कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तह : सिफारिस दस्तुर २४ गुणासम्म

ढुंगा छापेको सडक फोडा ८ सय रुपैयाँ धरौटी राखे पुग्नेमा ५ हजार रुपैयाँ पुर्‍याइएको छ
माधव अर्याल

पाल्पा — तानसेन नगरपालिकाले सिफारिस दस्तुरमा २४ गुणासम्म कर वृद्धि गरेको छ । व्यवसायमूलक शीर्षकमा करको दर परिवर्तन नगरे पनि ५५ वटा सिफारिस दस्तुरमा भने अत्यधिक कर बढाएको सर्वसाधारणको गुनासो छ ।

स्थानीय तह : सिफारिस दस्तुर २४ गुणासम्म

स्थानीय सरकार भन्छ– कर बढेको छैन । करको दायरा बढेको हो । तर, गत वर्ष संस्था नवीकरण सिफारिस गर्दा नगरपालिकाले २ सय १० रुपैयाँ लिएको थियो । यस वर्ष ५ हजार १० रुपैयाँ लिएको छ ।

‘२ हजार ४ सय प्रतिशतसम्मले बढेको छ,’ सामुदायिक रेडियो मदनपोखराका लेखा प्रमुख छवि भट्टराईले भने ।


उनले सामुदायिक बहुसञ्चार केन्द्र, तानसेन नगरपालिका ८ को रेडियोको संस्था नवीकरण गर्न जाँदा कर तिर्दा अचम्म परेको बताए । ‘अघिल्लो वर्ष र अहिलेको रसिद नै फेसबुक वालमा राखेको छु,’ उनले भने, ‘कर वृद्धि भएको छैन भन्ने स्थानीय तहको अवस्था यस्तो छ ।’ तानसेन नगरपालिकाले भने करमा वृद्धि नभएको दाबी गरेको छ । तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले पत्रकार सम्मेलन र विभिन्न कार्यक्रममा कर वृद्धि नभई करको दायरा बढाएको बताउँदै आएका छन् । नगरपालिकाका जनप्रतिनिधि पनि करको दायरा बढेको तर कर नबढेको भाषण गर्दै हिँडेका छन् ।


‘सिफारिसको दरमा केही शीर्षकमा मात्रै बढेको हो,’ मेयर शाहीले भने, ‘अन्य सबै अघिल्लो वर्षको यथावत् छ ।’ तर, कर तिर्न नगरपालिका पुग्ने सेवाग्राही भने अचम्मित पर्ने गरेका छन् । सिफारिसमा समेत दोब्बर/तेब्बर मात्र नभई अत्यधिक बढेको सेवाग्राहीको गुनासो छ । अधिकांशले आर्थिक ऐन माग गर्ने गरेका छन् । तर, प्रमुुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीले ऐन हेर्न नदिएको सेवाग्राहीको गुनासो छ । अहिले ऐन छापिएर आइसकेकाले खरिद गरेर हेर्न सकिने मेयर शाहीले बताए ।


नगरपालिकाको वेबसाइटमा राखिएको अघिल्लो र यस वर्षको आर्थिक ऐन अध्ययनले १० देखि २ हजार ४ सय प्रतिशतसम्म कर वृद्धि गरेको देखिएको छ । स्थानीय सरकारले मनोमानी ढंगले कर वृद्धि गरेको मेयरका प्रत्याशी अजयमान कर्मचार्यले बताए । ‘पत्रकार र नागरिक समाजलाई आर्थिक ऐन अध्ययन गर्न आग्रह गर्छु,’ कर्माचार्यले भने । स्थानीय बासिन्दा चित्रवलीराम सुवालले ५० रुपैयाँको सिफारिस दस्तुरलाई यस वर्ष नगरपालिकाले ५ सय लिने गरेको गुनासो गरे ।


‘वडाबाट सिफारिस लिएर गयो अनि पुन: ५ सय नगरपालिकाले लिन्छ,’ उनले भने, ‘सर्वसाधारणको दैनिक काम गर्ने सेवामा दुई/तीन गुणा शुल्क वृद्धि गरेको छ ।’ अघिल्लो वर्ष बिटोरी इजाजत दस्तुर १ सय लिने गरेकामा यस वर्ष ५ सय रुपैयाँ पुगेको छ । संस्थागत धारा सिफारिसमा ५ सयबाट १ हजार रुपैयाँ पुर्‍याएको छ । तानसेन नगरपालिकाले घरजग्गा नामसारी सिफारिसको ७ सयबाट १ हजार रुपैयाँ बनाएको छ ।


