१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

निर्मला बलात्कार र हत्या प्रकरण: न्यायको खोजी

जनकराज सापकोटा

काठमाडौँ — तीन जनाको डीएनए परीक्षण, २ सयभन्दा धेरैसँग बयान, कल डिटेल रेकर्डको अध्ययन र आधा दर्जन अनुसन्धान समितिको निरन्तरको अनुसन्धान तर निष्कर्ष शून्य  । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पुगिसक्दा पनि घटनाको रहस्य खुल्न सकेको छैन  ।

निर्मला बलात्कार र हत्या प्रकरण: न्यायको खोजी

दिन लम्बिँदै जाँदा घटनाबारे अनेक शंका–उपशंका चुलिए पनि हत्यारा पत्ता लागेका छैनन् । प्रहरीका टोली आउने–जाने भइरहे पनि नयाँ तथ्य फेला परेको छैन । यसले सामान्य नागरिकले न्याय पाउन कति कठिन छ भन्ने प्रश्न हुर्किंदै गएको छ । प्रहरीको अनुसन्धान प्रणाली र विद्यमान न्याय प्रणालीमाथि समेत यो घटनाले पर्याप्त प्रश्न उब्जाइदिएको छ ।

बलात्कारपछि हत्याको निष्पक्ष छानबिनको माग राख्दै देशव्यापी प्रदर्शन भएपछि प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय र गृह मन्त्रालयले फरक–फरक छानबिन समिति बनाएका थिए । यी सबै टोली र समितिका १ सय दिनका उपलब्धि दुई प्रहरीको बर्खास्ती र पाँचको निलम्बनमा सीमित छ ।

कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्ट, उनका छोरासहित ३ जनाको डीएनए परीक्षण भइसकेको छ । प्रहरीले थप चार शंकास्पदको डीएनएन परीक्षणको नमुना लिइसकेको छ । घटनास्थलमा सक्रिय मोबाइल फोनको कनेक्सनबारे पुन: अनुसन्धान गरिरहेको छ तर नयाँ तथ्य कुनै पनि भेटेको छैन, न त अनुसन्धान कुन दिशामा गर्ने भन्नेमा नयाँ बाटो नै समातेको छ ।

अनुसन्धान निष्कर्षमा नपुगेका यस्ता गम्भीर प्रकृतिका हत्या घटनाको लामो फेहरिस्त छ ।
***

निर्मला हत्याभन्दा १० महिनाअघि ललितपुरको गोदामचौरकी युवतीको सामूहिक बलात्कार भएको थियो । कुटपिट गरी हत्यासमेत प्रयास गरिएकी ती युवती अझै न्यायको पखाईमा छिन् । विवाह भएको १५ महिना जिन्दगी जेनतेन दु:खसुख, माया र प्रेमले चलिरहेको थियो ।

गत वर्ष मंसिर २ मा माइतीबाट घर फर्कंदै गरेकी उनलाई कसैले धकेलेर कान्लामुनि लडाइदियो । त्यसपछि के भयो, उनको सम्झनामा छैन । सम्झेका कुरा पनि दोहोर्‍याएर सुनाउन मन लाग्दैन । किनकि घटनाको एक वर्ष भइसक्दा पनि मुख्य दोषीमाथि कानुनी कारबाही भइसकेको छैन । कानुनी उपचार यति धेरै बल्झिसकेको छ कि उनको जिन्दगी लयमा फर्कनै मुस्किल भइरहेको छ । पीडितका श्रीमानले भने, ‘दोषी पक्राउ परे, न्याय पाए पो जीवनलाई पुरानै लयमा फर्काउन सकिन्थ्यो ।’

सामूहिक बलात्कार र आक्रमणमा परेकी उनको टाउको फुटेको थियो । उनी शारीरिक रूपमा पनि पूर्ण स्वस्थ भइसकेकी छैनन् । न्याय नपाउँदा उनलाई मानसिक बेचैनीले पनि गाँजिरहेको छ । घटनालगत्तै अस्पताल पुर्‍याइएकाले उनको सास त जोगियो तर आफू बसिरहेको ठाउँमा बस्न नसकेर उनी बसाइँ सरिन् ।

