कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलमा हिँड्न शुल्क

ओहोरदोहोर गरेबापत मोटरसाइकलको २० र साइकलको १० रुपैयाँ
गणेश चौधरी

टीकापुर — कैलालीको भजनी नगरपालिकाको कन्द्रा नदीका विभिन्न घाटमा वर्षामा डुंगाबाट ओहोरदोहोर गर्नुपर्छ ।अहिले हिउँदमा नदीमा पानी कम भएपछि साँघुरा काठका पुल बनाइएका छन् ।

पुलमा हिँड्न शुल्क

ती पुलबाट वारपार गर्दा भने पैसा (शुल्क) तिर्नुपर्ने बाध्यता छ ।

लमा ओहोरदोहोर गरेवापत मोटरसाइकलको २० र साइकलको १० रुपैयाँ तोकिएको छ । कन्द्रा नदीको भजनी–कर्मदेव घाटको ठेक्का लिएका भीम विकले वर्षामा डुंगामा र हिउँदमा नदीमा पानी कम भएपछि पुल बनाएर सेवा दिइरहेको बताए । उनले भने, ‘नदीमा पानी कम भएपछि आफ्नै लगानीमा पुल बनाएँ । नगरपालिकाको ठेक्का लिएबापतको रकम तिर्न पैसा त लिनैपर्‍यो नि ।’

पानी कम भएपछि डुंगाबाट वारपार गराउनभन्दा पुलबाटै वारपार गराउन सकिने भएकाले नगरपालिकाले तोकेको रकम यात्रुबाट लिने गरेको उनले सुनाए । ‘यात्रुलाई पनि डुंगाभन्दा पुलमा सजिलो भएको छ,’ उनले भने, ‘भजनी बजार आउन भजनी नगरपालिकाको वडा ५, ७ र ९ का बासिन्दा वर्षामा डुंगाकै भरमा ओहोरदोहोर गर्छन् ।’ कन्द्राले यी ३ वडालाई छुट्याएको छ टापुका रूपमा ।

यहाँका बासिन्दा शिक्षा स्वास्थसहित नगरपालिकाको सेवा लिन पनि वर्षामा डुंगाबाट नदी तरेर आउनुपर्ने बाध्यता छ । यो नदीमा नगरपालिकाले ९ ठाउँमा डुंगा सञ्चालन गर्ने गरेको छ । अहिले हिउँदमा २ ठाउँमा काठका साँघुरा पुल बनाएर ओहोरदोहोर गर्ने व्यवस्था मिलाइएको छ ।

नगरपालिकाको वडा कार्यालयबाट पाइने सेवा लिन ५ र ७ वडाका बासिन्दाले नदी तर्नु पर्दैन । तर ९ वडा कार्यालय नदी पारि भएकाले सेवाग्राहीले वर्षामा डुंगामार्फत नदी तरेर मात्र सेवा लिनुपर्ने हुन्छ । भजनी ९ का भीम राजीले भने, ‘वर्षामा निकै जोखिम हुन्छ । अस्पताल पनि भजनी बजारमा छ । स्कुल पनि उतै छ । डुंगा तरेर जान्छौं ।’

वर्षामा राति कोही बिरामी हुँदा निकै अप्ठ्यारो हुने स्थानीय लोकबहादुर साउद बताउँछन् । ‘अरू ठाउँका मान्छे बिरामी हँुदा चाँडो अस्पताल पुर्‍याउन एम्बुलेन्स खोज्छन्, हामी नदी तार्न डुंगा चलाउने मान्छे घरमा गएर ल्याउनुपर्छ,’ उनले भने ।

नदीमा पानी बढेका बेला डुंगा पनि नचल्ने हुँदा विद्यार्थी पढ्न जान नपाउने उनले बताए । उनले भने, ‘पानीको सतह बढेका बेला डुंगा तार्न निकै जोखिम हुने भएकाले विद्यार्थीहरू विद्यालय नगएर घरै फर्किन्छन् ।’

नदीमा हुलाकी सडकअन्तर्गत पुल निर्माण योजना भए पनि करिब ५ वर्ष बित्दा पनि निर्माण पूरा भएको छैन । गत असार मसान्तमा पुल निर्माणको म्याद सकिएको छ । २०६८ मा लामा शेर्पा जेभी प्रालिले पुलको ठेक्का २ वर्षका लागि लिएको हो । समयमा काम नसकिएपछि म्याद थप गरिएको थियो । थपिएको म्यादमा पनि काम सकिएन ।

स्थानीयका अनुसार पुलको काम करिब २५ प्रतिशत मात्र भएको छ । ठेकेदारको लापरबाहीले पुल निर्माण नभएको स्थानीय जयबहादुर बुढाको भनाइ छ । उनले भने, ‘हुलाकी सडकमा बन्ने त्यो पुल बने ३ वटा वडालाई केही राहत हुन्थ्यो ।’

भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले नदीमा डुंगाबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटाउन झोलुंगे पुल बनाउने योजना रहेको बताए । उनले भने, ‘२ ठाउँमा झोलुंगे पुल बनाउने योजना छ । यो भएपछि केही राहत होला ।’

प्रकाशित : कार्तिक १२, २०७५ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?