कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साथी ट्राइसाइकल

एक जना मात्रै बस्न मिल्ने ट्राइसाइकलमा दुई छोरीलाई राखेर मनकुमारी परियार दैनिक ओहोरदोहोर गरिरहन्छिन् । उनका जन्मैदेखि खुट्टा चल्दैनन् ।
ठाकुरसिंह थारू

नेपालगन्ज — नेपालगन्जको व्यस्त फोर लेन सडक । सवारी साधनको घुइँचो छ ।भीडमा एउटा ट्राइसाइकल गुडिरहेको छ । त्यसमा पछाडिपट्टि ७ वर्षीया इशा परियार झुन्डिएकी छन् ।५ वर्षीया श्रीया अगाडिपट्टि अटेसमटेस गरेर बसेकी छन् ।

साथी ट्राइसाइकल

एक जना मात्रै बस्न मिल्ने ट्राइसाइकलमा दुई छोरीलाई राखेर ३४ वर्षीया मनकुमारी परियार दैनिक यसैगरी ओहोरदोहोर गरिरहन्छिन् । नेपालगन्ज उपमहानगर २०, राँझाकी उनका जन्मजात खुट्टा चल्दैनन् ।

श्रीमान् लालसिंह परियार पनि शारीरिक रूपमा अक्षम थिए । तैपनि उनी ट्राइसाइकलमा भारतको रुपैडिहाबाट सामान ल्याएर बिक्री गर्थे । त्यसैबाट आएको पैसाले परिवार चलेको थियो । गत वर्ष उनको मृत्यु भएपछि परिवार पाल्ने जिम्मेवारी मनकुमारीको काँधमा आएको छ । उनी हरेक दिन रुपैडिहा पुग्छिन् र किराना सामान ल्याई नेपालगन्ज, राँझा क्षेत्रमा बिक्री गर्छिन् । घरमा कोही नभएकाले छोरी बोकेरै उनी रुपैडिहा पुग्ने गरेकी हुन् ।

ट्राइसाइकलमा एक जना मात्रै बस्न मिल्छ । ‘तर छोरीहरू मलाई छोड्नै मान्दैनन्, घरमा एक्लै छोड्नु पनि भएन,’ अगाडिपछाडि साइकलमा बसेका छोरी देखाउँदै उनले भनिन्, ‘अगाडिको चक्का पछाडि सामान राख्छु । त्यसमाथि कान्छी बस्छे, जेठी पछाडि झुन्डिन्छे ।’

श्रीमान् भएका बेला उनी घरमा छोरी स्याहारेर बस्थिन् । अहिले दैनिकी असहज बनेको छ । जहाँ गए पनि छोरीहरूलाई लिएरै जानुपर्छ । ‘उहाँ (श्रीमान्) हुँदा केही सहज थियो । उहाँ बाहिरको काम गर्नुहुन्थ्यो । म घरमा व्यस्त हुन्थें,’ उनले भनिन्, ‘म आफैं अशक्त छु, साइकल नभए हिँडडुल गर्न सक्दिनँ । दिनभरि साइकलमा सामान बेच्छु । घर फर्किएर छोरीहरूलाई खानाको जोहो गर्छु ।’

रुपैडिहाबाट सामान ल्याएर बिक्री गरेको पैसाले जेठी छोरी इशालाई नर्सरीमा भर्ना गरेकी छन् । कान्छी आमासँगै रमाउँछिन् । छोरीलाई पढाएर ठूलो मान्छे बनाउने उनको सपना छ । ‘दुवै छोरीमा शारीरिक समस्या छैन, उनीहरूलाई पढाउन पाए केही हुन्थ्यो कि भन्ने आस छ,’ उनले भनिन् ।

स्थानीय प्रशासनले अपांगता भएका व्यक्तिको जीवन निर्वाहका लागि भारतको रुपैडिहाबाट केही सामान ल्याउन भन्सार छुट दिएको छ । यसले अपांगता भएका व्यक्तिको जीवन निर्वाह सहज बनाएको छ । अपांगता भएका व्यक्ति ह्वीलचियर र ट्राइसाइकलमा सामान लिन रुपैडिहा पुग्छन् । भन्सारबाट जोगिएको पैसा फाइदा लिएर उनीहरू बजारमा सामान बेच्छन् । उनीहरूले दाल, चिनी, मैदा, गुट्खालगायत सामान ल्याउने गरेका छन् ।

पछिल्लो समय नेपालगन्ज नाकामा कडाइ भएको मनकुमारीले बताइन् । ‘पहिले जस्तो कमाइ छैन, भन्सारमा कडाइ छ, धेरै सामान ल्याउन पाइँदैन,’ उनले भनिन्, ‘तैपनि छोरी पाल्न त्यही काम गर्दै आएकी छु ।’

प्रकाशित : कार्तिक ९, २०७५ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?