१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

‘माननीयज्यू, हत्यारा पत्ता लगाइदिनुस्’

डम्बरसिं राई

खोटाङ — बलात्कारपछि हत्या भएकी रीता तामाङका बुवा वीरबहादुरले सिम्पानीमा आयोजित दसैंको शुभकामना आदान–प्रदान कार्यक्रममा सोमबार ‘माननीयज्यू छोरीको हत्यारा पत्ता लगाइदिनुहोस्’ भन्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईसमक्ष आग्रह गरे  ।

‘माननीयज्यू, हत्यारा पत्ता लगाइदिनुस्’

घटना भएको लामो समयसम्म पनि दोषी पत्ता नलागेको भन्दै उनले यस्तो आग्रह गरेका थिए । अघिल्लो वर्ष माघ २६ मा खोटेहाङ गाउँपालिका ९, लिच्कीराम्चेकी १७ वर्षीया रीताको सिम्पानीस्थित कुसेऔंसी जंगलमा हत्या भएको थियो । प्रहरीले अझैसम्म हत्यामा संलग्न पत्ता लगाउन सकेको छैन ।


घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आशंका जनाएको थियो । खोटाङस्थित प्रहरीले अनुसन्धान गर्न नसकेपछि रिजनल इन्भेस्टिगेसन टिम (आरआईटी) लाई आयोगले अनुरोध गरेको थियो । सिम्पानी बजारस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता घर नआएपछि खोजीका क्रममा कुशेऔंसी जंगलको बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा भेटिएकी थिइन् ।


रीता हत्याबारे गृहमन्त्री रामबहादुर थापासमक्ष समेत डेलिगेसन गएको स्थानीय राजन ढकालले बताए । गृहमन्त्री थापाले हत्यारा पत्ता लगाउने आश्वासन दिएको ढकालले बताए । प्रतिनिधिसभा सदस्य भट्टराईले संसद्मा समेत कुरा उठाएको बताएका छन् । स्थानीयले भने प्रहरी प्रशासन दोषी पत्ता लगाउन उदासीन बनेको गुनासो गरेका छन् । जिल्लास्थित राजनीतिक दल तथा अधिकारकर्मीसमेत यो घटनाप्रति संवेदनशील नबनेको उनीहरूको गुनासो छ ।


त्यस्तै माइतीघरबाट फर्कने क्रममा जन्तेढुंगा ३, काहुलेस्थित छिमाहा जंगलमा अघिल्लो साउन ४ गते मृत भेटिएकी दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न पनि अझै पत्ता लाग्न सकेको छैन । उनको शव सडकभन्दा करिब ५ सय मिटर तल फेला परेको थियो । कम्मरमुनिको कपडा खोलिएको र नाकबाट रगत बगेको अवस्थामा विश्वकर्माको शव फेला परेको थियो ।

प्रकाशित : आश्विन ३०, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?