कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्यानै लिने गति

विमल खतिवडा

काठमाडौँ — राजधानीका सडक असुरक्षित कि सवारी चलाउने तरिका ? जिम्मेवार पक्षले एकअर्कालाई दोष पन्छाउन सक्लान् । तर पछिल्ला दिन बढ्दै गएको दुर्घटनाको ग्राफले क्षतिको भयावह रूप देखाउँदै छ ।

ज्यानै लिने गति

ट्राफिक प्रहरी नै भन्छ, काठमाडौं उपत्यकामा दुर्घटना जोखिम बढ्दो छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा दुर्घटना नभएको दिन छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबैभन्दा बढी दुईपाँग्रे अर्थात् मोटरसाइकल र स्कुटर दुर्घटनामा पर्ने गरेको जनाएको छ ।


महाशाखाका अनुसार असोज महिनामा मात्र उपत्यकामा ८ सय ८ दुर्घटना भएका छन् । जसमा २८ जनाको ज्यान गयो भने २७ जना गम्भीर घाइते छन् । ५ सय ५१ जना सामान्य घाइते भए । भदौमा ६ सय ९० दुर्घटनामा १४ जनाको ज्यान गयो ।

लापरबाह चालक, तीव्र गति अनि पुराना गाडी । खाल्डाखुल्डी सडकमा यी तीनै पक्ष मिलेपछि दुर्घटना निम्तिने गरेको छ । असोज महिनामा मात्रै काठमाडौं उपत्यकामा ८ सय दुर्घटनामा २८ जनाको ज्यान गयो । सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या महामारी जसरी बढिरहेको छ ।


प्रहरीले दुर्घटना बढ्नुमा चालकको लापरबाही, तीव्र गति, सडकको दुरवस्था, युवायुवतीको ‘हिरोइजम देखाउने प्रवृत्ति’ र पैदल यात्रुमा बाटो काट्ने सही ज्ञान नहुनुलाई मुख्य कारण मानेको छ । ‘सडक साँघुरा छन्, चालकको लापरबाही बढ्दो छ,’ महाशाखाका प्रवक्ता एसपी राजकुमार लम्साल भन्छन्, ‘त्यसमा सवारीसाधन थपिँदा दुर्घटना जोखिम बढेको छ ।’ तीव्र गति र सडकको दुरवस्थालाई प्रहरीले महत्त्वपूर्ण कारणका रूपमा विश्लेषण गरेको छ । प्रहरीका अनुसार काठमाडौंमा कलंकी, नागढुंगा, बौद्ध र गौशालाका सडकमा धेरै खाल्डाखुल्डी छन् ।


ट्राफिक महाशाखाका अनुसार २१ देखि ४० वर्ष उमेरका चालकले चलाएका गाडी बढी दुर्घटनामा परेका छन् । ०७४/०७५ को तथ्यांकअनुसार २० वर्षभन्दा कम उमेरका चालकले चलाउँदा ९ सय ९३, २१ देखि ४० वर्ष उमेरका चालकले चलाउँदा ८ हजार २ सय २४ दुर्घटना भएका छन् ।


‘अर्को कारण टिनएजरहरूले हिरोइजम देखाउने प्रवृत्ति हो । मोटरसाइकल र स्कुटी चालकमा यो प्रवृत्ति छ,’ एसपी लम्सालले भने । २०७४/७५ मा सडक दुर्घटनामा १ सय २१ जना युवाको मृत्यु भएको थियो भने यस आर्थिक वर्षको तीन महिनामा ४२ जनाको मृत्यु भइसकेको छ ।


