नागढुंगा–पिपलामोड सडक सुचारु
काठमाडौँ — नागढुंगा–पीपलामोड सडकखण्डमा पिच निर्माण भएसँगै दुइतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक पिच गर्न सुरु गरिएपछि दैनिक सवारी आवागमन प्रभावित बन्दै आएको थियो ।
शनिबार राती पिच निर्माणको काम सकिएपछि सवारी आवागमन सहज भएको सडक डिभिजन कार्यालय काठमाडौं–२ ले जनाएको छ ।
सडक पिचको काम असोज १५ गते रातीबाट थालिएको थियो । डिभिजन प्रमुख देवकुमार तामाङका अनुसार पिच सुरु भएको पहिलो दिन राती ८ बजेदेखि बिहान ५ बजे सम्म सवारी बन्द गरिएको थियो । दोस्रो दिनबाट एकतर्फी यातायात खोलेर पिच गरिएको हो ।
काठमाडौं प्रवेश गर्ने मुख्य नाका पीपला मोडदेखि नागढुंगा सम्म २ किमी सडक पिच गरिएको हो । यो खण्डमा धेरै खाल्डाखुल्डी भएकाले यात्रुले दैनिक सास्ती खेप्नु पर्ने बाध्यता थियो । पिच निर्माणको काम सकिएपछि निर्वाध रुपमा यातायात सुचारु भएको नागढुंगामा ट्राफिक प्रमुख हरी भट्टराईले बताए ।
यो खण्ड भएर दैनिक करिब १० हजार सवारी साधन आवतजावत गर्ने गरेका छन् । चाडबाडको समय नजिकिदै गर्दा पिच निर्माणको काम थालिएको थियो । जामले गर्दा यात्रुलाई राजधानी प्रवेश गर्न एक दिन बढी समय लाग्ने गरेको थियो ।
प्रकाशित : आश्विन २२, २०७५ १५:४०