अंशबन्डा सिफारिस ३ सयबाट ८ सय रुपैयाँ पुगेको छ । वैदेशिक प्रयोजन सिफारिस दस्तुर १ हजारबाट बढेर १ हजार ५ सय रुपैयाँ पुगेको छ । कुनै पनि संघसंस्था खोल्ने सिफारिस दस्तुर ७ सयबाट १ हजार रुपैयाँ पुर्‍याइएको छ । संघसंस्था नवीकरण सिफारिस ५ सयदेखि ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भने २ सयदेखि १ हजार रुपैयाँमात्रै थियो ।


कच्ची घर भत्काउने सिफारिस पनि १ सयबाट बढेर १ हजार रुपैयाँ पुगेको छ । पक्की घर भत्काउन भने ३ हजार रुपैयाँ लाग्ने बनाइएको छ । जन्मदर्ता सच्याउने सिफारिस लिँदा पनि ५ सयबाट १ हजार रुपैयाँ पुर्‍याइएको छ । बकसपत्र सिफारिस १ हजार ५ सयबाट २ हजार रुपैयाँ पुगेको छ । मोही सिफारिस १ हजारबाट १ हजार ५ सय रुपैयाँ पुगेको छ । व्यवसाय दर्ता अघिल्लो वर्ष २ सय थियो । यस वर्ष ६ सय रुपैयाँ पुगेको छ । विशेष सुविधा प्राप्त गर्ने सिफारिस ५ सयबाट १ हजार पुर्‍याइएको छ ।


अन्य सिफारिसको अघिल्लो वर्ष २ सय रुपैयाँ थियो । यस वर्ष भने ५ सय पुर्‍याएको छ । विद्यालयका लागि पनि पूर्वप्रावि मन्टेश्वरीको १ हजार ५ सयबाट २ हजार ५ सय रुपैयाँ बनाएको छ । आधारभूतको २ हजारबाट ४ हजार रुपैयाँ पुर्‍याइएको छ । माविको २ हजार ५ सयबाट ८ हजार रुपैयाँ बनाइएको छ ।

आफ्नै जग्गाको रूख स्वप्रयोजनका लागि कटान सिफारिस ५ सयबाट १ हजार रुपैयाँ पुर्‍याइएको छ ।


काठ कटान गरी बिक्री गर्ने प्रयोजनका लागि १ हजार ५ सयबाट २ हजार ५ सय पुर्‍याइएको छ । सडक फोडा इजाजत धरौटी पिच सडक र आरसीसीका लागि ५ हजारबाट १० हजार बनाइएको छ । यसको ५० प्रतिशत धरौटी नगरपालिकाले नै राख्ने गर्छ । ढुंगा छापेको सडक फोडा ८ सय रुपैयाँ धरौटी राखे पुग्नेमा ५ हजार रुपैयाँ पुर्‍याइएको छ । ५ लाख रुपैयाँभन्दा बढीको पुँजी लगानीमा उद्योग स्थापना गर्दा १ हजार तिरे पुग्नेमा अब २ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।


तानसेन नगरपालिकाले करको दायरा पनि फराकिलो बनाएको छ । अघिल्लो वर्ष झन्डै ३ सय प्रकारका करका शीर्षक थिए भने यस वर्ष ६ सय पुर्‍याइएको छ । नगरपालिकाले धूमपान, मादक पदार्थ, ग्यास, मट्टीतेललगायतका व्यवसायका शीर्षकमा भने करको दर बढाएको छैन ।


गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष भेषराज तिमिल्सेनाले स्थानीय गैरसरकारी संस्थालाई परिबन्दमा पारेर कर लिएको बताए । ‘नगरपालिका र गाउँपालिकाले बढी शुल्क लिएका छन्,’ उनले भने, ‘सिफारिस गर्दा ५ देखि ८ हजारसम्म लिएको रसिद आएको छ ।’ यही किसिमले कर लिने हो भने खुलेर काम गर्नेभन्दा संस्था बन्द गरेर हिँड्नुपर्ने अवस्था आउने उनले बताए ।


तानसेन नगरपालिकाका मेयर शाहीले भने, ‘मन नपरेको मान्छेको छाया नै बाङ्गो देखेको’ जस्तो भएको बताए । कुनैमा पनि कर नबढाएको बताउँदै ५५ वटा सिफारिस शीर्षकमा भने कर हेरफेर भएको उनले बताए । ‘हामीसँग राजपत्र छ । किनेर लगेर हेर्नुस् । कुन नियतले प्रचार भएको छ, थाहा भएन,’ उनले भने, ‘प्रचार गर्नेलाई नै थाहा होला ।’

प्रकाशित : आश्विन २६, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?