कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेक्का लिँदै, बेच्दै

विमल खतिवडा

काठमाडौँ — पप्पु कन्स्ट्रक्सनले हुलाकी राजमार्गअन्तर्गत बर्दियाको भुरीगाउँ–गुलरिया–मुर्तिया सडक निर्माणको ठेक्का अर्कैलाई बिक्री गरेको छ । विवादित यो कन्स्ट्रक्सनले २०७३ माघ २१ गते सम्झौता गरी १८ किलोमिटर सडक निर्माणको ठेक्का लिएको थियो ।

ठेक्का लिँदै, बेच्दै

भ्याटबाहेक ठेक्का रकम २६ करोड ५ लाख ३० हजार रुपैयाँ छ । निर्माणको समयावधि २०७६ साउन १९ सम्म छ । अहिलेसम्म ३० प्रतिशत मात्र काम भएको छ ।


हुलाकी राजमार्ग आयोजना नेपालगन्जका प्रमुख कृष्णनाथ ओझाले बाँकेमै आयोजित कार्यक्रममा ठेक्का सम्झौता पप्पु कन्स्ट्रक्सनको नाममा भए पनि काम गणपति निर्माण सेवाले गरिरहेको बताएका थिए । ‘कागजमा पप्पुको नाम छ,’ उनले भने, ‘गणपतिलाई हामी चिन्दैनौं ।’ पप्पुले ठेक्का लिए पनि अहिले गणपतिले काम गरिरहेको छ ।


रकम भुक्तानीका लागि बैंक खातासमेत गणपतिकै नाममा खोलिएको छ । ठेक्का रकमको करिब २ प्रतिशत रकम बुझेर पप्पुले गणपतिलाई ठेक्का बेचेको हो । २०७४ कात्तिकमा गणपति र पप्पुबीच सम्झौता भएको थियो ।


ठेक्का बिक्रीको यो एउटा उदाहरण हो । पछिल्लो समय ठेक्का बिक्री गर्ने क्रम बढेको छ । मोबिलाइजेसन खर्च लिने र काम गर्न नसक्ने अवस्था भएपछि ठेकेदारले आफूभन्दा कमजोर निर्माण व्यवसायीलाई ठेक्का बेच्ने प्रवृत्ति छ । तर नियमले ठेक्का बेच्न नपाइने भौतिक पूर्वाधार मन्त्रालयका विज्ञ पूर्वसचिवहरू बताउँछन् । ‘ठेक्का लिएर अन्तिम समयमा बिक्री गर्न मिल्दैन, प्राय: सबैमा सुरुमै बिक्री हुन्छ’, पूर्वसचिव तुलसी सिटौलाले भने, ‘चारैतिरबाट आक्रमण भएका कारण पप्पु कन्स्ट्रक्सनले अन्तिम समयमा आएर बिक्री गरेको हुन सक्छ, सामान्यतया ठेक्का बिक्री गर्न पाइँदैन ।’


उनका अनुसार सब–कन्ट्रयाक्ट लगाउनका लागि पनि कार्यालयको स्वीकृति चाहिन्छ । ‘ठेक्काको बेला नै ठेकेदार सब–कन्ट्रयाक्ट लगाउँछु भन्नुपर्छ । औपचारिक रूपमा बिक्री गर्न पाइँदैन । बिक्रीका लागि जसको काम (नेपाल सरकारको) हो, उसले मान्नुपर्छ,’ सिटौलाले भने, ‘निर्माण व्यवसायीले आफूखुसी बिक्री गर्न पाउँदैन, सम्झौता अर्कैसँग हुन्छ । अर्को निर्माण व्यवसायीले आएर काम गर्दा कसरी चिन्नु ? सबै व्यवहार, कारोबार पहिला जसले ठेक्का लिएको थियो, त्यहीसँग हुन्छ । अर्कोलाई चेक बुझ्ने अधिकार मात्र हुन्छ ।’ निर्माण नसक्दासम्म जसले ठेक्का लियो, उसैको नाम रहन्छ । चेकको कारोबार मात्र नयाँले गर्न पाउँछ ।


पहिला लिने ठेकेदारले घटेर ठेक्का लिएको हुन्छ । उसले अर्कोलाई नाफा लिएर दिन्छ । ‘चलनचल्तीको ठेकेदार भए उसले नयाँ ठेक्का लिन्थ्यो, अर्काले जुठो बनाएको काम लिँदैनथ्यो,’ उनले भने, ‘यस्तो गर्दा कामको गुणस्तर खस्किन्छ । काम सम्पन्न हुने ग्यारेन्टी कम हुन्छ । निर्माण व्यवसायीप्रतिको विश्वाससमेत घट्दै जान्छ ।’ उनका अनुसार व्यवसायीले पेसामा टिकिरहनेभन्दा पनि सांसद, मन्त्री बन्ने ध्याउन्नका कारण निर्माण व्यवसाय प्रभावित बनेको छ ।


