२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बलात्कारको झुटो रिपोर्ट

कान्तिपुर संवाददाता

जनकपुर — जनकनन्दनी गाउँपालिकाकी १२ वर्षीया बलात्कृत बालिकाको स्वास्थ्य जाँच तेस्रोपटक गरिएको छ  । उनको स्वास्थ्य जाँचमा चिकित्सकले खेलाँची गरेको भेटिएपछि जाँचबुझ समितिले पीडितको तेस्रोपटक स्वास्थ्य जाँच गराएको हो  ।

बलात्कारको झुटो रिपोर्ट

बलात्कारको गलत रिपोर्ट बनाउने जनकपुर अञ्चल अस्पतालका डाक्टरकै सामुन्ने समितिले बलात्कृतको तेस्रो स्वास्थ्य परीक्षण गराएको छ । दुई अस्पतालले स्वास्थ्य परीक्षण प्रतिवेदन फरक–फरक दिएपछि अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ समितिले आइतबार जनकपुर अञ्चल अस्पतालमै पुन: स्वास्थ्य परीक्षण गरायो ।

डा. हरिहर वस्ती नेतृत्वको ४ सदस्यीय समितिले तेस्रोपटक बलात्कृतको स्वास्थ्य जाँच गराएको हो । प्रतिवेदन अञ्चल र जिल्ला अस्पतालको फरक भए पनि समिति भने सिरहा जिल्ला अस्पतालको प्रतिवेदनसँग सहमत भएको वस्तीले बताए ।

डाक्टरको बदमासी पत्ता लगाउन वस्ती नेतृत्वमा स्वास्थ्य मन्त्रालयका उपसचिव, स्त्रीरोग विशेषज्ञ र मेडिकल काउन्सिल पदाधिकारीसहितको टोलीले आइतबार तेस्रोपटक बलात्कृतको स्वास्थ्य परीक्षण गरेको हो । स्वास्थ्य परीक्षणमा विशेषज्ञ टोलीले अञ्चल अस्पतालको डाक्टरले दिएको प्रतिवेदनभन्दा फरक पाएको हो । टोलीले गलत स्वास्थ्य प्रतिवेदन दिने दुवै डाक्टरसँग ३ घण्टा सोधपुछ गरेको थियो ।

धनुषा, जनकनन्दनी गाउँपालिका–२ की १२ वर्षीयालाई भदौ ८ गते राति ओछ्यानमै पुगेर छिमेकी २३ वर्षीय किरण खत्वेले बलात्कार गरेका थिए । इलाका प्रहरी खजुरीले भदौ ९ गते जनकपुर अञ्चल अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो । अस्पतालले ११ दिनपछि दिएको प्रतिवेदनमा ‘नो स्केच’ भनिएको छ । तर बालिकाको गाला, आँखा, ओठ र घाँटीमा कोतरेको घाउ देखिन्छ ।

जनकपुर अञ्चल अस्पतालका डा. रम्भा गोइत र डा. विजयकुमार सिंहले बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण गर्दा केही नभएको रिपोर्ट तयार गर्दै बलात्कृतको भजिना र ह्यमेन नर्मल देखाएका थिए । सिरहा अस्पतालका डा. राकेशकुमार सिंहले भने भदौ २५ गते स्वास्थ्य जाँच गर्दा अनुहारको विभिन्न भागमा बाइट मार्क, भजिना क्नगेसन र ह्यमेन रुप्टुरेड (यौनांग च्यातिएको) प्रतिवेदन दिएको छ ।

आरोपितको बयान र सिरहा जिल्ला अस्पतालको फरक स्वास्थ्य प्रतिवेदनपछि जनकपुर अञ्चल अस्पतालका डाक्टर बलात्कृत बालिकाको गलत स्वास्थ्य प्रतिवेदन ढिला उपलब्ध गराएर अनुसन्धान प्रभावित गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय धनुषाले कारबाहीका लागि माग गरेको थियो ।

सरकारी वकिलको कार्यालयले अभियुक्त खत्वेसहित स्वास्थ्य रिपोर्टमा छेडखानी गर्ने चिकित्सकलाई पनि कारबाही माग गर्दै जिल्ला अदालत धनुषामा असोज ४ गते मुद्दा दर्ता गराएको थियो । जघन्य अपराधमा बलात्कारीलाई जोगाउने नियतले चिकित्सकले रिपोर्ट तयार गरेको दाबी गर्दै सरकारी वकिल कार्यालयले दुवै रिपोर्टको प्रतिलिपि र खत्वेको स्वीकारोक्तिको भिडियो टेपसहित स्वास्थ्य, गृह मन्त्रालय, मेडिकल काउन्सिल, महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयलाई गलत गर्ने चिकित्सकलाई कारबाही गर्न भनेको थियो ।

प्रतिवेदन तत्कालै आउने
महान्यायाधिवक्ताको कार्यालयले मुद्दामा पीडितको घाउ, जाँच प्रतिवेदन, शारीरिक परीक्षण प्रतिवेदन तथा शव परीक्षण प्रतिवेदन तीन दिनभित्र तयार गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

स्वास्थ्य परीक्षण प्रतिवेदन प्रमाणयोग्य हुने हुँदा समयमै प्राप्त भएमात्र अनुसन्धान प्रभावकारी हुने हुँदा मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४ को दफा २२ को उपदफा ४ मा परीक्षण प्रतिवेदन तीन दिनभित्रै अनुसन्धान अधिकृतलाई उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

प्रकाशित : आश्विन २३, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?