घटनाको केही दिनपछि प्रहरीले रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई पक्राउ गरेको थियो तर जिल्ला अदालत ललितपुरका न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले पुस २६ गते घटनाका मुख्य आरोपी तीनै जनालाई साधारण तारेखमा छाड्न आदेश दियो । आरोपीहरूको वीर्य परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाइएको थियो तर प्रयोगशालाको रिपोर्ट नआउँदै जिल्ला अदालतले थुनछेकको बहसलगत्तै उनीहरूलाई साधारण तारेखमा रिहा गरेको थियो ।

उक्त निर्णयको एक सातापछि उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई बदर गर्दै प्राप्त प्रमाणका आधारमा तीनै जनालाई थुनामा राख्ने निर्णय त गर्‍यो तर त्यतिन्जेलमा तीनै जना फरार भइसकेका थिए । महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार प्रहरी परिसर ललितपुरको अपराध महाशाखाको टोली तथा सातदोबाटोको टोलीले निरन्तर खोजी गरिरहे पनि फरार पक्राउ पर्न सकेका छैनन् ।

बिहीबार राति मात्रै सातदोबाटो वृत्तमा फरारहरू गोदामचौरमै लुकेर बसेको गोप्य सूचना आएको थियो । लगत्तै वृत्तको टोली गोदामचौर क्षेत्रमा परिचालन भए पनि अभियुक्त फेला पार्न सकेन । प्रहरी परिसर ललितपुरका एसएसपी धानुकले फरारको खोजी कार्य जारी भइरहेको र उनीहरू छिट्टै पक्राउ पर्ने दाबी गरे ।
***

बलात्कार र हत्या घटनामा मात्रै होइन, अन्य गम्भीर प्रकृतिका फौजदारी कसुरमा पनि प्रहरीको अनुसन्धान निष्कर्षमा नपुगेका बग्रेल्ती घटना छन् । प्रहरीले आफ्नै संगठनका सदस्यको हत्या अनुन्सधानसमेत टुंग्याउन सकेको छैन । २०६३ मंसिर २० मा गोठाटारस्थित घरमा सुतिरहेका सई कुबेरविक्रम कार्कीका घरमा मध्यराति दुई मास्कधारी छिरे ।

श्रीमती र नाबालक छोरीसँग सुतिरहेका कार्कीमाथि धारिलो खुकुरी प्रहार गरे । श्रीमतीले होहल्ला गरेर गुहार माग्दा नमाग्दै भागिहाले । अपराध अनुसन्धान विभाग, महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान त थाल्यो तर घटनाको झण्डै १४ वर्ष भइसक्दा पनि रहस्य गर्भमै छ ।

घटनाको झन्डै एक वर्षपछि मृतकका दाइको अनुरोधमा प्रहरी प्रधान कार्यालयका एसएसपी भरत जीसीको संयोजकत्वमा छानबिन समिति पनि गठन गरियो । उक्त समितिले अनुसन्धानका पुराना फाइल पल्टायो । शंकास्पदको निगरानी पनि सुरु गर्‍यो तर अनुसन्धान सम्हालिरहेका एसपी त्यतिबेलै डीआईजीमा बढुवा भए ।

पहिलो संविधानसभाको चुनाव गराउने जिम्मेवारी पाएर उनी नेपालगन्ज लागे । त्यसपछि अनुसन्धान सुस्तायो । कान्तिपुरसँगको कुराकानीमा जीसीले उक्त घटनाबारे पछि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको र केही कुरा आफूसँग पनि बुझेको बताए । उक्त घटनापछि ब्युरोमा कैयौं नेतृत्व फेरिए । जीसीले २०६६ मा अवकाश पाए । धेरैको स्मृतिबाट सई कुबेरको हत्या घटना पनि ओझेलमा पर्दै गयो र रहस्य खुल्न सकेन ।

अनुसन्धान निष्कर्षमा नपुगेको घटनाको यही शृंखलामा जोडिने अर्को घटना हो, ४ भदौमा बबरमहलमा भएको पूर्वराजदूत केशव झाको हत्या । फ्रान्सका लागि पूर्वनेपाली राजदूत झाको सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । काठमाडौंको केन्द्रमा उच्च सुरक्षा रहेको स्थानमा घरभित्रै छिरेर झाको हत्या कसले गर्‍यो ? घटनाको साढे तीन महिना बितिसक्दा पनि मुख्य अभियुक्त अझै पत्ता लाग्न सकेका छैनन् ।

