कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषि विश्वविद्यालयको भर्ना प्रक्रिया सुरु, प्रध्यापकहरु विरोधमा

रमेशकुमार पौडेल

चितवन — सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया सुरु गरेपछि प्रध्यापक संगठनहरुले विरोध गरेका छन् ।

कृषि विश्वविद्यालयको भर्ना प्रक्रिया सुरु, प्रध्यापकहरु विरोधमा

नेपाल प्रगतिशील प्रध्यापक संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठनले आइतबार संयुक्त विज्ञप्ती निकालेर प्रध्यापकहरुलाई शैक्षिक तथा प्रशासनिक काममा सरिक नहुने अपिल गरेको छ ।


विश्वविद्यालयले यसै वर्ष कृषिमा सात र वन विषयमा एक निजी क्याम्पसलाई सम्बन्धन दिएको थियो । सम्बन्धन दिएसँगै त्यसलाई खारेज गर्न माग गर्दै विश्वविद्यालयका प्रध्यापक र विद्यार्थी संगठन आन्दोलित भएका थिए । विश्वविद्यालयको निर्णय मन्त्री परिषद्ले खारेज गरेको छ । तर मन्त्री परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले त्यो निर्णय कार्यन्वयन नगराउन आदेश गरेको छ ।


रिट उपर अन्तिम आदेश आउन बाँकी नै छ । पुस २६ गते यो रिटको पेशी तय भएको छ । विश्वविद्यालयले कात्तिक २० गते स्नातक तहको भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । ‘निजी कलेजको सम्बन्धनको विषयमा सर्वोच्च अदालतमा पुस २६ लाई तोकेको पेशीलाई असर पार्ने गरेर बीएस्सी एजीको भर्ना प्रक्रिया सुरु गर्नु खेदजनक छ । यो खारेज हुनुपर्छ,’ प्रध्यापक संगठनको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।


नेपाल प्रगतिशील प्रध्यापक संगठनका अध्यक्ष उदितप्रकाश सिग्देल र नेपाल राष्ट्रिय प्रध्यापक संगठनका सचिव शंकरराज बर्सिलालले संयुक्त विज्ञप्ती जारी गरेका हुन् । गत भदौ २४ मा उपकुलपतिसँग भएको सहमति विपरित निजी कलेजलाई समेटेर भर्ना प्रक्रिया सुरु गरेको विज्ञप्तीमा जनाइएको छ । असार २० गते विश्वविद्यालय कार्याकारणी परिषद्ले निजी कलेजहरुलाई सम्बन्धन दिएपछि प्रध्यापक र विद्यार्थी संगठन आन्दोलित थिए ।


आन्दोलन जारी रहेकै बेलामा मन्त्री परिषद्ले साउन १४ मा सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो । तर अदालतमा रिट परेपछि मन्त्री परिषद्को निर्णय कार्यन्वयन गर्न नपर्ने आदेश आएका कारण भर्ना प्रक्रिया सुरु गरेको कृषि तथा वन विश्वविद्यालयका अधिकारीहरुले बताएका छन् । निर्णयअनुसार वनको मंसिर २२ र कृषिको मंसिर २९ गते प्रवेश परीक्षा हुँदैछ ।

प्रकाशित : कार्तिक २६, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?