३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

सेतक चिनी पकाउन वन सखाप, दुर्लभ वन्यजन्तु संकटमा

गाउँपालिकाले दाउरा संकलनबापत रकम असुलेकाले वन फँडानीमा नबोलेको उपभोक्ताको आरोप
भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिकाको उच्च भेगमा बहुमूल्य जडीबुटी सेतक चिनी पकाउन दाउरा संकलन गर्दा जंगल सखाप भएको छ । जंगल विनाश हुँदा रेडपान्डालगायत दुर्लभ वन्यजन्तुसमेत संकटमा परेका छन् ।

सेतक चिनी पकाउन वन सखाप, दुर्लभ वन्यजन्तु संकटमा

अवैध तवरले संकलन भएको सेतक चिनी आगोमा पकाएर घाममा सुकाएपछि बिक्रीका लागि तयार हुन्छ । यसलाई पकाउन आसपासको वन फँडानी तीव्र भएको स्थानीयको भनाइ छ । ढोटाचौर सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष वीरबहादुर शाहीले दाउरा संकलन गर्न रूख फँडानी गर्दा बारेकोट–४ अन्तर्गत पर्ने सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रको जंगल विनाश भएको बताए । उनका अनुसार ढोटाचौर सामुदायिक वनअन्तर्गत पर्ने दियाबाल्न, काल्लरी, साइकुवारी, बारे, बाँगीडाँडा, निलापर, गरुल्ले, खलाटाकुरी, लामाडाँडा, सुवाकुनालगायत स्थानमा वन सखाप भएको छ ।


त्यस्तै राष्ट्रिय वन क्षेत्रअन्तर्गतका दुम्कने, धुपा, कालाडाँडा, रोल्पा, खेताली, लग्लगे, कालीमुरी, चाखुरे, सेतापानी, छेदादह, कोटे, ताउलालगायत ठाउँको वन फँडानी भएको उनले बताए । बारेकोटको चाखुरे पाटन क्षेत्र आसपासमा सेतक चिनी पकाउन चार–पाँच हजार रूख काटिएको उनले जानकारी दिए ।


चाखुरे लेकका कोणधारी जंगलको २ हजार ५ सयदेखि ३ हजार ५ सय मिटर उचाइमा पाइने भोजपत्र, चिमालो, गोब्रेसल्लो, देवदार, सुनपाती, ठिकुरे सल्लो, निगालो, लेकाली गुराँस, रैस, धुपी सल्ला, कैंयासीलगायत महत्त्वपूर्ण बोटबिरुवा फँडानी भएका छन् । बारेकोट गाउँपालिकाले प्रत्येक व्यवसायीबाट सेतक चिनी संकलनका लागि २ लाख र इन्धन (दाउरा) का लागि ५ हजार असुलेको छ । वन विनाश हुँदा पनि गाउँपालिकालगायत सरोकारवाला मौन छन् । ‘शुल्क तिरेर दाउरा काट्ने अनुमति पाएका व्यवसायीले जथाभावी वन विनाश गरेका छन्,’ उपभोक्ता समिति अध्यक्ष शाहीले भने, ‘तर यसमा कसैले बोलेका छैनन् ।’


व्यवसायीले बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र कुशे गाउँपालिकाका दुई दर्जन पाटनबाट हजारौं क्विन्टल सेतक चिनी चोरी निकासी गरिरहेका छन् ।


भदौदेखि सेतक चिनीको जथाभावी संकलन र निकासी भएको हो । बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै पाटनमा पाइने सेतक चिनी संकलन गर्न अनुमति दिएको बताए । भूगोल र अवस्था सुहाउँदो निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई भएको उनको दाबी छ ।


दुर्लभ वन्यजन्तु संकटमा

सेतक चिनी पकाउन वन विनाश भएपछि लेकाली क्षेत्रमा पाइने विश्वमै दुर्लभ रेडपान्डाका साथै कस्तुरी, घोरल, भालु, कालिज, डाँफेलगायत जनावर तथा पशुपन्छी संकटमा परेका छन् । जंगल फँडानी र मानिसको आउजाउ बढेपछि वन्यजन्तु संकटमा परेका हुन् । मुख्य आहारका रूपमा रहेको निगालो विनाश भएपछि रेडपान्डा संकटमा परेको वन उपभोक्ता समिति अध्यक्ष शाहीले बताए । वन तथा वातावरण मन्त्रालयको ढिलाइले वन संरक्षणमा कठिनाइ भएको छ । वन पैदावार, संकलन, वन संरक्षण, पूर्वाधार विकासलगायत कार्ययोजना स्वीकृत नहुँदा समस्या भएको वन डिभिजन कार्यालयका सहायक अधिकृत नेपाली साहले बताए ।

प्रकाशित : कार्तिक २५, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?