कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'हराउँदै दसैंको मौलिकता र रौनकता'

माधव अर्याल

पाल्पा — पहिला दसैंको घटस्थापनादेखि नै गाउँघरमा चहलपहल बढ्थ्यो । गाउँघरका मुलबाटो, गोरेटो, घोडेटो खन्न उर्दी लगाइन्थ्यो । दसैंका लागि घर लिपपोत हुन्थ्यो । दाउरा संकलन गर्थे । सेल रोटी पकाउन र मासुका लागि स्कुल बिदा भएपछि दाउरा संकलन गर्ने प्रचलन थियो ।

'हराउँदै दसैंको मौलिकता र रौनकता'

पञ्चमीदेखि बनकसी खर काट्ने गर्थे । किशोरकिशोरी, युवायुवती, बालबालिका लिङ्गे पिङ् बनाउन व्यस्थ हुन्थे । गाउँगाउँमा सोरठी, झाम्रे सुरु भइसक्थ्यो । रोटे अर्थात् चर्खे र झाँते पिङ बनाउन भ्याइनभ्याइ हुन्थ्यो । तर आजकाल गाउँघरमा पनि रमाइलो छैन । युवापुस्ता बाहिर देशमा छन् । केही आउँछन् कतिपय नआउने समस्या छ । किनभने छुट्टी मिल्दैन- रामपुर नगरपालिका ९ लाम्दीखोलाका गोपाल काफ्लेले पुराना कुरा सम्झिए ।

‘हिजोका ती दिन सम्झिदा मनै भक्कानिएर आउने गर्छ,’ उनले भने, ‘अहिले गाउँमा युवा खोज्दा पाउन मुश्किल छ ।’ युवाहरु विदेश गएका छन् । कतिपय रोजगारका लागि बाहिर जिल्ला छन् । दसैंमा टीका लगाउन कार्यालय बिदा भएपछि मात्र आउने गर्छन् । ‘त्यसैले ती दिनका मौलिकता हराउनु स्वाभाविक हो,’ उनले भने, ‘यस्तै हो भने हाम्रो पूरानो संस्कृति बिर्सदै जाने अवस्था आउँछ ।’ गाउँमा रोटे, चर्खे पिङ हाल्नै छाडेका छन् । मगर गाउँमा झाम्रे लगाउन छाडिसकेका छन् । यतिमात्र होइन, परम्परागत दसैं घरसम्म जाने बाटो खन्न छाडिएको छ ।


दसैं घरमा परम्परा धान्नलाई दैनिक पूजा हुन छाडेको छैन । तर, विगतमा जस्तो रमाइलो हुन छाडेको पूर्वखोला १ सिलुवाका ज्ञानबहादुर रानाले बताए । ‘बजारमा के हुन्छ र गाउँमा छुट्टै मजा हुन्छ भन्थे मैले तर अहिले भन्नै सक्दिनँ,’ उनी भन्छन्, ‘तर पछिल्ला समय दसैंको रौनक देख्दिनँ ।’ बजारमा भन्दा गाउँमा दसैं आएको रौनक बढी हुन्थ्यो । पहिले सदरमुकाम र मुलुकका विभिन्न भागमा पुग्नेहरु दसैं सुरु भएपछि गाउँ जान आतुर हुन्थे । ‘अहिले त्यस्तो देखिँदैन,’ उनले भने, ‘तेस्रो मुलुक जानेहरुले छुट्टी पाउँदैनन् ।’ पहिला चाडपर्वको महत्व गाउँमा बढी हुन्थ्यो । बजारमा केही दिन सामान किन्नेको भीडले रमाइले भएपनि गाउँमा भने फरक रौनक हुन्थ्यो । ‘चाडपर्वका बेला सबैलाई गाउँघर नै मनपर्दथ्यो,’ निस्दी ५ की विमला गैरेले भनिन्, ‘अहिले गाउँघर पनि सुनो लाग्ने भएको छ ।’


उनको अनुभवमा गाउँमा चाडपर्वका बेला घरमा लिपपोत गर्नेहरु आफ्नै धुनमा हुन्थे । रातो, सेतो माटो लिन जानेको भीडभाड र रमाइलो हुन्थ्यो । हतार हतारमा लिपपोत गर्ने र घरवरिपरीको वातावरण सफा गर्न गाउँमा व्यस्तता छाउँछ । ‘मैले त घटस्थापनाअघि नै घर लिपपोत गरेको देख्थे,’ उनले भनिन्, ‘अहिले त्यस्तो देखिँदैन ।’ गाउँमा हुने दसैंको रौनक लिङ्गेपिङ, जाते, रोटेपिङ पनि थिए । अहिले कहिँकतै लिङ्गेपिङबाहेक देख्न मुश्किल छ । बुढापाकाले मोटरबाटो र गोरेटो सफा गर्न मान्छे लगाउने चलन थियो । कतिपय गाउँमा अझै पनि कटुवालले हाँक हालेर, बाटो सफा गर्ने, कोट घरमा सरसफाई गर्ने गर्छन् । तर जनसंख्या भने ग्रामीण भेगमा कमी हुँदै गएको छ ।

महिलाहरुको सालको पात टिप्ने, दाउरा संकलन गर्ने चटारो अहिले हराउँदै गयो । दसैंका बेला पकाउने सामानको तयारी जोरजाम गर्न पनि धेरै कमी भएको छ । ‘गाउँघरमा धेरै जमघट कम हुने भएकाले पहिलाजस्तो हुँदैन,’ उनले भने, ‘भारत, खाडीमुलुक र अन्य देश गएकाहरु दसैं मनाउन कमैमात्र आउने गर्छन् ।’ विगतमा गाउँगाउँमा माइक र साउण्ड बक्सका आवाज आउथ्यो । कतै सांस्कृतिक कार्यक्रम भएका हुन्थे । मगर गाउँमा लाहुरे फर्केकाले झाम्रे बसेका हुन्थे ।


आमा समूहले लाहुरेका घरमा गएर नाचगान गरेर पैसा संकलन गर्न सुरु भइसक्थ्यो । तर, अहिले गाउँ सुनसान हुने अवस्था आएको छ । ‘दसैंमा नवरात्रदेखि नै दैनिक नाचगानमा व्यस्त हुन्थ्यौ,’ सिलुवाकी कविता आलेले भनिन्, ‘यसबाट उठेको पैसाले गाउँकै हित हुने काम गर्ने चलन थियो ।’ अघिपछि सुनसान हुने गाउँ यतिबेला नौला व्यक्तिहरुको आगमनसँगै पिङ, मेला र मन्दिरहरुमा घुइँचो बढ्थ्यो । युवा फर्केपछि महिला, वृद्धवृद्धा, केटाकेटी मात्रै देखिने गाउँमा रौनक छाउथ्यो । अष्टमी, नवमी, दशमीको लागि गाउँलेले बोका, राँगो, चोचे किन्न सुरु भए पनि खासै रौनक नभएको झडेवाका अनुप जीसीले बताए । ‘पहिला जस्तो गाउँमा रौनक पक्कै छैन,’ उनले भने, ‘तर आफ्नो गाउँघर बिर्सन सकिँदैन ।’

प्रकाशित : आश्विन ३१, २०७५ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?