कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिरासतमा मृत्यु प्रकरणः गिरफ्तारी नै शंकास्पद

कृष्ण ज्ञवाली

काठमाडौँ — चेक बाउन्स भएपछि बैंकिङ कसुरको आरोपमा प्रहरी नियन्त्रणमा मृत्यु भएका तारकेश्वरका रवीन्द्र ढुंगानाको गिरफ्तारीको वैधतामा प्रश्न उठेको छ । मुलुकी फौजदारी अपराध संहिताको व्यवस्थाअनुसार पक्राउ गरी कानुनी कारबाही गर्नुपर्नेमा प्रहरीले त्यसको उल्लंघन गरेको भेटिएको हो ।

हिरासतमा मृत्यु प्रकरणः गिरफ्तारी नै शंकास्पद

मृतककी पत्नी अन्नपूर्ण थापा ढुंगानाले प्रहरीमा दर्ता गर्ने प्रयास गरेको जाहेरीमा पतिलाई जबर्जस्ती पक्राउ गरेको उल्लेख छ । ‘कात्तिक १८ गते बिहान १० बजे प्रहरी अस्पतालमा कार्यरत असई सुरेन्द्र कार्की घरमा आई धम्क्याउँदै श्रीमान्लाई जबर्जस्ती मोटरसाइकलमा चढाई लिएर गएका थिए,’ जाहेरीमा छ, ‘मैले पक्राउ पुर्जी दिएरमात्रै लैजानुस् भन्दा मलाईसमेत गाली गरे ।’


मृतकका आफन्तका अनुसार असई कार्कीले मृतककी पत्नीलाई फोनबाट पटक–पटक धम्क्याएका थिए । काठमाडौं प्रहरीले कार्कीको नाम उल्लिखित किटानी जाहेरी नलिई कसैको नाम नलेखिएको जाहेरी दर्ता गरेको थियो ।


तर ढुंगानालाई प्रक्रिया नपुर्‍याई असई कार्कीले नियन्त्रणमा लिएको घटनाको जिम्मेवारी महानगरीय प्रहरी परिसरले लियो । काठमाडौंका एसएसपी वसन्त लामाले कात्तिक १८ गते बिहान १० बजे महानगरीय प्रहरी परिसरमा जाहेरी दर्ता भएको र त्यसको अनुसन्धानको सिलसिलामा ढुंगानालाई गिरफ्तार गरिएको प्रतिक्रिया दिएका थिए । परिसरमा उजुरी दर्ता भई त्यसको पत्राचार महानगरीय प्रहरी वृत्त बालाजु पुगी त्यहाँबाट तारकेश्वर नगरपालिकास्थित गुम्बा चौकीबाट प्रहरी परिचालन भएर ११ बजेभन्दा अघि ढुंगानालाई गिरफ्तार गर्न सम्भव नै थिएन ।


‘सुरुमा असईले आफूखुसी नियन्त्रणमा लिएको, पछि दबाबका कारण परिसरले गिरफ्तारी स्विकारेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो । मृतक र असई सुरेन्द्र कार्कीले गरेको मिलापत्रमा भने असोज १ गते नै उजुरी दर्ता भएको व्यहोरा उल्लेख छ । तर परिसरले ढुंगाना अपराह्नतिर पक्राउ परेकाले अदालतमा पुर्‍याउन नसकिएको बताएको छ ।


पक्राउ परेका व्यक्तिलाई तत्काल मुद्दा हेर्ने अदालतमा उपस्थित गराउनुपर्छ । तर परिसरले १८ गते बिहान पक्राउ गरे पनि ढुंगानालाई अदालतमा पेस गरेन । एसएसपी लामाले अदालतमा पेस नगरेको स्विकार्दै भने, ‘बिहान १० बजे उजुरी परेपछि बालाजु प्रहरीमार्फत राति पक्राउ गरेर जरुरी पक्राउ पुर्जी दिइएको हो । भोलिपल्ट अदालतमा पेस गर्ने तयारी हँुदै गर्दा त्यस्तो घटना भयो ।’


परिसर प्रमुख लामाले बैंकिङ कसुरको मुद्दामा प्रहरीले उजुरी दर्ता गर्ने र दुवै पक्षलाई राखेर छलफल गर्दासमेत नमिलेमा मुद्दाको प्रक्रियामा जाने बताए । ढुंगानालाई भने असई कार्कीले सोझै नियन्त्रणमा लिएका थिए भने दुई पक्षबीच कुराकानी भएकोबारे मृतकका आफन्तले समेत कुनै जानकारी पाएका छैनन् । अझै लेनदेनमा संलग्न व्यक्ति मृतक नभएर उनकी पत्नी अन्नपूर्ण थापा ढुंगाना हुन् । ‘पत्नीसँगको लेनदेनमा प्रहरीले पतिलाई जबर्जस्ती उठाएर लगेको छ र केही घण्टामै उनको मृत्यु भएको छ,’ पारिवारिक स्रोतले भन्यो, ‘परिसरले यस्तो घटनामा हाकाहाकी हामीले पक्राउ गरेका हौं भन्छ । तर हाम्रो किटानी जाहेरी दर्ता गर्दैन ।’


