कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

सेलेघाट-साँघुटार जोड्ने सडक कालोपत्रे हुन समय लाग्ने

टीकाप्रसाद भट्ट

रामेछाप — तीन वर्ष अघिदेखि चर्चामा रहेको रामेछापको सेलेघाट-साँघुटार जोड्ने सडकको कालोपत्रे गर्ने महत्वाकांक्षी योजना महिनौ पछि धकेलिएको छ । 

सेलेघाट-साँघुटार जोड्ने सडक कालोपत्रे हुन समय लाग्ने

सडक आयोजनामा प्रि-क्वालिफिकेसनबाट छानिएका निर्माण व्यवासायीले बोलपत्र दर्ता नगर्दा सडक निर्माणको काम पछि धकेलिएको हो । सेलेघाट-रामेछाप-साँघुटार सडक आयोजनाले यसअघिको बोलपत्रको प्रक्रिया रद्द गरेको सूचना जारी गरेको छ भने अर्को सूचना जारी गरेको छैन ।

एक्जीम बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त सडकका लागि ४ वटा निर्माण व्यवसायी प्रि-क्वालिफिकेसनमा छानिएका थिए । छानिएका मध्ये २ वटा फर्म भारतमा कालोसूचीमा परेका र अन्य दुईले बोलपत्र दाखिला नगरेको जनाइएको छ ।

आयोजना कोअडिनेटर सुशीलबाबु ढकालका अनुसार करिव ५० किलोमिटर लामो उक्त सडक निर्माणका लागि केही दिनमानै फेरि सूचना प्रकाशन हुँदैछ । ‘हामी तिहार अघि नै बोलपत्र प्रकाशन गर्ने तयारीमा छौं,' ढकालले भने, 'त्यसका लागि तयारी पुरा भएको छ ।' बोलपत्र प्रकाशन, प्राविधिक र आर्थिक प्रश्तावको मूल्यांकन र आशयको सूचना प्रकाशित गर्दा निर्माण थाल्नका लागि अझै थप केही समय लाग्ने उनले वताए ।

सेलेघाटबाट रामेछाप हुँदै ओखलढुंगाको सिमाना साँघुटारसम्म जोड्ने उक्त सडक डबल लेनको हुने छ । साढे ७ मिटर चौडा हुने उक्त सडकमा साढे ५ मिटर कालोपत्रे हुने ढकालले बताए । सडकमा पर्ने घर जग्गा र सार्वजनिक संरचनाको मुआव्जा वितरणको कार्य समेत सँगसँगै हुने उनले बताएका छन् । करिव ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको जिल्लाकै सबैभन्दा ठूलो उक्त आयोजनाका लागि करिव साढे २ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

उक्त सडकको सबै भागमा ट्र्याक खोलिसकिएको छ । सेलेघाट, बेतिनी, हुलाकडाडाँ ल्याङल्याङ, भंगेरी, रामेछाप, सुकाजोर, सालु, देउराली हुँदै सडक साँघुटार पुग्ने आयोजनाका इन्जिनियर उमेश सुवेदीले बताए । साँघुटारबाट पूर्व ओलखढुंगा जिल्लामा नेपाल सरकारकै लगानीमा सोही मापदण्डको सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । उक्त सडकले पूर्वी पहाडी जिल्ला ओलखढुंगाको सदरमुकाम जोड्छ ।

ट्र्याक सडकमा हिउँदका महिना मात्रै गाडी गुड्ने गरेका छन् । वर्षायामको अधिकांश समय सवारी आवागमन प्रभावित हुन्छ । सेलेघाटबाट रामेछाप जोड्ने सिधा सडक प्रभावित हुँदा त्यस क्षेत्रको यातायात मन्थली हुँदै घुमाउरो सडक पार गर्नुपर्ने बाध्यतामा छन्।

प्रकाशित : कार्तिक ८, २०७५ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?