सांसद बन्ने योजनाबाट पछि हटे गौतम

दुर्गा खनाल

काठमाडौँ — सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् ।

उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् । स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायतको कारण देखाउँदै उनले तत्काल सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए । ‘अहिलेको परिस्थिति र प्रतिक्रिया सुन्दा निर्वाचनमा सहभागी हुनेजस्तो वातावरण देखिएन,’ गौतमको भनाइ उद्धृत गर्दै काठमाडौं ७ का ती नेताले भने ।

Yamaha


स्थानीय नेता र काठमाडौंबाट निर्वाचित प्रदेशसभाका सदस्यहरूले बिहीबार गौतमलाई भेटेर छलफल गर्न खोजेका थिए । तर भेट्नका लागि आग्रह गर्नेलाई उनले तत्काल आफू त्यहाँ चुनाव लड्न नआउने जानकारी गराएका थिए ।

तर गौतमकै विषयमा बिहीबार काठमाडौंका प्रदेशसभा सदस्यहरूको भेला भएको थियो । भेलामा तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित सबै प्रदेशसभा सदस्य उपस्थित थिए । ‘हामीले अहिले स्थानीय वस्तुस्थिति बुझा चुनाव गर्नेजस्तो देखिएको छैन,’ काठमाडौं ७ बाट प्रदेशमा निर्वाचित प्रकाश श्रेष्ठले भने, ‘यही अवस्थाबारे पार्टी केन्द्रलाई जानकारी गराउने छौं ।’ चुनावको एक वर्ष नहुँदै उपचुनाव गर्नु जनमतको पनि विपक्षमा हुने श्रेष्ठले बताए ।

पूर्वएमाले र माओवादी केन्द्रको बिहीबारै बसेको जिल्ला कमिटीको बैठकले पनि चुनावको अवस्था नरहेको ठहर गरेको थियो । राजीनामा दिने मनस्थिति बनाएका सांसद मानन्धरलाई आफ्नो निर्णय सच्याउन उनीहरूले सुझाव दिएका छन् ।
‘अहिलेको सन्दर्भमा मुलुकमा चुनाव गर्नुपर्ने कुनै आवश्यकता छैन,’ तत्कालीन एमालेका काठमाडौं अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद कृष्ण राईले भने, ‘रामवीर मानन्धरलाई पनि पार्टीमा दिएको राजीनामा फिर्ता गर्न हामीले अनुरोध गरेका छौं ।’

बुधबार काठमाडौं ७ का प्रदेशसभा सदस्य वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र पार्टी अध्यक्ष न्हुच्छेकाजी महर्जनले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई भेटेर गौतमका लागि अवस्था प्रतिकूल रहेको ब्रिफिङ गरेका थिए ।

सांसद मानन्धरले नेता गौतमका लागि भन्दै गत सोमबार पार्टी सचिवालयमा राजीनामा बुझाएका थिए । त्यसपछि उनले मंगलबार पत्रकार सम्मेलन गरेर पार्टीले स्वीकृति दिएपछि सांसद पद छोड्ने बताएका थिए । त्यसपछि नेता गौतमको चुनावमा उठ्ने कुराको व्यापक विरोध भएको हो ।

गौतमको चर्चा चलेपछि पार्टीले स्थानीय वस्तुस्थितिको समेत आकलन भयो । स्थानीय नेताहरू नै विपक्षमा उभिएपछि गौतमका लागि अवस्था प्रतिकूल बन्यो ।

पार्टी केन्द्रमा पनि गौतमको विषय विवादित बनेको छ । नेताहरू ईश्वर पोखरेल, भीम रावलमात्र होइन, गौतमसँग निकट मानिएका महासचिव विष्णु पौडेलसमेत यो निर्णयमा सन्तुष्ट छैनन् । पौडेलले बिहीबार सार्वजनिक रूपमै गौतम अब चुनावमा उठ्न नहुने बताएका छन् ।

गत सोमबारको बैठकमा अकस्मात् मानन्धरको राजीनामापत्र अध्यक्ष पुष्पकमल दाहालको हातबाट आएपछि अन्य नेताहरू पनि आश्चर्यमा परेका थिए । स्रोतका अनुसार गौतमलाई सांसद बनाउने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल विरोधमा जान नसक्ने अवस्था थियो । त्यसैले अर्को बैठकबाट निर्णय गर्ने भनेर त्यो पत्र थाती राखियो ।

सचिवालयको बैठक बुधबारका लागि बोलाइयो । तर मंगलबार गौतम उपचुनावमा उठ्ने भनेर सार्वजनिक समाचार र मानन्धरको पत्रकार सम्मेलनले पार्टीभित्र र बाहिर तरंग ल्यायो । सबै क्षेत्रबाट विरोध हुन थाल्यो । त्यसैले पार्टीले बुधबारका लागि निर्धारित सचिवालयको बैठक पनि कात्तिक ४ सम्मका लागि पर सारेको छ । तत्काल बैठक गर्दा गौतमको विषयमा कुनै निर्णय गर्नुपर्ने भएकाले अध्यक्ष ओलीको चाहनामा बैठक पर सारिएको नेकपाका नेताले जनाए ।