महानगरीय प्रहरी आयुक्तको कार्यालयका एक उच्च अधिकारीका अनुसार चेक अनादरको बैंकिङ कसुर मुद्दामा प्रहरीले उजुरी लिएर मुद्दासमेत दर्ता गरे पनि आरोपितलाई तत्काल पक्राउ गर्ने चलन विरलै छ । ‘बैंकिङ कसुरको अभियोगमा आरोपित पक्राउ गर्ने अधिकार प्रहरीलाई छ । तर थुनुवा कक्ष र अन्य पूर्वाधारको सीमितताका कारण यस्ता घटनामा सोझै मुद्दा लगिदिने वा आरोपित सोझै अदालतमै जाने परिपाटी छ ।’


उनका अनुसार कुनै शक्तिशाली व्यक्तिको दबाबका कारण यसरी अस्वाभाविक रूपमा व्यक्ति गिरफ्तार भएको हो । चेक अनादरको घटनालाई प्राथमिकतामा राखेको प्रहरी परिसर काठमाडौंले किटानीसहितको ज्यान मुद्दामा भने जाहेरी नै दर्ता गरेको छैन । पक्राउ परेका असई कार्कीलाई पनि प्रमाणको अभावमा छाडिएको एसएसपी लामाले बताए ।


घटना सार्वजनिक भएपछि आयुक्तको कार्यालयले अनुसन्धान थालेको छ । ‘वृत्तबाटै मुद्दा चल्ने अवस्थामा किन परिसरमा ल्याइयो, त्योसमेत शंकास्पद छ,’ स्रोतले भन्यो, ‘यसले हेर्दा उक्त लेनदेनमा कार्कीबाट भएको लगानीको पर्दापछाडि ठूलै समूह सक्रिय रहेको शंका हुन्छ ।’ महानगरीय प्रहरीका आयुक्त डीआईजी शैलेश थापाले घटनाबारे सूचना पाउनासाथ प्रहरीले छानबिन समिति बनाएको बताए ।


कालगतिले मरेको पुष्टि हुनुपर्छ : सर्वोच्चको नजिर

गिरफ्तार गरिएको व्यक्तिको मृत्युमा स्वतन्त्र र शंकारहित ढंगले ‘कालगतिको निधन’ पुष्टि हुनुपर्ने भन्दै सर्वोच्च अदालतले त्यसो हुन नसके संलग्न अधिकारीमाथि नै ज्यान मुद्दा चल्ने नजिर बसालेको छ । न्यायाधीशहरू गजेन्द्रकेशरी बास्तोला र महेशराम भक्त माथेमाको इजलासले २०४२ असार १२ गतेको फैसलामा थुनामा रहेकै बेलामा बन्दी मृत्युको घटनामा दोषी ठहर गरी फरस्ष्टर मानेश्वर मण्डललाई सजाय तोकेको थियो ।


कञ्चनपुरका नन्दलाल राणालाई फरेस्टर मण्डलले वन अतिक्रमणको मुद्दामा ०३७ जेठ १६ गते पक्राउ गरेका थिए । उनको हिरासतमै मृत्यु भयो र पोस्टमार्टमका क्रममा शरीरमा नीलडाम र चोट भेटियो । आफन्तहरूले कुटपिटबाट मृत्यु भएको दाबी गर्दै प्रहरीमा उजुरी दिए । फरेस्टर मण्डलले पक्राउ परेपछि उनलाई हात्तीमा राखेर लगिएको र हात्तीमै चढेको अवस्थामा भाग्न खोज्दा लडेर मृत्यु भएको जवाफ दिएका थिए । विशेष अदालत र क्षेत्रीय अदालतले आरोपितलाई सफाइ दिएकोमा उल्ट्याई सर्वोच्च अदालतले ९ महिना कैद हुने फैसला गरेको थियो ।


‘आफ्नो कब्जामा राखेको व्यक्तिको मृत्यु भएमा कालगतिबाट भएको वा अन्य कुनै घटनाका कारण भएको हो भन्ने कुराको शंकारहित तथ्य पुष्टि हुनुपर्छ,’ फैसलामा भनिएको छ, ‘यस्तो अवस्थामा साधारण, लरोतरो र धुरमुरे प्रमाण प्रस्तुत गरेर अभियुक्तले सफाइ पाउने अवस्था पर्दैन ।’ सर्वोच्चले यस्तो परिस्थितिमा नियन्त्रणमा रहेकै अवस्थामा घटना भएको र कुटपिटका कारण मृत्यु भएको पुष्टि हुनासाथ पक्राउ गर्ने अधिकारी नै स्वत: प्रतिवादी हुने मान्यतासमेत स्थापित गरेको छ ।


प्रकाशित : कार्तिक २८, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?