कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्ली दूतावासको आग्रह- ‘कमिसनका लागि बिरामी पठाउनेलाई कारबाही गर’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाली बिरामीहरूलाई ‘कमिसन’ का लागि अनावश्यक रूपमा भारतीय अस्पतालमा रिफर गर्ने नेपालका चिकित्सक, अस्पताल र एजेन्टलाई कारबाही गर्न नयाँदिल्लीस्थित नेपाली दूतावासले आग्रह गरेको छ । 

दिल्ली दूतावासको आग्रह- ‘कमिसनका लागि बिरामी पठाउनेलाई कारबाही गर’

कमिसनकै लागि भारतीय अस्पतालमा बिरामी पठाउने व्यक्ति तथा संस्थाको पहिचानका लागि गृह मन्त्रालय, स्थानीय प्रशासन, नेपाल मेडिकल काउन्सिल, उपभोक्ता संरक्षण विभागको समन्वयमा तत्काल अनुसन्धान गर्न दूतावासले सुझाव दिएको छ । कमिसनकै लागि बिरामीहरूलाई अनावश्यक रूपमा भारतका क्लिनिक, नर्सिङ होम र अस्पतालमा ‘रिफर’ गर्ने गरिएको ठहर पनि दूतावासको छ ।

भारतस्थित स्वास्थ्य संस्था वा डाक्टरका एजेन्ट र तिनका कार्यालय भए तत्काल खारेज गर्न पनि दूतावासले सरकारलाई आग्रह गरेको छ । उपचारका लागि भारत आउने नेपाली बिरामीमाथि यहाँका डाक्टर तथा स्वास्थ्य संस्थाहरूले चर्को आर्थिक शोषण गर्ने गरेको गुनासो बढदै गएपछि दूतावासले यस्तो कदम चालेको कार्यवाहक राजदूत भरतकुमार रेग्मीले बताए ।


दिल्लीस्थित एक प्रतिष्ठित स्वास्थ्य संस्थाका उच्च अधिकारीले केही साताअघि कान्तिपुरसँग गरेको कुराकानीमा नेपाली बिरामी पठाएबापत प्रतिबिरामी १५ प्रतिशत कमिसन दिइने गरेको स्वीकार गरेका थिए । त्यसरी रिफर गरिएका बिरामीसँग ती स्वास्थ्य संस्थाले १० देखि ३५ प्रतिशतसम्म थप रकम लिने गरेका छन् । यस्तो कमिसन विभिन्न अनधिकृत च्यानलमार्फत नेपाल पठाइने गरिएको छ ।


दूतावासका अधिकारीहरूले यहाँका विभिन्न अस्पतालका नेतृत्वलाई भेटेर कमिसनको चलखेल र नेपाली बिरामीमाथि हुने अनावश्यक आर्थिक शोषण तत्काल बन्द गर्न सचेत गराएको बताएका छन् । दूतावासले नेपाली बिरामीसँग भारतीय बराबर नै शुल्क लिनुपर्ने आग्रह गरेको पनि कार्यवाहक राजदूत रेग्मीले बताए ।


दूतावासले उपचारका लागि भारत आउने नेपाली नागरिकले पहिले उपचार गर्न जाने अस्पताल, उपचार पद्धति, डाक्टर, उपचारमा लाग्ने समय, खर्चलगायतबारे आधिकारिक स्रोतबाट बुझेरमात्र आउन पनि आग्रह गरेको छ । मृगौला, कलेजो र बोनम्यारोजस्ता अंग प्रत्यारोपणका लागि आउने बिरामीले परराष्ट्र मन्त्रालयबाट आवश्यक कागजात र सिफारिस लिएरमात्र आउन पनि दूतावासले सचेत गराएको छ ।

प्रकाशित : आश्विन १३, २०७५ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?