कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुटबन्दीले धकेलिँदै नेविसंघ महाधिवेशन

विवादकै कारण शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेन
कुलचन्द्र न्यौपाने

काठमाडौँ — नेपाली कांग्रेसको आन्तरिक कलहका कारण भ्रातृ संगठन नेविसंघको महाधिवेशन अन्योलमा धकेलिएको छ । पार्टीका संस्थापन र अर्को पक्ष महाधिवेशन तयारी सुरु हुनुअघि नै नेविसंघ नेतृत्व आफूतिर पार्ने कसरतमा छन् । यही रस्साकसीले विवाद बढाउँदा शुक्रबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकसमेत हुन सकेन ।

गुटबन्दीले धकेलिँदै नेविसंघ महाधिवेशन

संघको विधान अनुमोदनका लागि बोलाइएको बैठक स्थगित भएपछि २१ गतेलाई पुन: डाकिएको छ ।


कात्तिक १६ देखि १८ सम्म राजधानीमा नेविसंघ महाधिवेशन तोकिएको छ । उक्त मितिमा महाधिवेशन नहुने सम्भावना बढेको छ । दुवै पक्षले एकअर्कालाई महाधिवेशन भाँड्न लागेको आरोप लगाउन थालेका छन् । संस्थापन पक्षले महाधिवेशनको तयारी अघि बढाउन अर्को पक्षले असहयोग गरेको जनाएको छ । अर्को पक्षले संस्थापनले केन्द्रीय कार्यसमिति भंग गरेर आफू अनुकूल तदर्थ समिति बनाउने कसरत गरेको आरोप लगाएको छ ।


सतहमा नेविसंघमा ३२ वर्षको उमेरहद लगाउने–नलगाउने भन्ने मुख्य विवाद छ । दुई वर्षअघि ११औं महाधिवेशनकै बेला ३२ वर्षे उमेर हद लगाउने समझदारी बनेको थियो । यो व्यवस्था लागू भए अहिले नेतृत्वमा दाबी गर्ने आधा दर्जन विद्यार्थी नेताले प्रतिस्पर्धै गर्न पाउँदैनन् । त्यही कारण उमेर हद हटाउन विद्यार्थी नेताले आ–आफ्ना गुटलाई दबाब दिँदै आएका छन् । सबैभन्दा बढी दबाब संस्थापनइतर पक्षका नेतालाई छ ।


यहीबीच नेविसंघ अध्यक्ष नैनसिंह महरले तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका १५ विद्यार्थी नेतालाई केन्द्रीय कार्यसमितिमा ल्याएपछि विवाद चुलिएको छ । महरले विजयकुमार गच्छदारनिकट विद्यार्थी नेता कपिलश्वर यादवलाई महामन्त्री र १४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गच्छदार समूहको समायोजन पार्टीमा समेत नभएकाले पार्टी र भ्रातृसंस्थाहरुमा ‘प्याकेज’मै गर्न प्रस्ताव गर्दै आएको छ ।


विवाद समाधान र महाधिवेशन तयारीका लागि सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा पार्टीले निर्देशन समिति गठन गरेको छ । गच्छदारनिकट विद्यार्थीको समायोजन सल्लाहविपरीत भएको र जिल्लामा प्रतिनिधि नखटाईएको कारण जनाउँदै पौडेलनिकट केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले निर्देशन समिति बैठक बहिष्कार गर्दै आएका छन् ।


‘पौडेल र महामन्त्री शशांक कोइरालासमेतको सहमतिमा गच्छदार समूहका विद्यार्थी नेताको समायोजन गरिएको हो,’ महतले भने, ‘अहिले त्यसमा विवाद निकाल्नु महाधिवेशन अघि बढाउन नदिनु हो ।’ उनले पार्टी नेतृत्व र संस्थापन पक्षले महाधिवेशन रोक्न नचाहेको बताए । ‘उहाँहरुले नै महाधिवेशन अघि बढाउन सहयोग नगर्ने स्थिति बनेको छ,’ महतले भने, ‘कुनै विवाद भए पार्टीले गठन गरेको संयन्त्रमा छलफल गरेर अघि बढ्न सकिन्छ । तर, बैठकमा सहभागी नभएर उहाँहरुले महाधिवेशनलाई धकेल्ने काम गर्नुभएको छ ।’


यहीँनेर नेतृत्व लिने स्वार्थ जोडिएको छ । संस्थापन पक्ष तत्कालीन फोरम लोकतान्त्रिकबाट प्रवेश गरेको समूहलाई विश्वासमा लिन सके नेतृत्व आफूतिर आउने सोचमा छ । पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाको चाहना नहुँदा–नहुँदै आफूहरुकै प्रयासमा समायोजन गरिएको सन्देश संस्थापन पक्ष दिन चाहन्छ । त्यही बुझेर अर्को पक्ष असन्तुष्ट छ । ‘समायोजन कुन पदमा कति जनालाई गर्ने भन्नेबारे एकपटक सल्लाहसम्म गरिएन,’ संस्थापन इतरपक्षका एक नेताले कान्तिपुरसँग भने, ‘सकभर महाधिवेशन नगरी तदर्थवादमा चलाउने, महाधिवेश नै भइहाले कसरी आफ्नो पक्षमा पार्ने भनेर चलखेल सुरु भएपछि हामीले विधिसम्मत महाधिवेशनको कुरा अघि बढाएका हौं ।’


३२ वर्षे उमेरहद लागू गर्ने–नगर्नेमा पनि दुवैका आ-आफ्ना स्वार्थ छन् । उमेर हद लागू गर्न सकिए विद्यार्थीमाझ पकड रहेका अर्को पक्षका आकांक्षी बाहिरिने र त्यसको फाइदा आफूलाई हुने संस्थापन पक्षको बुझाइ छ । अर्को पक्ष उमेर हद हटाएर विद्यार्थीमाझ राम्रो पकड भएका नेतालाई अघि सार्ने दाउमा छ । नेविसंघ अध्यक्ष महरले पार्टीमा गुटको समस्याले महाधिवेशन टर्ने खतरा देखिएको बताए ।


‘पार्टीभित्रको समस्या सुल्झिए हामी मंसिर २ गतेसम्म महाधिवेशन गराएरै छाड्छौं,’ उनले भने । महर समितिको कार्यकाल भदौ २ गते सकिए पनि महाधिवेशन गराउने प्रयोजनका लागि तीन महिनाको समय थप पाएको छ । मंसिर २ सम्म महाधिवेशन नभए समिति स्वत: भंग हुनेछ छ । संस्थापन इतरपक्षका विद्यार्थी नेता मोती भण्डारीले केन्द्रीय कार्यसमितिले ३२ वर्ष उमेर हद हटाउन पार्टीमा सिफारिस लेखी पठाइसकेका कारण समस्या झिक्न नहुने बताए ।

प्रकाशित : आश्विन १९, २०७५ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?