कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ताउँदो सूर्यलाई अर्घ

सन्दर्भ : छठ महापर्व 
श्यामसुन्दर शशि

जनकपुर — मिथिलाञ्चलमा छठ पर्वमा मंगलबार अस्ताउँदो सूर्यको पूजा गरिएको छ । आइतबार नहाय–खायसँगै सुरु भएको चार दिवसीय महापर्व बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।

अस्ताउँदो सूर्यलाई अर्घ

जनकपुरका गंगासागर, धनुषसागर, अंगराजसर, महाराजसर, गोरधोइ, रुकमिनीसर, रत्नसागर सहित दूधमती र जलाद लगायतका नदीहरुमा हजारौँ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरेका थिए । व्रतालुहरुको बढ्दो संख्याको कारण गंगासागरमा सोमबारदेखि सजावटका सामग्रीहरु राख्ने क्रम सुरु भएको थियो ।


जनकपुरको मध्यमा पर्ने तथा चारैतर्फ पक्की घाट भएकोले श्रद्धालुहरुको पहिलो रोजाई गंगासागर हुने गरेको छ । यसका साथै अंगराज सर, धनुषसागर तथा रत्नसागर लगायतका क्षेत्रहरुमा पनि हजारौँले छठ मनाउँदै छन् । छठ पूजा हुने जलाशय सिगाँरिएकाे छ ।


छठ मान्ने तथा दर्शनार्थीहरुको घुइँचोका कारण जनकपुर क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । स्थानीय प्रशासनले शिवचौकमा बेरिकेटर लगाएर मोटरसायकल,टेम्पो तथा जीप,कार लगायतका ठूला सवारीहरुको प्रवेश निषेध गर्नु परेको थियो ।


पछिल्लो समय जनकपुरको छठ हेर्न आउनेको संख्या बढ्दो छ । होटल वेलकमका सञ्चालक विजय झुनझुनवालका अनुसार देशी/विदेशी पर्यटकहरुका कारण यहाँका सम्पूर्ण होटल,लज तथा धर्मशालाहरु भरीभराऊ छन् ।


छठ महापर्वमा सहभागी हुन हजारौँ श्रद्धालु विभिन्न सरोवरहरुको डिलमा भेला भई अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरेका थिए ।


सुस्वास्थ्य,दीर्घजीवन,सन्तान प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्टी र सप्तमीको दिन छठ मान्ने चलन छ । पण्डित वैद्यनाथ झाका अनुसार छठ पूजा गर्दा कुष्ट जस्ता चर्मरोगबाट मुक्ति हुन्छ ।


व्रतालुहरु आईतबार पवित्र जलाशयहरुमा स्नानगरी चोखो खानेकुरा खाएका थिए । पर्वको दोस्रो दिन सोमबार दिनभरी उपवास बसी राति गुलियो पूरी,खीर, नून नहालेको तरकारी खाए । जसलाई स्थानीय भाषामा ‘षडना’ भनिन्छ । षडनापछि निराहार व्रतालुहरुले मंगलबार संझुका अर्घ दिएका छन् भने बुधबार बिहान सूर्यलाई अर्घ प्रदान गरी चार दिवसीय महापर्व विधिवत समापन गर्नेछन् ।


यस लौकिक पर्वमा केरा,नरिवल,ऊखु,सुन्तला,नेवुवा,बेसार,चामल र गहुँको पीठो तथा सख्खरबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया लगायतका परम्पारिक परिकारहरुको प्रयोग प्रसादको रुपमा हुन्छ । पूजा सामग्रीहरु स्थानीय स्तरमा निर्मित माटाको भाडो तथा बाँसको टोकरी, कनसुपती आदिमा राखेर पूजास्थलसम्म पुर्‍याइन्छ ।


छठ महापर्वमा केराको अत्यधिक प्रयोग हुन्छ । स्थानीय उत्पादन अपुग भएपछि पूर्वी नेपालको इटहरी र भन्टावारीसँगै भारतको पटना,मोकामा,हांजीपुर तथा असामबाट करोडौँको केरा आपूर्ति गरिएको फलफूल व्यावसायीहरु बताउँछन् ।


जनकपुरको अतिरिक्त धनुषाका प्रत्येक गाउँमा धूमधामसँग छठ महापर्व मनाइदै छ । पूर्वी धनुषाको कमला,मध्य धनुषाको जमुनी,जलाद लगायत पोखरी तथा जलाशयहरुमा पनि श्रद्धापूर्वक सूर्यलाई अर्घ प्रदान गरिएको छ। पूजास्थलहरुलाई सफा सुग्घर गर्नुका साथै सिगाँरिएका छन् ।

प्रकाशित : कार्तिक २७, २०७५ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?