प्रतिनिधिसभामा प्रवेश गर्नका लागि गौतमले यसअघि झन्डै दर्जनपटक प्रयास गरेका थिए । तर कतै पनि परिस्थिति अनुकूल नभएपछि काठमाडौं ७ का सांसद मानन्धर उनका लागि सहयोगी बन्न खोजे । परिस्थिति उनको विपक्षमा देखापर्‍यो । त्यसैले उनी तत्कालका लागि सांसद बन्ने दिशामा अघि नबढ्ने निष्कर्षमा पुगेका हुन् । गौतम आफैंले भने यो विषयमा प्रतिक्रिया दिन मानेनन् ।

प्रकाशित : आश्विन २५, २०७५ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कमाउन गएको छोरो कफिनमा

पर्वत पोर्तेल

सुरुंगा, झापा — साउदीको जुहेलस्थित एउटा मिनिरल वाटर कम्पनीमा कार्यरत थिए, झापा कन्काई नगरपालिका २ सुरुंगाका ३१ वर्षीय झलक श्रेष्ठ (दीपक) ।

साउदीमा दुर्घटनामा परी मृत्यु भएका झापा सुरुंगा २ का दिपक श्रेष्ठका वुवा,छोरा र श्रीमती । तस्बिर: पर्वत पोर्तेल/कान्तिपुर

गत असोज ८ गते बिहान श्रीमती विन्दुसँग उनले निकै लामो फोनमा कुरा गरेका थिए ।

श्रीमती विन्दुका अनुसार उनले दसैं बिदा नमिलेका कारण तिहारपछि आउने योजना सुनाए । कस्तो विडम्बना † त्यही दिन अपराह्न ४ बजे उनी दुर्घटनामा परे । तिहारपछि होइन, दसैंअघि नै उनी घर फर्किए तर काठको बाकस (कफिन) मा ।

जुहेलस्थित अल अब्दुल्लाह अब्दुल वाहक अल वाराक कम्पनीको हेभी ट्रकका चालक थिए दीपक । दुई वर्षअघि युसो ग्लोबल म्यानपावरमार्फत उनी त्यहाँ पुगेका हुन् । ‘ऊ तेस्रोपटक साउदी गएको थियो’, बुवा जितबहादुर भक्कानिए, ‘यसअघि पनि दसैंमा आउने, जाने गथ्र्यो । यो पटकचाहिँ पापी दैवले चुँडेर लग्यो ।’

मृत्युको दिन दीपक कम्पनीको मान्छे लिन एयरपोर्ट जाँदै थिए । तर, एयरपोर्ट पुग्न नपाउँदै बीच बाटोमै उनको गाडी दुर्घटना भयो । घटनास्थलमै उनको मृत्यु भयो । मृत्युको भोलिपल्ट मात्रै परिवारले खबर पाएको बताए । ‘छोराको मृत्युको भोलिपल्ट कम्पनीका सुपरभाइजर मनोज पौडेलले फोनबाट खबर सुनाए, तर पत्यार लागेन,’ बुवा जितबहादुरले बिलौना गर्दै भने, ‘यथार्थ रहेछ । अहिले पनि सपनाजस्तो लागिराछ ।’

खाडीमा मृत्यु भएकाको शव ल्याउन साह्रै समस्या छ । मृत्युलगत्तै शव ल्याउने पहल भएको तर प्रक्रिया लामो भएको काका डिगेनले सुनाए । ‘बल्लतल्ल १७ दिनपछि शव ल्याउन सक्यौं,’ उनले भने, ‘साह्रै झमेला हुँदोरहेछ शव ल्याउन ।’

बुधबार दीपकको शव बुझ्न बुवा जितबहादुर, काका डिकेन तथा आफन्त एयरपोर्ट पुगे । धेरैका छोरा दसैं मान्न घर फर्किंदा दीपक भने काठको बाकसमा आए । छोराको शव बुझ्न गएका जितबहादुर र आफन्त भक्कानिए ।

‘आफू मर्ने बेलामा छोराको किरिया बस्नुको पीडा कस्तो होला,’ जितबहादुरले बिहीबार सुरुंगास्थित घरमा भने, ‘त्यो मलाईमात्रै थाहा छ ।’ दीपक उनका कान्छा छोरा हुन् । उनका श्रीमती र एउटा छोरा छन् । ‘नातिको भविष्यको चिन्ताले मलाई सताइरहेको छ,’ आमा पवित्राले चिन्ता गरिन् ।

प्रकाशित : आश्विन २५, २०७५ २०:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT