घटनामा संलग्नबारे केही पत्तो लगाएन । पीडित परिवारको गुनासो छ– प्रहरीले सुरुदेखि नै अनुसन्धानमा गम्भीर रूपले ध्यान दिएन । ‘प्रहरीका कति टोली आए तर हामीसँग भेट गर्ने र बुझ्ने काम गरेनन्,’ चेतनाथले भने, ‘हुर्केका छोराछोरीको त्यस्तो अवस्था बेहोरेका हामीसँग केही बुझ्नुपर्छ कि पर्दैन ?’

निर्मला अझै सम्हालिन सकेकी छैनन् । छोराछोरीबारे कसैले सोध्नेबित्तिकै उनी भक्कानिन्छिन् । टाउको दुख्ने र रिंगटा लागिरहने समस्या देखिएको चेतनाथ बताउँछन् । घटनाबारे केही खुलिहाल्छ कि भन्ने आसमा फुयाँल परिवार तीन महिना गाउँमै भौंतारियो । त्यसबीच सबै काममा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको चेतनाथले बताए । खर्च उठाउन उनले पसल बेचे ।

दलका नेता, प्रहरी, प्रशासनलगायतले अनेक आश्वासन दिए पनि घटनाबारे केही पत्तो लागेन । ‘पसल गयो, छोराछोरीकै सम्झना । बारी, कान्ला देख्यो उनीहरूले घाँस काटेको र खसीबाख्रा चराएको झल्को आउने, सँगै पढेका साथीहरू पसल र घरै आउन छाडेपछि मन गाउँमा अडेन,’ चेतनाथले भने, ‘पोहोर असोज ९ गते गाउँ छाड्यौं ।’

दुई–तीनटा बाकसमा दिदीभाइका कपडा थिए । पुस्तक र विद्यालयका अरू सामग्री पनि असरल्ल देख्दा मन थाम्न नसकेको आमा निर्मलाले बताइन् । गाउँ छोडदा ढोकामा ताला लगाउने आँट उनीहरूलाई आएन । लगाएको कपडाबाहेक केही नबोकी हिँडेको निर्मलाले सुनाइन् । घरमा पछि गाउँलेले ताला लगाइदिएका थिए ।

छोराछोरीको वार्षिकी गर्न उनीहरू गत असार तेस्रो साता गाउँ गएका थिए । वार्षिकी सके । एकाह पुराण लगाए । त्यसपछि एक दिन पनि नबसी सुनसरीको इटहरी उपमहानगर १ हलगाडा फर्किए । जहाँ उनीहरू ५ धुर जमिनमा टिनको छानो लगाइएको घरमा बस्छन् । जग्गा र घर उनीहरूका दाजुभाइ, काका, मामाका छोराहरूले जोडिदिएका हुन् । हाल उनीहरूको जीविकोपार्जनमा पनि तिनै आफन्तले सघाइरहेका छन् ।
***
घटनापछि उनीहरूका छोराछोरीका सहपाठी पनि विस्थापित बनेका छन् । सँगै पढ्ने तथा माथिल्लो, तल्लो कक्षाका गरी ६ जना विद्यार्थी अन्यत्रै बसेर पढिरहेका छन् । सरु सापकोटा, युसन फुयाँल, निशा फुयाँललगायत विराटनगर र इटहरीस्थित आफन्तकहाँ बसेर पढ्छन् । गाउँमा बस्न नमानेपछि उनीहरूलाई अभिभावकले आफन्तको घरमा पठाएको चेतनाथका भाइ तेजप्रसाद फुयाँलले बताए । तिनका अभिभावक भने गाउँमै छन् ।