‘आफ्नो क्षमताभित्र मात्र ठेक्का लिनुपर्‍यो, लिएको जिम्मेवारी तदारुकतासाथ पूरा गर्नुपर्‍यो,’ उनले भने, ‘राज्यले खोजेको यही हो ।’ उनका अनुसार बजेट नभएर निर्माण प्रभावित भएको भन्नु गलत हो । ‘राज्यले बजेटअनुसारकै ठेक्का गर भनेर दिएको हुन्छ, ठेक्का गर्दा कर्मचारीले केही फाइदा पाउँछन्,’ उनले भने, ‘त्यसकारण ठेक्का गर्न लालायित हुन्छन्, ठेक्का गरेपछि उनीहरू ठेकेदारजस्तै निष्क्रिय बन्छन् ।’


थापाका अनुसार निर्माण क्षेत्रमा बेथिति बढदै गएको छ । एउटैले धेरै ठेक्का ओगट्ने गरेका कारण निर्माण व्यवसाय प्रभावित बन्दै गएको छ । पूर्वसचिव किशोर थापा ठेक्का बिक्री गर्नु बेइमानी भएको बताउँछन् । ‘ठेक्का लिँदा उसको प्राविधिक, आर्थिक पक्ष हेरिन्छ, उपयुक्त निर्माण व्यवसायी भनेर नै उसलाई ठेक्का दिने गरिन्छ,’ उनले भने, ‘राज्यले विश्वास गरेर ठेक्का दिने हो । यस्तो अवस्थामा ठेक्का अर्कालाई दिनु विश्वासघात हो ।’ उनका अनुसार सब–कन्ट्रयाक्टिङ गर्न पाइन्छ तर यसबारे ठेक्का दिने बेला नै सरकारलाई थाहा हुनुपर्छ । ठेक्काभित्र सबै काम एउटैले मात्र गर्न सक्दैन । त्यही भएर सब–कन्ट्रयाक्ट गर्न पाइन्छ ।


‘तर पूरै ठेक्का नै अर्कालाई दिनु बेइमानी हो,’ उनले भने, ‘अर्काले लिइसकेको ठेक्का जसले लिन्छ, उसले गुणस्तरीय काम गरेको हुँदैन, उसको कुनै पनि कागजपत्र पेस हँुदैन, न उसले सरकारलाई चिन्छ, न सरकारले उसलाई चिन्छ ।’ सरकारले चिन्ने भनेको जुन कम्पनीलाई ठेक्का लियो, उसलाई नै हो । पुल निर्माणमा सबभन्दा बढी ठेक्का लिनेमा पप्पु कन्स्ट्रक्सन पर्छ । उसले जति ठेक्का लिएको छ, त्यसमा अधिकांश पुल अलपत्र छन् । त्यस्तै सडक निर्माणको ठेक्का लिएर अलपत्र पार्ने काम बढदो छ । कतै धूलोले सर्वसाधारण आन्दोलित छन् त कतै व्यस्त सडकमा चाडबाडको समयमा निर्माणको काम थाल्दा टाढा हिँडेका यात्रु बीच सडकमै अलपत्र पर्ने गरेका छन् ।


संसदको सार्वजनिक लेखा समितिका पूर्वसचिव सोमबहादुर थापा ठेक्का बिक्री गर्नु गलत भएको बताउँछन् । ‘ठेक्का अर्कोलाई ट्रान्सफर गर्नेले आफ्नो दायित्व पन्छाएको हुन्छ, उसले कस्तो काम गर्‍यो भनेर गुणस्तर चेक गरिँदैन,’ उनले भने, ‘त्यसको असर सरकारलाई पछिसम्म पर्छ ।’ उनका अनुसार ठेक्का बिक्री गर्न नपाइए पनि अर्कोलाई दिनु हुँदैन । ‘आफ्नो ठेक्काको काम अर्कालाई दिनु विकृति हो, सुरुमा सम्झौता गर्दा कागजमा ठेक्का आफैंले सक्छु भनेको हुन्छ, उपठेक्का गर्छु भनेको हुँदैन,’ उनले भने, ‘ठेक्का अर्कोलाई दिनु सम्झौताबाट भाग्नु हो । पैसामा बर्गेनिङ गरेर ठेक्का अर्कोलाई दिने प्रवृत्ति छ, जुन गलत र गैरकानुनी हो ।’


सरकारले उपठेक्का व्यवस्था गर्न पाउने नियम नै खारेज गर्नुपर्ने राय थापाको छ । ‘ठेक्का लिएर अरूलाई दिने ठेकेदारले कसरी गुणस्तरीय काम गर्छ भनेर विश्वास गर्ने ?’ उनले भने, ‘यस्तो कार्यलाई निरुत्साहित नगरे गुणस्तरीय काम हुँदैन ।’

प्रकाशित : आश्विन २२, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?