कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवाद सुल्झाउन टीका

हरिराम उप्रेती

चुम्चेत, गोरखा — सामान्यत: कुनै विवाद वा झमेला सुल्झाउन पहिले सम्बन्धित निकायमा निवेदन दिने गरिन्छ । गोरखाको एउटा दुर्गम गाउँमा परम्परादेखि भिन्न प्रचलन छ । गाउँस्तरको विवाद सुल्झाउन ‘टीका’ दिने चलन छ । टीकामा खादा, गच्छेअनुसार पैसा र एक बोत्तल रक्सी हुन्छ । 

विवाद सुल्झाउन टीका

एक साताअघि वृद्घभत्ता वितरणमा चुमनुव्री गाउँपालिका–६ चुम्चेतस्थित चुम्लिङ पुगेका वडाध्यक्ष लोप्साङ लामालाई स्थानीय फुर्पा लामाले पहेँलो खादाभित्र १ सय ५० रुपैयाँ बेरेर राखिदिइन् । ‘टीका’ दिएसँगै वडाध्यक्ष लामासमक्ष उनले आफ्ना समस्या मौखिक रूपमा राख्न सुरु गरिन् ।


सधैंजसो छिमेकीसँग खानेपानीको विषयमा विवाद हुने गरेकाले छलफलबाट सुल्झाइदिनुपर्ने उनको माग थियो । ‘टीका’ दिएको भोलिपल्ट वडाध्यक्ष लामाले दुवै पक्षलाई बोलाएर यसअघिका वर्षजस्तै मिलेर पानी प्रयोग गर्ने सहमति गराए ।


केही दिनअघि सिप्चेतका लाक्पा छिरिङ लामा र नुर्बु लामाबीचको जग्गाको साँधसिमाना विवादको निवेदन पनि उसैगरी आएको लामाले बताए । केही साताअघि मदिरा खाएर कुटाकुट भएको विवाद मिलाइदिन पेमा भुटी लामाले जनप्रतिनिधिलाई ‘टीका’ दिइन् ।


‘पहिले–पहिले यस्तो विवाद गाउँका मुखियाले मिलाउँथे,’ वडाध्यक्ष लामाले भने, ‘पछि गाविसका पूर्वअध्यक्षलाई यसैगरी टीका दिएर विवाद मिलाउन भन्थे, चुनाव जितेपछि सानो विवाद मिलाउनुपरे पनि मलाई भन्छन् ।’ विवाद मिलाउने पनि आफ्नै तरिका छ । टीका पाएपछि सबैभन्दा पहिले वडाध्यक्ष आफैंले विवाद सुल्झाउने प्रयास गर्छन् । ‘कुरा नमिले गाउँका बुद्घिजीवी सबै बसेर छलफल गर्छौं,’ उनले भने, ‘त्यसो गर्दा पनि मिलाउन नसके पुलिसलाई मिलाइदिन भन्ने गरेका छौं ।’


यस्तो प्रचलन हटाउने प्रयास भए पनि पहिल्यैदेखिको चलन झट्ट छाड्न नसकिएको उनले बताए । ‘गाउँमा पढ्नलेख्न नजान्ने मान्छे धेरै भएर पनि पुरानो चलनले निरन्तरता पाइरह्यो,’ उनले भने ।


कटुवालमार्फत मुखियासम्म मुद्दाको कुरा पुर्‍याउने चलन भने हटेको चुम्चेतका गोपाल लामाले बताए । ‘पहिले वादी–प्रतिवादीलाई छलफलमा बोलाउन कटुवालले भूमिका खेल्थे । मुखियाको घरसम्म खबर आदानप्रदान पनि कटुवालमार्फत नै हुन्थ्यो,’ उनले भने, ‘जनप्रतिनिधि आएपछि त्यो चलन भने हरायो ।’ सामान्य विवाद मात्र गाउँस्तरमा मिलाइने भन्दै उनले ठूला घटना जिल्लामै पठाउने गरेको बताए ।

प्रकाशित : कार्तिक २८, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?