कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छठको तयारी : सवा ६ लाखमा घडिअर्वा सजावट

शंकर आचार्य

पर्सा — वीरगन्जको घडिअर्वा पोखरी छठ घाटमा छठ पर्वको तयारी चलेको छ । हाल घाटको सरसफाइ र पन्डाल लगाउने काम भइरहेको छ । पोखरीस्थित छठ पूजा व्यवस्थापन समितिको प्रचारप्रसार उपसमितिका सदस्य प्रणय कुमारका अनुसार यस वर्ष पन्डाल, बत्ती र फूलको सजावट समेतमा गरी ६ लाख २५ हजार खर्च गरिँदैछ ।

छठको तयारी : सवा ६ लाखमा घडिअर्वा सजावट

अघिल्ला वर्षहरूभन्दा यस वर्ष व्यवस्थापन खर्च केही कम लागेको हो । ‘सजावटको काम ठेकेदारबाट गरिँदैछ,’ उनले भने, ‘ठेकेदारका अनुसार सजावटको ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’


यो घाटमा मनाइने छठ पर्व मुलुकमै सर्वाधिक चर्चामा आउने गरेको छ । यहाँ छठ व्रतालुको सहजतालाई दृष्टिगत गरी पोखरीमा विशेष खालको घाट बनाइको छ । पूजाअर्चनाका लागि छठी माताको प्रतिमा छ । पोखरीको मध्यभागमा भगवान सूर्यको मन्दिर छ ।


छठ पर्वमा साँझ र बिहान गरी यो घाटमा करिब २ लाख श्रद्धालु, दर्शनार्थीहरू आउने गरेका छन् । यहाँको छठ पर्वको रौनक हेर्न मात्र पनि पर्सा,बारा, रौतहट र छिमेकी भारतबाट समेत ठूलो संंख्यामा सर्वसाधारण आइपुग्छन् । अत्यधिक भीडभाड रहने यो पोखरी घाटमा सुरक्षा व्यवस्थाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुने गरेका छन् । पर्वको समयमा पोखरी परिसरको चारवटै ढोका खोल्ने गरिएको छ । सुरक्षा व्यवस्था मजबुत बनाउन सिसिटिभीबाट समेत निगरानी गर्ने गरिएको छ । सामान्य दिनमा सशुल्क प्रवेश रहेको पोखरी परिसरमा छठ पर्वमा नि:शुल्क प्रवेश दिने गरिएको छ ।


छठ पूजा व्यवस्थापन समितिले स्वेच्छिक चन्दा सहयोग र चिठ्ठाबाट खर्च रकम संकलन गर्दै आएको छ । छठ पर्वका लागि वीरगन्जका नगवा, मुर्ली आदिको घाटहरूको पनि सरसफाइ गरिँदैछ । प्राय: हिन्दुहरूको सबै घरका महिला र केही पुरुषहरूले समेत यो व्रत लिने गरेकाले आफूलाई पायक पर्ने जलाशयहरूमा यो पर्व मान्ने गर्छन् ।


सूर्य आराधनाको यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई नरिवल तथा फलफूलको अघ्र्य दिने गरिन्छ । सबै जाति र समुदाय एउटै थलोमा बसेर पर्व मान्ने गरेकाले यो पर्वमा जात, वर्गको दायरा हुँदैन । पछिल्लो समय यहाँका पहाडी समुदायका महिलाले पनि छठ पर्व मान्ने क्रम बढेकाले यो पर्व समावेशी बन्दै गएको छ । मधेसी पहाडी सबै व्रर्तालुहरू एकै थलोमा पर्व मान्ने गर्छन् ।


यो व्रत लिनाले पारिवारिक सुखशान्ति हुने, पुत्र लाभ हुने, चर्मरोग नलाग्ने जस्ता धार्मिक विश्वास रहेको छ । चैते र कात्तिकी गरी वर्षमा २ पटक छठ पर्व मनाइन्छ । कात्तिकी छठमा व्रर्तालु बढी हुन्छन् । ठेकुवा, कसार, पुरी, केरा, स्याउ, उखु आदि प्रसादका रूपमा चढाइन्छ । व्रर्तालुहरू पूजा अवधिभरि निर्जल निराहार व्रत बस्छन् । प्रसाद पकाउँदा र व्रर्तालुहरूले पूजा अवधिभर चोखोनितो र शुद्धताको अत्यधिक ख्याल राख्छन् । परिवारका सबै सदस्य मिलेर व्रर्तालुलाई सघाउने गर्छन् ।

प्रकाशित : कार्तिक २५, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?