आफ्ना छोराछोरीको रहस्यमय मृत्युबारे सत्यतथ्य पत्ता लगाउन चेतनाथ राज्यको उपल्लो तहसम्म पुगे । भोजपुरै माइती भएकी राष्ट्रपति विद्यादेवी भण्डारीदेखि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन गृहमन्त्री जनार्दन शर्मालगायतलाई भेटे । ‘सबैले घटनाको गम्भीर अनुसन्धान गरी दोषी पत्ता लगाउने आश्वासन दिए,’ चेतनाथले भने, ‘क्षतिपूर्ति र राहत पनि दिने भने तर अहिलेसम्म केही भएको छैन ।’ यस्तो प्रवृत्तिले आफूहरूलाई झन् दु:खी बनाएको उनले बताए ।

भोजपुरकी प्रमुख जिल्ला अधिकारी हीरा पौडेलले घटनापछि आफू चौथो प्रजिअका रूपमा आएको बताइन् । घटना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हेरिरहेको भन्दै उनले यसबारे आफूले केही भन्न सक्ने अवस्था नरहेको जनाइन् । ‘घटना विवरण सबै सुनेको छु,’ उनले भनिन्, ‘पीडित परिवारले अहिलेसम्म केही राहत पाएको छैन, यसका लागि पहल भइरहेको छ ।’

रञ्जितका पिता रवीन्द्र पति उस्तै विह्वल छन् । घटनाको १५ महिना बित्दासमेत सत्यतथ्य पत्ता नलाग्दा उनी निराश छन् । ‘मेरो छोरा आफंै मरेको हो भने मरेको हो भनिदेऊ, नत्र सत्यतथ्य पत्ता लगाइदिनुपर्छ,’ उनले भने । ढिलै भए पनि न्याय पाउने आशामा बसिरहेको उनले बताए । रवीन्द्र भने भोजपुरमै छन् ।

शव फेला पर्दा सुष्माको खुट्टामा चप्पल थिएन । प्रदीप र रञ्जितको भने थियो । बीपी प्रतिष्ठानको फरेन्सिक रिपोर्टमा प्रदीपको घाँटीको नलीमा खानेकुरा र सुष्मा र रञ्जितको घाँटीमा चुइगम फेला परेको उल्लेख छ । तर कुनै चोट, दाग र विषादी फेला नपरेकाले ‘डाइअटम’ गर्न‘पर्ने रिपोर्टले औंल्याएको छ ।

पोखरीको पानीमा भएको तत्त्व र बालबालिकाको शरीरमा रहेको तत्त्व तुलना गर्ने फरेन्सिक विधिलाई ‘डाइअटम’ भनिन्छ । पोखरीमा शव भेटिए पनि उनीहरूको पेटमा पानी थिएन । स्थानीय निर्वाचन सुरक्षाका लागि त्यस बेला प्याउलीमा सेनाको अस्थायी ब्यारेक खडा गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार प्रदीप र रञ्जित अन्तिमपटक ब्यारेकनजिकै देखिएका थिए । भोजपुरबाट निर्वाचित पूर्वसांसद कुमारीलक्ष्मी राईले अनुसन्धानमा लगिएको कुकुर सेनाको ब्यारेकतिर छिर्न लागेपछि तानिएको अभिव्यक्ति दिएकी थिइन् ।
***

‘यहाँ आएर त बसेको छु तर के खान्छु, कता जान्छु पत्तो हुँदैन, बिरामी श्रीमती स्याहार्छु,’ चेतनाथले भने, ‘अर्की छोरीको अनुहार हेरेर अहिलेसम्म चित्त बुझाएको छु ।’ अर्की छोरी १३ वर्षीया सुस्मिता हलगडाकै राष्ट्रिय माविको कक्षा ८ मा पढदै छिन् । ‘यही छोरीले बाबा, आमा भनेको सुनेर मन बुझाउने गरेका छौं,’ उनले भने, ‘कहिलेकाहीँ भाइ अहिले ठूलो भइसक्थ्यो होला नि भनेर सोध्छे । हामी भाइ भगवानको घर गएको छ नानी भनेर सम्झाउँछौं ।’

(धरानबाट प्रदीप मेन्याङबो र भोजपुरबाट एलिसा श्रेष्ठको साथमा)

प्रकाशित : आश्विन १२, २०७५ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?