कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौनियार स्वत: निलम्बित : सभामुख

मकर श्रेष्ठ

काठमाडौँ — सभामुख कृष्णबहादुर महराले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दा दायर गरिएका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियार स्वत: निलम्बनमा परेको बताएका छन् ।

रौनियार स्वत: निलम्बित : सभामुख

संसदीय मामिला पत्रकार समाजद्वारा शनिबार संघीय राजधानीमा आयोजित कार्यक्रममा सभामुख महराले भने– ‘उहाँ भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार स्वत: निलम्बित भइसक्नुभयो ।’


महराका अनुसार अख्तियारले सांसद रौनियारविरुद्ध उनको पप्पु कन्स्ट्रक्सनले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल निर्माण अनियमितता गरेकामा विशेष अदालतमा मुद्दा दायर गरिएको लिखित जानकारी शुक्रबार नै संसद सचिवालयलाई दिइसकेको छ । ‘उहाँलाई मुद्दा दायर भएको पत्र संसद सचिवालयमा आइसकेको छ’ उनले भने । स्रोतका अनुसार सभामुख महराले एक/दुई दिनभित्रै सूचना प्रकाशित गरी रौनियार भ्रष्टाचार निवारण ऐनअनुसार स्वत: पदबाट निलम्बित भएको जानकारी संसद सचिवालय र प्रतिनिधिसभाका सदस्यहरूलाई दिने छन् ।


अख्तियारले प्राविधिक कर्मचारीसितको मिलेमतोमा अनियमितता गरी गुणस्तरहीन पुल निर्माण गरेको अभियोगमा पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष एवं सांसद रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । पप्पु कन्स्ट्रक्सनले जब्दीघाटस्थित बबईमा निर्माण गरेको पुल गुणस्तरहीन भएका कारण उदघाटन नहुँदै भास्सिएर भत्किएको थियो ।



यो पनि पढ्नुहोस् ।

गुणस्तरहीन पुल बनाएको भन्दै सांसद हरिनारायण रौनियारसहित १२ जना विरुद्ध मुद्दा दायर [अख्तियारको पत्रसहित]


प्रकाशित : आश्विन २०, २०७५ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?