कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिल्सा–सिमकोट सडक: च्याछडा भीर चुनौती

जयबहादुर रोकाया

हुम्ला — हिल्सा– सिमकोट सडकको ट्रयाक खोल्न च्याछडा भीर चुनौती बनेको छ । भीरमा कडा चट्टान भेटिएपछि विस्फोट गराई ट्रयाक खोल्न नसक्दा २ वर्षदेखि काम रोकिएको थियो ।

हिल्सा–सिमकोट सडक: च्याछडा भीर चुनौती

यस वर्ष नेपाली सेनाले ३ हजार केजी विस्फोटक पदार्थ उपलब्ध गराएपछि च्याछडामा काम सुरु गरिएको हो । सडक आयोजनाका अनुसार विस्फोट ४ पटक गराए पनि ५० मिटर ट्रयाक खुल्न सकेको छैन ।


नाम्खा गाउँपालिकाको च्यादुक गाउँमा पर्ने भीरमा २ सय ५० मिटर कडा चट्टान भेटिएपछि समस्या भएको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर वीरेन्द्रबहादुर शाहीका अनुसार ९५ किमि सडकको ९० किमिमा ट्रयाक खुलिसकेको छ । बाँकी ५ किमिमध्ये २ सय ५० मिटर च्याछडाको चट्टानसहित ७ सय ५० मिटरको सडकको काम पुरानै ठेकेदारले निर्माण गर्ने जिम्मा छ । चट्टान फुटाउन बाँकी रहेकाले अरू ४ किमिको काम रोकिएको थियो । तर, यो वर्ष ट्रयाक खोल्न टेन्डर स्वीकृत भइसकेको छ ।


‘२ वर्ष पहिले साबिक जिविसको जिम्मामा रहेको विस्फोटक पदार्थ लगेर ६ पटक विस्फोट गराएका थियौं,’ शाहीले भने, ‘अहिलेसम्म १० पटक विस्फोट गराउँदा पनि ५० मिटर क्लियर हुन सकेको छैन ।’ १५ सय केजीबाट ५० किमि ट्रयाक खुल्ने आशा भए पनि पूरा नभएको उनले जनाए । उनका अनुसार यस वर्ष आएको ३ हजार केजीमध्ये ४ पटक विस्फोट गराउँदा झन्डै ४ सय ५० केजी सकिएको छ ।


यही रफ्तारमा काम भए बाँकी विस्फोटक पदार्थले नपुग्ने आयोजनाले जनाएको छ । च्याछडाबाहेक अन्य ४ किमिमा पनि झन्डै सय मिटर कडा चट्टान छ । त्यहाँ पनि विस्फोट गराउनुको विकल्प छैन । विस्फोटक पदार्थ नेपाली सेनाले मात्रै उत्पादन र वितरण गर्छ । योजनालाई आवश्यक भएको समयमा सेनाले उपलब्ध नगराउने भएकाले पनि ठेकेदारमार्फत काम भइरहेको आयोजनामा ढिलाइ भएको हो । ‘हामीले कार्यालय स्थापना भएदेखि नै सेनासँग विस्फोटक पदार्थ माग गर्दै आएका थियौं तर मौज्दात नभएको भन्दै बेवास्ता गरिएको थियो,’ शाहीले भने, ‘अहिले उपलब्ध गराएको विस्फोटक पदार्थ पनि ठेकेदारले भनेको समयमा विस्फोट गराउन समस्या छ ।’ आयोजनाका अनुसार माथिल्ला निकायको आदेश लिनुपर्ने भन्दै विस्फोटमा ढिलाइ गरिन्छ ।


हिल्सा–सिमकोट सडकका ५ स्थानमा पुल बनेका छैनन् । आयोजनाले यो वर्ष सल्ली, ताक्रु र हेक्पाखोलामा पक्की पुल निर्माणका लागि टेन्डर गरिसकेको जनाएको छ ।


यांगार खोलाको पुल निर्माणका लागि लागत इस्टमेट स्वीकृति हुने क्रममा छ । कर्णाली नदीमा पर्ने हिल्सा र तुमकोटमा बेलिब्रिज निर्माण भएर गाडी वारपार भइरहेका छन् । हिल्सामा कर्णालीमाथि सरकारले नेपाल–चीनमैत्री पुल निर्माण गर्ने योजना बनाए पनि काम सुरु भएको छैन ।


प्रधामन्त्री केपी ओली पहिलोपटक चीन भ्रमणमा गएको समयमा पुल निर्माणको सम्झौता भएको थियो । नेपाल सरकारका तर्फबाट सक्रियता नदेखाउँदा निर्माणमा ढिलाइ भएको हो । आयोजना कार्यालयले सडकको ९५ किमि ट्रयाक खुलेको जनाए पनि अहिले हिल्सादेखि दक्षिण ७३ किमिमा मात्र गाडी सञ्चालन हुन्छ । सिमकोटदेखि उत्तर हेप्काखोलासम्म १५ किमि ट्रयाक खुलेको छ । दुवै मिलाएर ८८ किमि मात्रै सडकमा गाडी गुड्ने गरेका छन् । ट्रयाक खुलेका अन्य सडकमा च्याछडाको चट्टानले गाडी आउजाउ रोकेको छ ।


उत्तर चीनको सीमा लिमीलाप्चादेखि दक्षिण सिमकोट जोड्ने अर्काे सडक पनि आयोजना कार्यालयले नै निर्माण गर्दै आएको छ । यो सडकले सिमकोट जोडिसकेको कार्यालयले जनाएको छ तर हेक्पा खोलामा पुल नभएकाले गाडी वारपार हुने गरेको छैन ।

प्रकाशित : आश्विन २२, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?