पर्याप्त जेब्रा क्रसिङ नहुनु र पैदल यात्रुमा बाटो काट्ने अनुशासन नहुँदा पनि दुर्घटना बढेको लम्साल बताउँछन् । ‘पैदलयात्रीलाई सधैं हतार हुन्छ । ओभरहेड ब्रिज र जेब्रा क्रसिङबाट बाटो काट्नेको संख्या सानो छ,’ उनले भने, ‘यसले पनि दुर्घटना बढाएको छ ।’ सडक निर्माण गर्दा नै जेब्रा क्रसिङ नबनाइने र भएका पनि मेटिएको उनले बताए । यी सबै समस्या भए पनि चालकले हेलचेक्र्याइँ नगर्ने हो भने धेरै दुर्घटना टर्ने एसपी लम्सालको भनाइ छ । ट्राफिक प्रहरीले सीसीटीभी प्रयोग गरेर नियम मिच्ने सवारी चालकलाई कारबाही सुरु गरिएको जनाएको छ । लेन अनुशासन मिच्नेलाई कक्षा लिन लगाउने गरिएको छ ।


सडक विभागका प्रवक्ता मुक्ति गौतम ९५ प्रतिशत दुर्घटना चालकको लापरबाहीले हुने बताउँछन् । ‘सडक खराब भए पनि राम्रो चालकले दुर्घटनाबाट जोगाउन सक्छन्,’ उनले भने, ‘चालक नराम्रो परे सडक राम्रो भए पनि दुर्घटना हुन्छ ।’ सवारीसाधनको संख्या र यात्रुको चापलाई पनि उनी अर्को कारण बताउँछन् । सडक विभागले ‘रोड सेफ्टी एक्सन प्लान’ अन्तर्गत दुर्घटनाबाट हुने मृत्युदर आधा घटाउने अभियान सुरु गरेको छ । ‘सन् २०२० सम्ममा दुर्घटना आधा घटाउने लक्ष्य हो,’ उनले भने, ‘यस सम्बन्धमा हामी काम गरिरहेका छौं, पहाडी बाटोमा सेफ्टी ब्यारियर राखेका छौं ।’


***


टिपरले हानेर मोटरसाइकल र स्कुटर चालकको मृत्यु हुन थालेपछि सरकारले साउन १ बाट काठमाडौं उपत्यकामा टिपर र ट्रक चलाउन रोक लगायो । तर, असोज १७ गते टिपर सञ्चालन खुकुलो पारियो । त्यसै दिन तीव्र गतिमा आएको टिपरले हानेर सूर्यविनायकमा २५ वर्षीय रामकृष्ण श्रेष्ठको ज्यान गयो । काभ्रे, नमोबुद्ध नगरपालिका ८ डराउने पोखरीका श्रेष्ठले चलाएको मोटरसाइकललाई टिपरले हानेको थियो । आक्रोशित भीडले टिपर जलायो ।


अघिल्लो शनिबार साइकल यात्री ३८ वर्षीय श्यामसुन्दर श्रेष्ठले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको लापरबाहीका कारण ज्यान गुमाउनु पर्‍यो । साइकलमा यात्रारत उनको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयनजिकै खाल्डोमा परेर ज्यान गयो । खाल्डोमा लगाउनुपर्ने ढकनी खुलै थियो ।


चितवनको राप्ती नगरपालिका ११ कत्ले खोलाका २९ वर्षीय चन्द्र मोक्तान गत साउन २८ गते धादिङबाट मोटरसाइकलमा काठमाडौं आउँदै थिए । तर काठमाडौं टेक्नासाथ कलंकी–नागढुंगा सडक खण्डमा दुर्घटनामा परे । विपरीत दिशाबाट आएको मिनी बसले ठक्कर दियो । गम्भीर घाइते उनको ट्रमा सेन्टरमा उपचारकै क्रममा मृत्यु भयो । रोजीरोटी जुटाउने मुख्य व्यक्तिकै मृत्यु भएपछि अहिले परिवारको बिचल्ली छ । उनका श्रीमती, छोरी, २ भाइ, ६ बहिनी, बुवा र आमा छन् । ‘यस्तो कसैलाई नहोस्,’ आमा हीरामायाले बिलौना गरिन्, ‘जसले पाल्थ्यो ऊ नै नभएपछि बेसहारा भएका छौं, नातिनीलाई पढ्ने व्यवस्था गरिदिनुपर्‍यो ।’ चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘छोरी मात्र होइन, भाइबहिनी पनि उसैले पढाएको थियो,’ हीरामायाले भनिन्, ‘खेतबारीको उत्पादनले जेनतेन वर्ष दिन खान पुग्थ्यो, नपुग्दा चन्द्रको भरमा बाँचेका थियौं, अब सहारा नै गुम्यो ।’ सरकारले ६ लाख दिएको उनले सुनाइन् ।
***


नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै फलामको ब्यारिएर राखिएको छ । ‘यसले दुर्घटना धेरै कम गरेको छ,’ प्रवक्ता गौतमले दाबी गरे, ‘पहाडी मार्गमा यसको प्रयोग बढी गरिएको छ ।’ कर्णाली राजमार्गमा सबभन्दा बढी ब्यारिएर राखिएको उनले बताए । खाल्डाखुल्डीले दुर्घटना नहुने उनको तर्क छ । ‘जहाँ खाल्डाखुल्डी छन्, त्यहाँ स्पिड स्लो हुन्छ, जसले गर्दा दुर्घटना हुँदैन,’ उनले भने, ‘त्यसैले सबैभन्दा ठूलो दुर्घटनाको कारक स्पिड हो, सडकको जिम्मा कहाँ हुन्छ भने जब नियमभन्दा बाहिर गएर सडक बनाइन्छ ।’


गौतमले सडक दुर्दशाको ठूलो कारण खानेपानी संस्थान भएको आरोप लगाए । ‘खानेपानी संस्थानले राणाकालीन पाइप राखेको छ । एक ठाउँमा सडक टाल्यो, जीर्ण पाइपबाट अर्को ठाउँमा पानी निस्कन्छ,’ उनले भने, ‘हामी यसबाट आजित छौं ।’ उनले चावहिल, गौशाला, नयाँ बानेश्वर, पुरानो बानेश्वर खण्डमा यो समस्या बढी भएको बताए । ‘उच्च ओहोदामा रहेका विदेशीको भ्रमण हुन्छ, यत्तिका लागि भए पनि सडक टाल्देउ भन्छन्, आज टाल्यो पर्सि पानीले फुट्छ, उस्तै हुन्छ,’ उनले भने, ‘पानीले खाल्डा धेरै बनाएको छ, यसको निकास अहिलेसम्म निस्किन सकेको छैन ।’

नयाँ बसपार्क क्षेत्रमा बढी
काठमाडौं उपत्यकामा बढी दुर्घटना हुने क्षेत्रमा नयाँ बसपार्क पर्छ । प्रहरीले उपलब्ध गराएको ०७४/०७५ को तथ्यांकअनुसार उक्त क्षेत्रमा ५ सय ३२ वटा दुर्घटना भए । त्यस्तै महाराजगन्जमा ३ सय ७५, गठ्ठाघरमा ३ सय ७२, सातदोबाटोमा ३ सय ६९, कोटेश्वरमा ३ सय ४४ वटा दुर्घटना भए । ट्राफिक प्रहरीका अनुसार ३२ स्थानमा बढी दुर्घटना हुने गरेको छ । स्कुटर र मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेका छन् । गत वर्ष ४ हजार ६५ वटा मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन् । यो आर्थिक वर्षमा १ सय ११ जना मोटरसाइकल/स्कुटर चालकको मृत्यु भएको छ । गत वर्ष ६३ जना पैदल यात्रुको मृत्यु भएको थियो भने यस आर्थिक वर्षमा हालसम्म २३ जना पैदल यात्रुको मृत्यु भएको छ । ०७४/०७५ मा उपत्यकामा ६ हजार ३ सय ८१ दुर्घटना भएका छन् ।


महाशाखाका अनुसार वाग्मती अञ्चलमा गत आर्थिक वर्षसम्ममा १२ हजार ६ सय १७ बस दर्ता भएका छन् । मिनी बस १३ हजार ३ सय ४३ रहेको छ भने ट्रक, मिनी ट्रक, कन्टेनर र ट्यांकरको संख्या २२ हजार ३ सय २२ छ । कार/जिप र भ्यानको संख्या १ लाख ५४ हजार ४ सय ३३ छ । दर्ता भएका मोटरसाइकलको संख्या भने १० लाख नाघिसकेको छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?