घटनालगत्तै महानगरीय प्रहरी अपराध महाशाखाले घरका दुई माली र सहयोगी गरी तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानमा तानिएका मालीहरू जयबहादुर गुरुङ, अमर तामाङ र कामदार सानुकान्छा तामाङ भदौको अन्तिम साता जिल्ला अदालत काठमाडौंको आदेशपछि धरौटी बुझाएर रिहा भए ।

अनुसन्धान क्रममा महाशाखाले एक सय ३५ जनासँग बयान लिएको थियो । शवको पोस्टमार्टम, घटनास्थलमा फेला परेका दसी प्रमाणको परीक्षण, पक्राउ परेका तीनै जनाको पोलिग्राफ परीक्षण, शंकास्पद मानिएका भान्छे सानुकान्छा तामाङको लठयाएर गर्ने परीक्षण अर्थात नार्को टेस्टसमेत प्रहरीले गरेको थियो तर यी कुनै परीक्षणबाट पनि हत्याराको पहिचान हुन सकेन ।

महाशाखा प्रमुख एसएसपी धीरज सिंहले महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्व र प्रहरी परिसर काठमाडौंको टोलीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएका छन् । सिंहले आफ्नो अनुभव सुनाउँदै भने, ‘कहिले घटनाको अनुसन्धान छिट्टै टुंगिन्छ, कहिले महिनौंसम्म लाग्छ । सूचनाको स्रोतका आधारमा अनुसन्धानले कुन बाटो लिन्छ भन्ने तय हुन्छ ।’

गम्भीर प्रकृतिका अपराधका घटनाको अनुसन्धान निष्कर्षमा किन पुग्न सक्दैन ? नेपाल प्रहरीका पूर्वडीआईजी भरत जीसी भन्छन्, ‘घटनाको अवधि लम्बिँदै जाँदा जोजोमाथि शंका गरिएको हुन्छ, तिनीहरूमाथि लामो समय सूक्ष्म निगरानी गर्नुपर्ने हुन्छ । यस्तो गर्न समय लाग्छ ।’ उनको बुझाइमा अनुुसन्धानको सुरुवाती चरण नै सही ट्रयाकमा भएन भने वा अनुसन्धानले बाटो बिरायो भने समय बित्दै जाँदा अनुसन्धान जेलिँदै जान्छ ।

उनले सई कुबेरविक्रमदेखि निर्मला पन्तसम्मको घटनाको पृष्ठभूमि केलाउँदै अनुसन्धान निष्कर्षमा पुग्न नसक्नुका कारण सुनाए । घटनास्थल, अनुसन्धानकर्मीको क्षमता, घटनास्थलको प्रकृति, अनेक जिम्मेवारी बोकेको अनुसन्धान अधिकारीले दिने समयजस्ता कुराले अनुसन्धानलाई प्रभावित पार्ने उनको बुझाइ छ । उनले भने, ‘नेपालमा प्रहरीका अनुसन्धान अधिकारीहरू धेरै जिम्मेवारीमा एकैचोटि परिरहेका हुन्छन् । यस्तो अवस्थामा प्रहरीले केलाई बढी समय दिने भन्ने कुरा आउँछ । यसले पनि अनुसन्धान प्रभावित हुन्छ ।’

बलात्कार र हत्याजस्ता गम्भीर घटनामा अनुसन्धान जेलिँदै गए पनि पीडित परिवार र न्यायको खोजीमा साथ दिनेहरूले सधैँ आवाज उठाइरहेकै हुन्छन् । कसैको आवाज चर्को सुनिएला, कसैको मधुरो तर न्यायको आशा प्रत्येक दिन भइरहँदोरहेछ । त्यही भएर त निर्मलाको हत्या भएको सयौं दिन शुक्रबार जुगल भुर्तेलले टवीटरमा विस्मयादिबोधक चिह्न राखेर लेखे, ‘अन्यायका सय दिन, तर न्यायको खोजी हुनेछ हरेक दिन, हरेक छिन ।’

प्रकाशित : कार्तिक १७, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?