१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

‘अब विदेश जाँदै जान्नँ’

ब्लडमनी बुझाएर घर फिर्ता भएपछि राना कठोर भएका छन्
हरिराम उप्रेती

गोरखा — वैदेशिक रोजागारीको सिलसिलामा साउदी अरब पुगेका कुमार रानामगर जेल परेपछि उनका परिवारले एक वर्ष चिन्तामै बिताए । उनलाई नेपाल फर्काउन परिवार र आफन्तले निकै प्रयास गरे  ।

‘अब विदेश जाँदै जान्नँ’

अन्तत: राना घर फर्कन पाएका छन् । साउदीको जेलबाट १३ महिनापछि रिहा भएका भीमसेन गाउँपालिका–७, बोर्लाङका राना नेपाल आइपुगेका छन् । बिहीबार राति करिब साढे १० बजे उनी फ्लाई दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् । मातृभूमि टेक्दा उनी र उनलाई देख्दा परिवार अनि सहयोगी सबै भावुक भए । रानालाई लिन श्रीमती अम्बिका, छोरी, बहिनी र कुमार राना बचाउ अभियानका संयोजक कृष्ण ढकाल विमानस्थलमा पुगेका थिए ।

साउदी अदालतले तोकेको क्षतिपूर्ति बुझाएर राना दुई साताअघि रिहा भएका हुन् । ‘जेलबाट छुटेलगत्तै आमालाई फोन गर्दा रोइरहनुहुन्थ्यो । फेरि फसाइदिने हो कि भन्दै चिन्ता मान्नुहुन्थ्यो,’ रानाले भने, ‘एयरपोर्टमा उत्रिएपछि फोन गरेँ, आमा खुसीले हाँस्नुभयो । परिवारका सबै खुसी छन्, अब विदेश नजा भनेका छन् ।’

मजदुरी गर्न गएका रानाले साउदीमा चलाएको कम्पनीको गाडी दुर्घटना भएको थियो । त्यसको ठक्करले त्यहाँका खालिद अल ओताइवी घाइते भए । साउदी नागरिक ओताइवीले क्षतिपूर्ति माग गर्दै (दिया रकम ब्लडमनी) मुद्दा दर्ता गरेका थिए । अफिम जनरल कोर्टले २ लाख ९४ हजार साउदी रियाल (नेपाली ८३ लाख) घाइते व्यक्तिलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएपछि तिर्न नसक्दा सेप्टेम्बर २०१७ देखि प्रहरी हिरासत र जनवरी २०१८ देखि साउदी अरबको अफिम सेन्ट्रल जेलमा थिए ।

घर छाडेर ४४ महिनाअघि कमाउन साउदी पुगेका राना जेल परेपछि उनको परिवारको बिचल्ली भएको थियो । जायजेथा सबै बेच्दा पनि अदालतले तोकेको रकम तिर्न सक्ने अवस्था थिएन । उनलाई नेपाल फर्काउन यहाँ कृष्ण ढकाल संयोजकत्वमा रकम संकलन अभियान चलाइएको थियो । अभियानमा संकलित ६२ लाख ७४ हजार रुपैयाँ क्षतिपूर्ति बुझाएपछि राना रिहा भएका हुन् । ४४ हजार साउदी रियाल (नेपाली ११ लाख) पीडित पक्षले घटाइदिएको थियो भने ५० हजार साउदी रियाल (नेपाली १४ लाख) काम गरेको कम्पनीले बेहोरेको ढकालले बताए ।

जेल परेपछि छुटेर नेपाल फर्कने कल्पनासमेत आफूले नगरेको रानाले बताए । ‘सुरुका दिनमा त्यत्रो क्षतिपूर्ति कहाँबाट ल्याउनु भनेर सोच्दासोच्दै निद्रा पर्थेन । नेपाल फर्कन्छुजस्तो त लाग्दै लागेन,’ उनले भने, ‘त्यहाँको सरकारले पैसा दिन्छ भन्ने थिएन । मुस्लिम मुलुक, सँगैका साथीले नमाज पढ्न लगाउँथे । शारीरिक यातना नदिए पनि मानसिक धेरै भोगियो ।’ अभियान नै सञ्चालन गरेर आफ्ना लागि छुट्ने वातावरण बनाउनेको ऋणि भएको उनले बताए ।

नेपाल फर्किएका उनी शुक्रबार बिहानैदेखि आफन्त र रिहाइका लागि सहयोग गर्ने साथीभाइलाई भेट्न व्यस्त छन् । ‘अब विदेश जान्नँ, नेपालमै बसेर केही गर्छु,’ उनले भने । विदेश जानेलाई पनि आफ्नो काम र आफू जान लागेको देशका नियम बुझेर मात्रै जान उनको सुझाव छ ।

प्रकाशित : कार्तिक १०, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?