२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

निर्मला हत्या प्रकरण: ‘औपचारिकता पूरा गरेजस्तो प्रतिवेदन’

प्रहरीलाई विभागीय कारबाहीमात्र होइन, हिरासतमा लिएर अनुसन्धान गर्न माग
कान्तिपुर संवाददाता

कञ्चनपुर — निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानबिनका लागि गठित उच्चस्तरीय समितिले अपराधीबारे ठोस कुरा बाहिर ल्याउला भन्ने उनकी आमा दुर्गादेवीले आस गरेकी थिइन्  ।

निर्मला हत्या प्रकरण: ‘औपचारिकता पूरा गरेजस्तो प्रतिवेदन’

समिति सदस्यले समेत अपराधी किटान गरेरै प्रतिवेदन लेख्ने आश्वासन दिएकाले उनी झनै विश्वस्त थिइन् । तर आइतबार प्रतिवेदन सार्वजनिक गर्दा उनका यी सबै आशा निराशामा बदलिए ।


‘प्रतिवेदन चित्तबुझ्दो छैन, पुरानै कुरा आए, न अपराधी पत्ता लाग्यो, न त प्रमाण ढाकछोप गरी नष्ट गर्नेहरू नै किटान गरिए,’ दुर्गादेवीले भनिन्, ‘प्रतिवेदनमा भएका कुरा त हामीले सुरुदेखि भन्दै आएका छौं, के नै नयाँ आएको छ र ?’ उनले प्रहरी र बम दिदीबहिनीमाथि फेरि अनुसन्धान गर्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख भए पनि प्रहरीबाट मात्रै हुने अनुसन्धानमा विश्वास नभएको बताइन् । विगतमा पनि बम दिदीबहिनी रोशनी र बबितालाई २५ दिनसम्म हिरासत राखेर छाडिएको थियो ।


‘बम दिदीबहिनीसँग बयान लिँदा अधिकारकर्मीलाई पनि साक्षी राख्नुपर्छ,’ दुर्गाले भनिन्, ‘प्रहरीले लिने बयान तथा अनुसन्धान चित्तबुझ्दो छैन ।’ उनले आइतबार सार्वजनिक गरिएको प्रतिवेदनमा ठोस रूपमा कसको के कमजोरी हो भन्ने कुरा नआएको बताइन् । समिति सदस्य वीरेन्द्र केसीले घर र काठमाडौंमा समेत अपराधीका नाम किटान गरिने भने पनि प्रतिवेदनमा त्यस्तो केही नआएको गुनासो गरे ।


‘प्रहरीले अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेको कुरा हामीले पहिल्यै भनेका छौं,’ निर्मलाका बुवा यज्ञराजले भने, ‘प्रतिवेदनले पनि यिनै कुराबाहेक खासै नयाँ ल्याउन सकेन, हामीलाई हत्यारा चाहिएको हो त्यसका विषयमा केही उल्लेख छैन ।’ उनले छानबिन समिति सदस्य वीरेन्द्रले राजीनामा दिँदा र समितिमा फर्किंदासमेत निर्मलालाई न्याय दिएरै छाड्ने भने पनि कामभन्दा गफ बढी गरेको बताए ।


साउन १० गते साथीको घरमा आएकी निर्मला दोस्रो दिन १ किलोमिटर पर उखुबारीमा मृत भेटिएकी थिइन् । घटनाको दिन रोशनी ट्युसन पढ्न गएको परिवार र प्रहरीले दाबी गरे पनि छानबिन समिति प्रतिवेदनमा प्रहरीले नै ट्युसनका नोटबुक दिएको कुरा उल्लेख गरिएको छ । रोशनीका बुवाले मीरा एजुकेसनका शिक्षकसँग ट्युसन पढ्न आएको भनिदिनु भन्दै आग्रह गरेका थिए । यसकारण उनीहरू थप शंकाको घेरमा परेको प्रतिवेदनमा उल्लेख छ ।


‘प्रतिवेदनले कसको के गल्ती हो भन्ने कुरा पनि खुलाएको छैन,’ यज्ञराजले भने, ‘यहाँ भए/देखेका र हामीले माग गरेका कुरामात्रै आएका छन्, समितिले छानबिन गरेको हो कि हाम्रा बयान लेख्ने काम गरेको ?’ उनले छानबिन समितिले कुन प्रहरीको के गल्ती छ र त्यसलाई कारबाही गर्नुपर्छ भनेर उल्लेख गर्न नसकेको गुनासो गरे । अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीको सुझावप्रति उनले आपत्ति जनाएका छन् । ‘यस्तो जघन्य घटनाको अनुसन्धानमा लापरबाही गर्नेलाई विभागीय कारबाहीले पुग्दैन, हिरासतमा लिएर अनुसन्धान गर्नुपर्छ,’ यज्ञराजले माग गरे ।


निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै सुरुदेखि आन्दोलनरत महिला अधिकारकर्मी र नागरिक समाजका अगुवाले प्रतिवेदनबारे मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले
केही हदसम्म प्रतिवेदन ठीक भए पनि अझै धेरै कुरा अलमलिएको बताए । ‘प्रतिवेदनले अपराधीको नाम किटान नै गर्नुपर्ने थियो तर हुन सकेन,’ नागरिक संघर्ष समिति संयोजक मीना भण्डारीले भनिन्, ‘कतिपय नयाँ कुरा पनि छन्, प्रहरीले गरेका धेरै गल्ती र कमजोरी बाहिर ल्याइयो ।’


उच्चस्तरीय छानबिन समिति प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गर्दै नागरिक संघर्ष समितिले अघिल्लो शनिबारदेखि महेन्द्रनगर बजारको मदन चोकमा धर्ना दिँदै आएको थियो । प्रतिवेदन सार्वजनिकपछि सोमबारदेखि धर्ना स्थगित गरिएको उनले सुनाइन् । ‘अब प्रतिवेदनले दोषी देखाएकालाई कारबाही माग गर्दै थप आन्दोलनका कार्यक्रम अघि ल्याइनेछ,’ उनले भनिन् । आन्दोलनमै सहभागी दबाबमूलक संघर्ष समिति संयोजक हेलेन श्रेष्ठले पनि प्रतिवेदनमा नयाँ कुरा केही नआएको र कञ्चनपुरवासीले भनेका कुरामात्रै लेखिएको बताइन् ।


नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मीले उच्चस्तरीय छानबिन समिति प्रतिवेदन औपचारिकतामै सीमित रहेको बताए । ‘प्रतिवेदन औपचारिकतामै सीमित भयो,’ उनले भने, ‘जुन अपेक्षा थियो, त्यसअनुसार केही नयाँ आएन ।’ उनले निलम्बित एसपी विष्टसहित अन्य प्रहरी अधिकारी र बम दिदीबहिनीमाथि पीडित परिवार र स्थानीयले पहिलेदेखि नै शंका गरिरहेका थिए । प्रतिवेदनमा त्यही उल्लेख छ ।

प्रकाशित : आश्विन २३, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?